अपडेट 
२०७७ श्रावण ४, आईतवार ०८:२७

किशोर नेपाल

देशवासी भन्न थालेका छन : प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्वभाव नै यस्तै हो । बिश्व ब्रम्हाण्डको गफ हाँक्ने कुरामा उनको जोडा अर्को छैन । उनी बिलक्षण छन, भन्छन झापा र काठमाडौंका उनका साथी संगातिहरु । त्यस्तै होला । झण्डै दुइ तिहाइ सांसदको समर्थनमा देशको कार्यकारी प्रमुख भएपछि उनको बिलक्षण प्रतिभा थप तिखारिएकोछ । पछिल्लो समय नेपालको संविधानको नक्सा र निसान छाप सम्बन्धी भागमा भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुराजोडिएपछि उनका गुणहरुएकाएक र व्हात्तै बढेकाछन ।खास गरेर, गत साता भानु जयन्तीको सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भानु जयन्ती समारोहमा उनले संसारका हिन्दूहरुले “मर्यादा पुरुषोत्तम” मान्दै आएका श्रीरामको जन्म भारतको उत्तर प्रदेश राज्यको फैजावादको अयोध्यामा होइन, नेपालको भारतीय सीमावर्ती शहर बीरगन्जबाट पश्चिमतिरको अयोध्यामा भएको बताए । उनले भारतले अयोध्यालाई राम जन्मभूमि बताएर नेपालमाथि सांस्कृतिक हस्तक्षेप गरेको आरोप पनि लगाए । यो बिषयमा अहिले नेपाल भारत दुबैतिरको वातावरण अत्यधिक तातेकोछ । प्रधानमन्त्री ओलीको भनाइलाई धेरैले उनमा बिकसित भएको “अहंकारोन्माद” को संज्ञा दिएका छन ।


यता, नेपालको संघीय राजधानीको बौध्दिक जनमतप्रधानमन्त्री ओलीमा बढेको “अहंकारोन्माद” को तारीफगर्न थालेका छन । उनमा जुन गतिले अहंकारोन्माद बढेकोछ त्यही गतिले राष्ट्रवादको नेपाली किल्ला मजबूत भएको उनीहरुको दृष्टिकोण छ ।देशका प्रसिध्द चिकित्सकहरु यसमा कुनै टिप्पणीगर्न चाहँदैनन । उनीहरुको बिचारमा, प्रधानमन्त्री ओली “मेगालोमानिया” बाट आक्रान्त नै भएपनि, नेपालको राजनीतिक नियम अनुसार प्रधानमन्त्री जोडिएको त्यस्तो बिषयमा बोल्नु हुँदैन । अहिलेको राज्य–तन्त्रमा भित्ताको पनि कानहुने समय फर्किएकोछ । कसले के भन्ला, के भनेको सुन्न पाइएला र मालिकको कानमा कुरा सुनाउन पाइएला भनेर कान ठाडाठाडा पारी बसेका गुप्तचर र गुमास्ता जताततै फैलिएका छन । समय बडो डरलाग्दो छ । यो डरलाग्दो समयमा मानिसका लागि कठिन छ जीवन यापन । अहिले त जतिसुकै ठूलो अन्याय देखेपनि देखेको नदेख्यै गर्नुपर्दछ । जतिसुकै ठूलो अन्यायका बारे सुनिएपनि सुनेको नसुन्यै गर्नुपर्छ । यही रही आएकोछ सनातन देखिको नियम । सत्तालाई नचिढ्याउ । समयको मांग यही हो ।
प्रधानमन्त्री ओलीले बाल्मिकी वा तुलसीदास सदृश, रामगीतका नेपाली बिव्दान पण्डित भानुभक्त आचार्यको जन्म–जयन्ती मनाउने सन्दर्भमा “मर्यादा पुरुषोत्तम” श्रीरामको कन्दनी नै निकाली दिए । प्रधानमन्त्री ओलीका अनुसार, श्रीरामको जन्म उत्तर प्रदेश, भारत, फैजावादको अयोध्यामा होइन, नेपालको सीमावर्ती बीरगन्ज शहरको पश्चिमतिर रहेको अयोध्या नामक देहातमा भएको स्पष्ट बताइ दिएपछि नेपालको पुरातात्विक समाजमा हलचल पैदा भएकोछ । प्रधानमन्त्री ओलीको भनाइ अनुसार, त्यहाँ पुरातात्विक उत्खनन गरेको खण्डमा सिंह दरबारजस्तै श्रीराम दरबारको भग्नाबशेष भेटिनेमा कुनै शंका भएन । प्रधानमन्त्री ओलीको यो वचनामृत पिएर नेपालका राष्ट्रवादी वर्गका जनता धन्य भएका होलान । प्रधानमन्त्री ओलीको बोलीको प्रामाणिकतामा प्रश्नगर्ने साहस कसैमा नभएपनि त्यसलाई स्थापितगर्न ब्राम्हणजन सक्रिय छन । उनीहरुको राष्ट्रवादी चिन्तनलाई महेन्द्रजस्ता राष्ट्रवादी राजाले पनि प्रोत्साहितगर्न सकेका थिएनन । अहिले यी ओली प्रधानमन्त्रीका रुपमा आएर राष्ट्रवादी भावधारालाई यति मुखरित गरिदिए ।
जान्न त, अहिले आएर, कसले नै जान्ने हो र त्रेता युगमा पृथ्वीको भूगोल कस्तो थियो ? तरपनि, पुराणहरुका अनुसार सत्ययुगका मानिस सबै प्रकारका सांसारिक भ्रमहरुबाट मुक्त थिए ।उनीहरुको आयुपनि एकलाख बर्ष लामो थियो । सत्ययुगपछि आएको श्रीरामको नेतृत्वको त्रेता युग र श्रीकृष्णको नेतृत्वको व्दापर युग पनि इमान जमानमा कम थिएन । ती युगहरु सकिएर कलियुगको पहिलो चरण शुरु भै सकेकोछ ।


पौराणिक ग्रन्थहरुका आधारमा, कलियुगइशापूर्व १८ फरबरी ३१०२ मा शुरु भएको थियो । त्रेता युगको समयावधि ३००० दैवी बर्ष थियो । व्दापर युग २००० दैवी बर्षमा फैलिएको थियो । एक दैवी बर्ष बराबर ४ लाख ३२ हजारमानव बर्ष हुन्छ । यो हिसावले श्रीरामको समयदेखि अहिलेसम्म सालाखाला २१ लाख ६० हजारबर्ष बितिसकेका छन । यति लामो समयावधिमा पृथ्वी साविक भूगोलमा कायम रहन सक्ने कुरा भएन । यसबीच पृथ्वीमा कति ठूला उदवेलन आइ सकेका होलान । पृथ्वीका वासिन्दाहरुमा कति उहापोह आइ सकेको थियो होला ।भूगोलको हिसावले चुरे चीनतिर थियो होला । हिमाल रक्सौलतिर । दुबै अवस्थामा हामी हिमालकै काखमा थियौं होला । बरु, अहिलेको सगरमाथा सैपाल हिमालतिर थियो होला । माछापुच्छ«े थियो होला कन्चनजंघातिर । जे होस, प्रधानमन्त्री खड्गप्रसाद ओलीले लाखौंलाख बर्षपछि आएर हजारौं हजार बर्षअघिको संसार र समाजको परिकल्पना गरे ।अब, उनको यो परिकल्पनालाई टुँडिखेलमा कवायद खेलेर होस कि खुकुरी नचाएर होस, नेपालका राष्ट्रवादी जनताले जसरी तसरी श्रीरामको जन्म नेपालको अयोध्यामा भएको प्रधानमन्त्री ओलीको कथनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनै परेकोछ । यो सत्कर्म नगरी नेपाली जनताका पितृहरु रौरव नरकमा गाडिइ रहनेछन । उनीहरुको मोक्ष कुनैपनि हालतमा सम्भव हुनेछैन ।
जसरी श्रीरामको युग त्रेता थियो त्यसरी नै प्रधानमन्त्री ओलीको युग नेता हो । कलियुग अर्थात नेता युग । कलियुगमा धन–सम्पत्ति नै मानिसको जन्मको श्रेष्ठता, ब्यबहार र सदगुणहरुको आधार हो । न्याय र कानून प्रयोगको मूल आधार पनि शक्ति र स्रोत नै हो । जो गरीब, निर्धन र कमजोर छ, त्यो न्यायको लायक छैन । प्रधानमन्त्री ओलीले कलियुगका यी “आदर्श” हरुको अनुसरण गरेका छन । अहिले उनको राज्यमा उनका कोही पनि सेवक भोको नांगो छैन । त्यसैले उनमा आपूmभन्दा राष्ट्रवादी कोही नभएको उन्माद चढेकोछ । यो उन्माद हो, यसलाई रोग भन्न मिल्दैन । दिनहूँ उनको शरीरको परीक्षणगर्ने चिकित्सकले मात्र होइन, अरुले पनि त्यसै भनेकाछन । यतिबेला प्रधानमन्त्री ओलीलाई उन्माद चढ्यो भने उनले राम जन्मभूमि बीरगन्ज नजीकको अयोध्यामा रहेको निसान छाप जारी गरि दिनेछन । यो देशमा हुन नसक्ने कुरा केही रहेको छैन । जे पनि हुन सक्दछ ।
प्रधानमन्त्री ओलीमा राष्ट्रवादको जुनून चढेको यही बेलामा नेपाल कम्युनिष्ट पार्टीभित्र कलियुगको महाभारत शुरु भएकोछ । यो महाभारतमा को को काटिने छन ? कसकसको वध लाक्षागृह जलेर हुनेछ ? त्यो अहिले कसैले भन्न सक्दैन । नेपाल कम्युनिष्ट पार्टीको महाभारत युध्दमा सत्तापक्षीय नेताहरु हताहत हुनेछन कि प्रतिपक्षका ? त्यो अहिले नै भन्न सकिने अवस्था छैन ।तर, व्दापरयुगको महाभारतमा जे भयो त्यसको ठीक उल्टो हुनेछ कलियुगको महाभारतमा । कलियुगको महाभारतमा कसैको चीरहरण हुने छैन । अहिलेको कारखानामा उतिबेलाको जस्तो जति फुकाउँदा पनि कहिल्यै नसकिने साडी बन्दै बन्दैन । नेपालमा मन्चनहुने सम्भावना भएको महाभारतका महानायक प्रधानमन्त्री ओली नै हुनेछन । किनभने उनी सर्वज्ञानी हुन ।

कलियुगमा देशका उद्योगपति, ब्यापारी र साहू महाजनहरु द्युत क्रिडाका लागि प्रधानमन्त्रीको निवासमा आउँछन । प्रधानमन्त्री जो भएपनि द्युत क्रिडामा उसले हार्दैन । प्रधानमन्त्री ओली द्युत क्रिडामा यसरी जितेको सम्पत्ति कार्यकर्तालाई बाँडी दिन्छन । प्रधानमन्त्री ओलीले सुनाएको घटनावली अनुसार, नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनाल सम्पत्तिका मामिलामा लोभी छन । उनी द्युत क्रिडामा कमाएको पैसाले घर, भवन र जग्गा जमीन जोडी हाल्दछन । अर्का नेता माधव नेपाल द्युत क्रिडामा “कमाएको” पैसा दराजमा बन्द गरेर ताल्चा मारेर थन्क्याउँछन । मोटामोटी रुपमा नेकपाभित्रको एक सेक्सनको झगडा यही हो । झगडाको अर्को भाग खतरनाक हुन सक्दछ । उनीहरु प्रधानमन्त्री ओलीको सरकारमा द्युत क्रिडाको अधिकार खोजी रहेका होलान । अथावा, उनीहरु त्यो मनोदसामा नहोलान । के होला ? कसैले पनि भन्न सक्दैन । कलियुग नेताको युग हो । छलछाम र द्युत क्रिडाको युग !

Comment


Related News

Latest News

Trending News