अपडेट 
२०७७ श्रावण ४, आईतवार १४:३०

मनसुनी वायुको प्रभाव रहेका कारण आज (आइतबार)देखि पाँच दिनसम्म देशभर निकै ठूला वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान महाशाखाले जनाएको छ ।

पाँन दिन देशभर ठूलो वर्षा हुने र त्यसले व्यापक रुपमा बाढी र पहिरो निम्त्याउने अनुमान गर्दै विज्ञहरुले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्यान जोगाउन अपिल गरेका छन् ।

राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आजदेखि ५ दिन पाहुना लागेरै भएपनि सुरक्षित स्थानमा गई ज्यान जोगाउन आग्रह गरेको छ ।मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त अनुमानअनुसार यो हप्ता देशैभर ठूलै वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप व्यापक हुने देखिएको महाशाखाले गरेको छ ।

आजदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, ऊर्जा तथा जलस्रोत विभागले सबैलाई सतर्क रहन आह्वान गरेका छन् । विशेष गरी प्रदेश १, २, ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको विपद् प्राधिकरणले जनाएको छ । देशका एक दुई स्थानमा अति भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

पाँच दिनसम्म पर्ने यो पानीले देशभरका साना ठूला नदीहरुको जलसतह उल्लेख्य बढ्ने र केही नदीहरुले सतर्कताको तह समेत पार गर्ने अनुमान छ । बाढी र पहिरोका कारण धेरै घर परिवार विस्थापित हुन सक्ने र जनधनको क्षति हुन सक्ने प्रारम्भिक अनुमान प्राधिकरणले गरेको छ । मनसुन सुरुभएपछि परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांस भाग गलिसकेकोले पाँच दिनसम्म पर्ने पानीले जोखिम थप बढाएको हो ।

प्राधिकरणले विज्ञप्ती निकालेर राहात र उद्धारका लागि सुरक्षाकर्मीलाई तैनाथी अवस्थामा राखेको जनाएको छ । कुनै पनि ठाउँमा ठूलो बाढी र पहिरो आएमा ११४९ र ११५५ नम्बरमा कुनै पनि बेला फोन गरेर जानकारी गराउन सकिनेछ ।

Comment


Related News

Latest News

Trending News