अपडेट 
२०७७ श्रावण २२, बिहीबार ०६:३३

त्रेता युगमा जगत जननी जानकीको जन्म मिथिलाका राजा जनकको सुपुत्रीको रूपमा तथा रामको जन्म अयोध्याका राजा दशरथको सुपुत्रको रूपमा जन्मेका थिए । यी दुबैको शुभ विवाह मंसिर शुल्क पंचमीका दिन सम्पन्न भएको कुरा सबैलाई विदितै छ । यस पर्वलाई विश्वका प्रत्येक हिन्दूले बडो श्रद्धापूर्वक स्मरण गरेका हुन्छन् । अहिले पनि जनकपुरमा यस दिनलाई रामजानकी विवाहको वर्ष गाँठको रूपमा वडो धूमधामसँग मनाउने गर्दछन् । यस लेखमा मूल रूपले उत्तर रामायणको केही प्रसंग जो विल्कुलै अमानवीय थियो त्यसलाई उजागर गर्न खोजिएको हो । यसको मुख्य पात्र मिथिलाकी छोरी तथा अयोध्याकी वुहारी जगत जननी जानकी हुन् । यसमा माता जानकीलाई परेको दुःखमा अयोध्यावासीले देखाएको क्रूर व्यवहारलाई उजागर गर्न खोजिएको हो । यस प्रश्नको उत्तर खोज्नु त्यति सजिलो नभएपनि अयोध्यावासीको व्यवहारले यसको उत्तर खोज्न निकै सजिलो वनाइ दिएको छ । अयोध्या दरबारमा भएको तत्कालिन गतिविधिलाई हेर्दा यहाँ शान्तिपूर्ण जीवनको अभाव देखियो । कहिले सन्तान नहुने चिन्ता, त कहिले पत्निहरूवीचको कलह, कहिले राजकाजमा पत्निको हस्तक्षेप, त कहिले हत्याको वियोग आदि यस्ता अनेकौं कुराले गर्दा अयोध्या दरबार सधैं विवादित बनेको देखियो । दरबारको प्रभाव जनतामा समेत परेको कुरा विभिन्न लेख रचनाबाट प्रष्ट भएर आएको देख्न सकिन्छ ।

अयोध्यावासीको आचरणमा पटक– पटकको परिवर्तनले गर्दा जानकी जो जगत माता हुन् उहाँलाई समेत छोडेको देखिएन । सीता त एउटा आदर्श राजाको दरबारमा पालिएकी हुनाले यहाँको व्यवहारमा सधैं आदर्शता झल्किन्थ्यो । यस्ता आदर्श तथा मर्यादाकी प्रतिमूर्ति सीतालाई अयोध्यावासी चिन्न सकेन । एउटा सामान्य स्त्री जस्तो बुझ्न थाले । यस्ता व्यवहारबाट के प्रष्ट हुन्छ भने अयोध्यामा स्त्रीहरू निकै अपहेलित थिईन । यसैले होला गोस्वामी तुलसी दासद्वारा रचित रामचरित मानसको सुन्दरकाण्डमा बडो प्रष्ट रूपले उघृत गरेका कुरालाई यहाँ राख्ने अनुमति चाहन्छु ः प्रभु भल कीन्ह मोही सिख दीन्ही । मरजादा पुनि तुम्हरी किन्ही ।। ढोल, गवाँर, सुद्र, पशु नारी । सकल ताडना के अधिकारी ।। श्रीलंका जाने क्रममा समुद्रजी बाटो नदेखाउँदा श्रीरामले समुद्रमाथि रिसाएको देखेर समुद्रजीले जवावमा भन्नुभयो– प्रमुले राम्रो गर्नुभयो जो मलाई शिक्षा दिनु भयो । तर मर्यादा पनि तपाईले नै बनाउनु भएको छ । ढोल, गवाँर, शुद्र, पशु र नारी यी सबै तारणका अधिकारी हुन् । त्रेता युगका समयमा पनि यस किसिमको व्यवहार चलनमा थियो जसलाई गोस्वामी तुलसीदास जी समेतले पचाउन सकेन । यसबाट के बुझिन्छ भने त्यसबेला रामराज्य कहि न कहि कलंकित रहेको कुरा विभिन्न धार्मिक ग्रन्थहरूद्वारा प्रमाणित हुन आउँछ । एउटा आदर्श राज्यले त समानतामा पो विश्वास राख्छ । नकारात्मक कुरातिर कहिले पनि लागेको हुँदैन ।

त्यति मात्र होइन माता जानकी पतिव्रता धर्मको शतप्रतिशत पालना गर्दा गर्दै पनि रामले पटक–पटक सीतामातालाई परीक्षा लिएको कुरा विभिन्न धर्मशास्त्रबाट वाहिर आएका कुरा सबैलाई विदितै छ । राम, सीता, लक्ष्मण वनवासबाट अयोध्या फर्के पछि अयोध्याको राजकाजमा व्यस्त भए । त्यसैबेला एउटा अर्को दुःखको श्रृंखला थपियो जो निकै करूणामय हृदयविदारक दृश्य थियो जसलाई प्राचीन पूर्वीय संस्कृति देखि आधुनिक संस्कृतिले समेत स्वीकार गर्ने पक्षमा छैन । सीतामाता वनवासको अवधिमा रावणद्वारा हरण भई श्रीलंकामा विताएको दृश्यलाई विर्सी श्रीरामद्वारा अग्नि परीक्षा लिएको दृश्य कम करूणामय छैन । सीताजीको मनमस्तिष्क त राम वाहेक कतैतिर गएकै थिएन । त्यसैले अग्नि परीक्षा लिँदा अलिकति पनि नहिचकिचाइ सहर्ष स्वीकार गरी अग्नि परीक्षाम होमिनु भयो, त्यहाँ हेर्ने अयोध्यावासी नभएपनि महावीर हनुमान, किस्किन्धाका महाराज सुग्रीव, युवराज अंगद, रीक्षराज जामवन्द, नलनील तथा अनगिन्ती बाँदर भालु उपस्थित भएपनि ती कुरामा अयोध्यावासी अलिकति पनि विश्वास गरेन । कारण अयोध्यावासीमा रहेको स्त्रीप्रतिको व्यवहारलाई राम्ररी उजागर गरेको हेर्न पाइन्छ । यति मात्र कहाँ हो र ? राम, सीता, लक्ष्मण वनवासबाट अयोध्या आइसकेपछि भरतले अलिकति पनि समय नलगाई अयोध्याको राज सिंहासनमा रामलाई विराजमान गराउनु भयो । सीता माता सोचेकी थिई कि अब सुखको समय शुरू हुन्छ होला तर समय उल्टन ढिलो भएन र सीता माताप्रति अयोध्यावासी विभिन्न किसिमका टिका टिप्पणी गर्न थाले जो एउटा मर्यादा पालन गर्ने स्त्रीको लागि असह्यको क्षण थियो, यस लाई मानवीय हिसाबले कसैले पनि समर्थन गर्ने कुरा थिएन । जे जस्तो भएपनि सीतामाताले स्वयं रामको शासनकालमा कुनै कलंक नआओस भने सोचेर वनमा जाने निश्चय गरिन किनभने सीतामा मिथिलाको सभ्यता तथा संस्कार झल्किन्थ्यो । त्यसबेला मिथिला राज्यलाई विश्वमा आदर्शको प्रतिक मानिन्थ्यो ।

विश्वका राजा, महाराजा, विद्वान, ऋषि, महर्षि राजर्षि जनक कहाँ आ–आफ्ना समस्या निराकरण गराउन तथा गतिलो सल्लाह लिन जनकपुर आउँथे । विश्वले जनकपुरका विद्वानहरूको नेतृत्वलाई स्वीकार गरेकाले नै जनकपुरमा आएर शास्त्रार्थ गरी निष्कर्षमा पुग्ने गरेका थिए । रामलाई मात्र होइन दुनियालाई थाहा थियो कि सीता अहिले गर्भावस्थामा छिन् । कुनै पनि आदर्श प्रजाले यस्तो अवस्थामा रहेकी नारीलाई राज्यबाट वनवासमा पठाउने कुरा कसरी सोच्न सक्छन् ? विचारणीय पक्ष रहेको देखिन्छ । सीतामाता जंगलमा बस्दा वाल्मिकीको आश्रममा जो आफ्नो छाप छोड्दै गई त्यसले ऋषि वाल्मिकी समेतले सीतालाई छोरीको नामले तथा आश्रमका ऋषि, मुनि तथा शिष्यहरूले वनदेवीको नामले संवोधन गर्न थाले । यहाँ विचारणीय पक्ष के छ? भने एउटी स्त्रीको पेटमा एउटा मात्र होइन एकै चोटी जुम्ल्याहा वच्चा रहेको वेला आश्रमको दिनचर्या अनुसार सम्पूर्ण काम गर्नुपर्ने आफ्नै जिम्मेवारी समेत थियो । दिन वित्दै गयो, दुई वच्चा जन्मिए जेठा कुश र कान्छो लव । ऋषि वाल्मिकी जी अयोध्याका ती दुई राजकुमारको शिक्षा दिक्षा पनि त्यसै अनुसार प्रदान गरी राजामा हुनुपर्ने गुणबाट पूर्ण गरेका थिए । विस्तारै कुश र लव किशोरावस्था आउँदै माता सीताजीबाट आफ्ना पिताका नाम ठेगाना जान्न चाहन्थे । ऋषि तिर यो प्रश्न तेस्र्याइ आफू बन्चित हुन्थिन् । ऋषिसँग प्रश्न गर्दा समय आएपछि स्वतः यस्ता प्रश्नको जवाब तिमीहरूलाई भेटने छन् भन्ने जवाफ पाउँदा दुबै बालक गुरूको आदेश सम्झेर चुप लाग्थे तर जिज्ञासा रहिरहन्थ्यो । समय वित्दै जाँदा राजा रामले विश्वको सम्राट बन्ने उद्देश्यले अश्वमेध यज्ञको आयोजना गरियो ।

यज्ञ समाप्ति सँगै अश्व छोड्ने निर्णय गरे । ती अश्वलाई कुश र लवले समात्दा राम पक्षमा रहेका सेना लगायत राजकुमारहरू शत्रुघ्न , लक्ष्मण र भरतसँग पालैपालो गरी युद्ध गर्नुपर्यो । त्यस युद्धमा ती राजकुमारहरूसँगै सबै सेना समेत मूर्छित भए । कुश र लवको के भनाई थियो ? भने हामी रामसँग आफ् नो प्रश्नको उत्तर माँग्दै युद्ध गर्न चाहन्छौं । त्यसै बेला रामको उपस्थिति हुँदा बाल्मिकीजीले आएर युद्ध अन्त गराउनु भयो । ऋषिलाई पूर्ण विश्वास थियो कि यी राजकुमारहरूलाई रामको दरबारमा लगेर बुझाउँदा राजा राम आफ्नो राजकुमारको रूपमा सहर्ष स्वीकार गर्नु हुनेछ तर दृश्य उल्टै देखियो । वाल्मिकीले जति शपथ खाँदा पनि राजा रामले राजकुमारको रूपमा स्वीकार गर्न मानेनन् । अन्तमा सीतालाई पुनः आफ्नो परीक्षा दिन लगाएको देख्दा सीता थकीत भई सकेकी थिइन । अन्तमा दुबै वच्चालाई दरबारमा छाडी आफू धर्ती मुनि समाईन् । यस करूणामय दृश्य हेरेर त्यहाँ उपस्थित सबैको आँखाबाट आँसु झर्न थालेको देखियो । त्यति हुँदाहुँदै सीतालाई धन्यवाद सहित अयोध्या ल्याउनुको सट्टा उल्टै पुनः परीक्षा लिन खोजेको देख्दा के यो दृश्यले अयोध्यावासीलाई क्रूरताको परिचय दिदैन र ? उनीहरूले सीता माताको आदर्शता तथा मर्यादासँग खेलवाड गरेको देखिँदैन र ? यसले अयोध्याको संस्कार स्तरलाई देखाउँदैन र ? यस्ता थुप्रै प्रश्नहरूले अयोध्यावासीलाई न्यायको कठघेडामा उभ्याई सकेका छन् जो अयोध्यावासीलाई सधैंको लागि कलंकित गर्दछ । राजा र प्रजा वीचको सम्वन्ध बाबु छोरा जस्तो हुन्छ । जहाँ राजा प्रति प्रजाको विश्वास छैन, त्यहाँको राजा कसरी शासन चलाएको होला त ! सीता मातालाई अयोध्या दरबारबाट निकाल्दैमा के अयोध्या प्रश्न रहीत भयो त ! बरू उल्टै अझ निकै धेरै प्रश्नहरू जन्मेका रहेछन् । यी प्रश्नहरूले अयोध्यावासीसँग आज पनि आफ्नो उत्तर खोजीरहेछन् । यसको प्रभाव त्रेतायुगमा मात्र परेको देखिएन । वर्तमान युगमा समेत त्यसको प्रभाव परेको प्रष्ट रूपमा हेर्न पाइन्छ । त्रेता युगमा नारी प्रति देखाइएका व्यवहार आज पनि त्यसको जीवत्व अवशेषको रूपमा हेर्न सकिन्छ । अहिले त लाखौं सीता पृथ्वीमा खुट्टा न टेक्दै हत्यामा परेका दृश्य कसैबाट लुकेको रहेनछ । जन्मे पनि आत्म हत्या गर्न लगाउने, जिउदै आगोमा जलाई दिने, पानीमा डुबाई दिने, विष सेवन गर्न लगाउने, आदि जस्ता घटना दिनदिनै विभिन्न मिडियामा आएका कुरा कसैबाट लुकेको देखिँदैन । खास गरी अहिले पनि यसका बढी प्रभाव अयोध्याको वरीपरी हेर्न पाइन्छ ।

त्यसैले होला, भारतीय प्रधानमन्त्री मोदीजीले बेटी बचाउ, बेटी पढाउ जस्ता नारा जीवन्त रूपमा अगाडि सारेको हुन सक्छ । यस्ता नाराबाट मात्र हुँदैन, समाजमा व्याप्त धार्मिक अन्ध–विश्वासलाई समेत नियन्त्रण गरी चेली–बेटी प्रति भैरहेका अन्यायलाई कम गर्न सकिन्छ । त्रेता युगमा विश्वका स्रष्टाहरूलाई नेतृत्व गरेका जनकपुरलाई अहिले पनि भारतमा मात्र होइन श्रीलंका तथा थाइलैण्डमा समेत जनकपुरको नाम सुन्दा उनीहरूका शिर निहुरिन जान्छ । जनकपुरधाम आफ्नो मर्यादाले गर्दा अहिले पनि सबैको लागि पुज्यनीय स्थल रहेको देखिन्छ । मिथिला र अयोध्याको वैवाहिक सम्वन्धले मात्र होइन, राजर्षि जनकको विद्वता तथा आदर्शताले अर्जेका सम्मान हो । त्यसैले होला, अहिले पनि मिथिलावासी आफ्ना अतिथि पाहुना समक्ष प्रस्तुत गरेका नम्रता, कुशलता, व्यवहारिकता अति स्मरणीय रहेका छन् । मिथिला की बेटी जानकी मर्यादा की प्रतिमूर्ति हुन् । वहाँ जगत जननी हुन् । यस्ता कुरालाई क्रूर अयोध्यावासीहरू कहाँ बुझ्न सक्छन् र ? अहिले पनि उदाहरणको रूपमा सीतालाई सबै धार्मिक स्रष्टाहरूले आदर्श तथा मर्यादित नारी सम्झी नतमस्तक हुन्छन् । पत्नि त घरकी लक्ष्मी हुन् । जुन घरमा स्त्री हुँदैन, उ घर कुनै घर होइन । पत्नि घरकी एउटा बलिया सदस्य हुन् । घर बनाउन उसकै प्रमुख भुमिका हुँदा रहेछ । स्त्री नै छोरी, बुहारी, पत्नी तथा आमाको भूमिकामा रहेका हुन्छन् । यहाँ नेर प्रत्येक पुरूष स्त्रीको भूमिकालाई तथा प्रत्येक स्त्री पुरूषको भूमिकालाई बुझि दिने घर नै साँचोमा स्वर्ग समान हो । स्वर्ग भनेको त राम्रो व्यवहार र आचरणमा अडेको हुन्छ । जुन घरमा स्त्रीको आदर हुँदैन तथा स्त्री प्रति पशुत्व व्यवहार देखाउँछन्, त्यही घर नै नर्क समान हो र यस्तै जीवनलाई नारकीय जीवन भनिन्छ । हाम्रो देशमा पनि समय–समयमा यस्ता घटनाहरू घटेका हुन्छन् । घटना रोक्नलाई आदर्शका गाथाहरूलाई हाम्रो शैक्षिक कार्यक्रममा समावेश गर्नु अति आवश्यक छ जसले गर्दा मानिसमा नैतिक चरित्रको विकासमा सहयोग भेट्ने छ र क्रूर जीवनको अन्त हुनेछ । अस्तु ।


लेखक : त्रि.वि.का सेवा निवृत सह–प्राध्यापक हुन् ।

Comment


Related News

Latest News

Trending News