अपडेट 
२०७७ श्रावण २३, शुक्रबार ०७:०७

काेराेना संक्रमणबाट थप तीन जनाकाे मृत्यु भएकाे छ । पर्साका दुई र धनुषाका एक गरी थप तीन जनाकाे मृत्यु भएकाे हाे । वीरगन्जस्थित नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्जका ५७ वर्षीय व्यवसायीमा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका संयोजक डा. उदयनारायण सिंहका अनुसार मुटुरोगबाट ग्रसित ती व्यवसायी २ दिन अघि मात्र निमोनिया र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्प्ताल भर्ना भएका थिए । ‘बुधबार राति १० बजेतिर स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकाेमा बिहीबार बिहान ८ बजे उनकाे मृत्यु भएकाे  डा. सिंहले बताउनुभयाे ।

त्यस्तै, गत साउन २० मा घरमै मृत्यु भएका वीरगन्ज महानगरपालिका–११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको छ । मंगलबार राति आफ्नै निवासमा मृत्यु भएका ती वृद्धकाे बुधबार बिहान स्वाब संकलन गरेर परीक्षणका लागि लगिएकाे थियाे ।

साउन १७ गते काठमाडौंकाे ओम अस्पतालमा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दम र मधुमेहकी बिरामी उहाँमा थप समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएकाे थियाे । योसँगै बिहीबार साँझसम्म कोरोनाबाट देशभर मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News