अपडेट 
२०७७ श्रावण २६, सोमबार ०६:२३

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को आइतबार बसेको बैठकले वृद्धवृद्धा तथा केटाकेटीलाई अनावश्यक कामबाहेक घर बाहिर ननिस्कन सचेत गराएको हो ।

सिसिएमीले कोरोनासँग लड्न जीवनशैली बदल्न, केटाकेटी तथा वृद्धवृद्धालाई बाहिर ननिस्कन र अत्यावश्यक कामका लागि बाहिर निस्कने जो कोहीलाई स्वास्थ्य सावधानी अपनाउन, मास्क अनिवार्य लगाउन तथा भीडभाड नगर्न र दुरी कायम गर्न अनुरोध गरेको छ । सिसिएमसीले लामो दुरी सवारी साधन (अन्तर जिल्ला यातायात) तथा बाह्य तथा अन्तरिक हवाई उडान १५ भदौसम्म नखोल्न सरकासमक्ष सिफारिससमेत गरेको छ ।

गत ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै लामो दुरीका यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्नालगायतका गतिविधि १ भदौदेखि सञ्चालन गर्न अनुमति दिएको थियो । सिसिएमसीको बैठकमा भने संक्रमणको बढ्दो स्थिति देखिएको भन्दै तत्काल खुला गर्न नहुने विषयमा छलफल भएको एक सदस्यले बताए ।

सरकारले यसअघि छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिइसकेको छ । तर, लामो दुरीका सवारी साधन, हवाई सेवा तथा विद्यालय भर्ना भने १ भदौदेखि मात्र खुला गर्ने निर्णय गरेको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यस सम्बन्धमा निर्णय गर्ने भएको छ ।सिसिएमसी बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव पनि गरेको छ ।

Comment


Related News

Latest News

Trending News