अपडेट 
२०७७ श्रावण २८, बुधबार १२:३५

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा रिएजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएपछि १२ सय नमुना स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ । कोरोना संक्रमण भए/नभएको जाँच गर्न पीसीआर परीक्षण गर्दा विभिन्न प्रक्रियामा रिएजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अनिवार्य हुन्छ ।

अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयर र गण्डक अस्पतालबाट संकलित  संक्रमितको दोस्रो स्याम्पल, नारायणी अस्पताल र अन्यत्र संकलन गरिएका केही नयाँ नमुना पीसीआर परीक्षण गर्न काठमाडौं पठाइएको हो । रि–एजेन्ट र आरएनए एक्सट्रयाक्सन किट लिन गएको एम्बुलेन्समा १२ सय नमुना स्याम्पल पनि परीक्षणका लागि पठाइएको प्रयोगशाला प्रमुख डा. निरा पाठकले जानकारी दिइन् । ‘रिएजेन्ट र आरएनए एम्सट्रयाक्सन किट सकिनै लागेको छ, किट लिनका लागि एम्बुलेन्स जाँदा केन्द्रीय प्रयोगशालासँग समन्वय गरेर पीसीआर परीक्षणका लागि स्वाबका नमुना पनि पठाएका हौं,’ उनले भनिन्, ‘आरएनए एक्सट्रेसन गरिसकेको ५० वटा जति स्याम्पल नमुना परीक्षणका लागि मात्रै रिएजेन्ट बाँकी छ ।’

दिउँसोसम्ममा किट आइसक्ने जानकारी आफूले पाएको बताउँदै उनले त्यसपछि नियमित परीक्षण गरिने जानकारी दिइन् । त्यसो त प्रयोगशालामा वीरगञ्ज महानगरपालिकाले किनेको ५ सय थान रिएजेन्ट किट दिएको छ । तर त्यो काम नलाग्ने भएको स्रोतले जनाएको छ । परीक्षणका क्रममा कहिले सबै नेगेटिभ त कहिले सबै पोजेटिभ देखाएको थियो । तर अस्पतालले भने रिएजेन्ट भ्यालिडेसन नै गर्न नपाएको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार नियमित प्रयोग भइरहेको भन्दा फरक रिएजेन्ट प्रयोग गर्दा शुरुमा भ्यालिडेसन गर्नुपर्ने हुन्छ तर प्रयोगशालामा किट सकिएकाले त्यसो गर्न पाइएको छैन । त्यसैले महानगरपालिकाले दिएको रिएजेन्ट किट प्रयोगमा ल्याउन सकिएको छैन ।

Comment


Related News

Latest News

Trending News