अपडेट 
२०७७ श्रावण ३०, शुक्रबार ०६:५०

त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

यसअघि बन्दाबन्दी  खुलेसँगै पनिकाले आउँदाे भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ ।’ त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ  । 

परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिनुभयो ।  ‘कस्तो अवस्थामा परीक्षा गर्ने नगर्ने भन्ने जिम्मा डीन कार्यालयलाई दिएका छौँ’ उहाँले भन्नुभयो, ‘ सामान्य अवस्था भए पनि डीन कार्यालय नै परीक्षाको तयारी गर्ने छ ।’ 

भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि  विद्यार्थी काठमाण्डौ आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ । 

२८  परीक्षाफल प्रकाशित

पनिकाले बन्दाबन्दी यता २८ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । बन्दाबन्दी समयमा १६  र साउन ७ यता १२  वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो । 

पनिकाले बन्दाबन्दीमा प्राध्यापकलाई कार्यालय बोलाई उत्तरपुस्तिका परीक्षण गरी वैशाख १८ गतेदेखि नतिजा प्रकाशन गर्न थालेको हो । उहाँका अनुसार अब बन्दाबन्दी अगाडि परीक्षा भएका आठ परीक्षाका परीक्षाफल मात्र प्रकाशन बाँकी  छ ।

Comment


Related News

Latest News

Trending News