अपडेट 
२०७७ श्रावण ३२, आईतवार १४:५८

कोरोना भाइरसको संक्तमण रोक्न भारतसँग सीमा जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारि गर्दै उक्त नाबाट पनि आवतजावत संचालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।


भारतबाट नेपाल र नेपालबाट भारत ओहोरदोहर गर्नेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि ह्वातै बढ्न थालेपछि यस्तो निर्णय गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयबाट सूचना जारि भएसँगै नाका बन्द गरिनुका साथै थप सतकर्ता र निगरानी कडा पारिएको छ । यसअघि जिल्लाको छिन्नमस्ता, डाक्नेश्वरी, बलान बिहुल र बोदेबसाईन लगायतका नाकाबाट समेत आवतजावत हुने गरेकोमा केही दिनअघि मात्र ती सबै नाका बन्द गरि कुनौली नाकाबाट मात्र आवश्यक जाँच पश्चात् आवतजावत गर्ने व्यवस्था मिलाइएको थियो । तर, कुनौली नाकाबाट समेत ठूलो संख्यामा घर फर्किने क्रम बढेसँगै कोरोनाको संक्रमण बढ्दै गएपछि उक्त नाका पनि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । छिमेकी मुलुक भारत तथा विशेषगरि सीमावर्ती क्षेत्रमा कोरोनाको संक्रमण तिब्रगतिमा फैलिएकाले नेपाल सरकारको (मन्त्रिपरिषद्) साउन २६ गतेको निर्णय अनुसार नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रसाद घिमिरेले बताए ।


सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्माचार्यले आवतजावतमा मात्र रोकथाम नगरि अवैध रुपमा हुने चोरी निकासी र तस्करी नियन्त्रणमा समेत कडाई गरिएको र दिनरात प्रहरीले सीमा क्षेत्रमा निगरानी गरिरहेको बताए । भारतसँग जोडिएको सप्तरीको ७२ किलोमिटर खुल्ला सीमाबाट लुकिछिपी प्रवेश समेत नहोस् भन्ने उद्देश्यले ५५ वटा पोष्ट स्थापना गरि सशस्त्र प्रहरीले नाका क्षेत्रमा निगरानी गरिरहेको उनको भनाई छ । जिल्ला प्रवेश गर्ने भारतीय सीमासँग जोडिएका सबै नाका बन्द गरिएपछि भारतबाट घर फर्किनेहरु कोही सीमा क्षेत्रमा अलपत्र परेका छन् भने कोही प्रदेश १ को बिराटनगर तथा कोही प्रदेश २ को सिरहा माडर नाकाबाट प्रवेश गरिरहेका छन् । भारतबाट घर फर्किनेहरुका लागि उक्त दुबै नाका सरकारले प्रयोग गर्न भने छुट दिएको छ ।

Comment


Related News

Latest News

Trending News