अपडेट 
२०७७ भाद्र २, मंगलवार ०५:५७

सामान्य अर्थमा कर भनेको सर्बसाधारण जनता र नागरिकहरुले राज्यबाट निर्धारित शर्त तथा नियम कानूनको आधारमा तोकिएका दरमा सरकारलाई बुझाउनु पर्ने तिरो हो । कुनै नागरिक आफूले आर्जन गरेको आम्दानीबाट तोकिएका अंश सरकारलाई बुझाउन पर्ने हुन्छ । नागरिकले बुझाएका करको सट्टा सरकारले उनीहरुको सुरक्षा तथा आवश्यक सेवा,सुबिधाहरु प्रदान गर्दछ । यो एक प्रकारको दोहरो श्रृङ्खलामा आधारित सञ्चालन हुने अनिवार्य हुनै पर्ने अवधारणा हो । यसलाई प्रभावकारी बनाउन जनता पनि सचेत उच्च नैतिक मूल्यका तथा सशक्त हुनै पर्ने हो । विकसित देशहरुमा करका सिद्धान्त तथा अभ्यासहरुमा सँधै अध्ययन अनुसन्धान गरी परिमार्जन गर्दै कर प्रशासन तथा व्यवस्थापनमा अद्यावधिक भई रहन्छन् । हामी जस्ता देशहरुमा कर सम्बन्धी प्रक्रियाहरुमा कमी कमजोरी भएर अधिकांश क्षेत्रहरुमा कर चुहाबट भई रहने जसले गर्दा राष्ट्रको ढुकुटी रित्तो नै रहन्छन् ।

अहिले नेपालमा भएका राजनैतिक परिबर्तनले कर उठाउने बारे सन्दर्भहरु प्रष्ट गरेका छन् । नेपालको संविधानमा तीन तहका सरकारहरुले कहाँ ? कति ? कसले ? कसरी ? कर प्रशासनलाई व्यवस्थापन गर्ने सबालमा प्रष्ट व्यवस्थाहरु भएका छन् । कुनै व्यक्ति वा संस्थाले आर्जन गरेको आम्दानीबाट नियमानुसार कर तिरेर बाँकि रहेको रकमलाई सबैले बुझ्ने भाषामा ह्वाइट मनी भनिन्छ भने कर नबुझाएका श्रीसम्पति सबैलाई नराम्रो शब्दमा ब्ल्याक मनी भनिन्छ । राज्य सञ्चालनको सिद्धान्तमा सरकारी सेवा सुबिधाहरु प्रदान गर्न सरकारले कर लगायतका अन्य श्रोतहरुको रकमलाई नै परिचालन गर्दछ । सरकारी सेवा चुस्तदुरुस्त बनाउन आर्थिक श्रोतहरुको आवश्यकता हुन्छ । सरकारी कोषमा जम्मा भएका रकमहरुबाट नै सरकारी सेवा सुविधाका प्रबन्धहरु मिलाइन्छन् । अहिलेको अवस्थामा कोभिड–१९ को सङ्क्रमणलाई निस्तेज गर्न तथा नियन्त्रण गर्न विभिन्न किशिमका कार्यहरु राज्यका तर्फबाट भई रहेका छन् । संघीय, प्रान्तीय तथा स्थानीय सरकारहरुले आ–आफ्ना श्रोतहरुको प्रयोग गरेर यस कोरोना–१९ नवभाइरसले उब्जाएका कुप्रभावहरुलाई नियन्त्रण गर्न विभिन्न कार्यहरु भई रहेका छन् ।

विभिन्न कार्यहरुमा राहत वितरण छाक टार्न समस्या भएका गरिब गुरुवाहरुलाइ क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन, सरसफाई सम्बन्धी कार्यहरु, बिभिन्न बैकल्पिक उपायहरुको व्यवस्थापनका गतिविधिहरु कार्यान्वयन भई रहेका छन् । करलाई संकलन तथा समुचित परिचालन गर्न सके त्यसबाट प्रबाह भएका सरकारी तथा निजी क्षेत्रका सेवाहरुमा विश्वसनियता बृद्धि भई सेवामा भएका गुणस्तरीयताको मात्रालाई समेत बृद्धि गर्न सहज हुन जान्छ । कर प्रशासनलाई जनतामैत्री बनाउन सके सबै भन्दा उत्तम हुन जान्छ । यसका लागि जनताका बीचमा गई समय–समयमा तीन तहका सरकारहरुले गरेका कामहरुप्रति उनीहरुलाई आश्वस्त बनाई अब के गर्दा यो भन्दा पनि कुशल व्यवस्थापन गर्न सकिन्छ ? सबैका सल्लाह बिचारलाई कदर गर्दै आगामी दिनका लागि कर संकलन परिचालनका योजनाहरु निर्माण गर्नु पर्दछ । करका लागि प्रभावकारी कानून व्यवस्थापन नभएका देशहरु गरिब देशका श्रेणीमा पर्दछन् । खास गरी अफ्रिकन देशहरुमा भएका भोकमरी तथा गरिबीहरु बृद्धि हुनुको कारण मुख्य रुपमा सरकारी निकायहरु द्वन्द्वका अवस्थाबाट प्रभावित भएका छन् ।

राज्यका नीति नियमहरुको परिपालना हुन सकि रहेका हुँदैन । जे–जस्तो अवस्था भए पनि करको बारेमा सर्बसाधारणहरुको बुझाई कस्तो छ ? करप्रतिको चेतना विकास नभईकन करलाई राष्ट्रहितमा प्रयोग गर्न सकिन्न । खास गरेर हामी नेपालीहरुमा सानै देखि करको अर्थ अवधारणा, महत्व र यसका सन्दर्भ जस्ता पक्षहरुलाई पठन–पाठनका विषयवस्तु बनाएरै सरकारले व्यवस्थापन गर्न आवश्यक छ । कर सबैले तिर्नु पर्दछ र यसलाई नैतिक दायित्वकै रुपमा अपनाउनु पर्दछ । करलाई तिर्नै पर्ने शर्तमा राखेर सबै यसप्रति सकारात्मक भई दिनु आवश्यक छ । कर प्रशासनका मूल्य मान्यताहरु पनि सबै समक्ष राखेर राज्यले यसलाइ समय मै व्यवस्थापन गर्न सके आर्थिक अवस्थालाई सुदृढ बनाउन सकिन्छ । आर्थिक अवस्था सुधार भयो भने नेपाल सरकारले देखेका सपना सुखी नेपाली, समृद्ध नेपाल पुरा गर्न सकिन्छ । कर प्रशासनमा केही यसका आधारभुत चरणहरु समावेश भएका छन् । सर्वप्रथम कर संकलनका योजना तयार गरी त्यसलाई कार्यान्वयन गर्न यसमा व्यवस्थापकीय प्रबन्ध गर्न पनि आवश्यक छ । संकलित करलाई उचित प्रबन्ध गर्न यसलाई नियम निर्देशिकाको आधारमा प्रभावकारी नियमन गर्न सके यसबाट देशले ठूलै उपलब्धि हासिल गर्न सक्दछ ।

एउटै प्रयासले नभएर पटक पटकको प्रयासबाट कर प्रशासन तथा व्यवस्थापन सुदृढ हुन सक्दछ । व्यापारी, कर्मचारी, सर्बसाधारणहरुका लागि करका विविध पक्षहरुको बारेमा जनचेतना बृद्धि गर्ने उद्देश्यका साथ राज्यले ठोस कदम चाल्नु पर्ने हुन्छ । करलाई सबैले बुझ्ने र स्वीकार गर्ने ढाँचामा विकास गर्न सके सबै यसप्रति सकारात्मक भई आत्मसात गर्ने विन्दुसम्म पुगेर यस कार्यलाई प्रभावकारी बनाउन सकिएला । जनताहरुमा सरकारी सेवा प्रबाह गर्दा उनीहरुले पाउनु पर्ने सेवा वापत सरकारले गर्ने खर्चका रकमहरुको भुक्तानी गर्नु पर्दछ भन्ने तथ्यलाई सर्बसम्मतबाट आत्मसात गरेको हुनु पर्दछ । यी कार्यहरुमा सफलता पाउन सबैमा करमैत्री सँस्कृतिको विकास गर्न पनि अनिवार्य भएको छ । बाल्यावस्थाबाट समाजका आवश्यकता र उनीहरुले चाहेका सेवा सुविधाहरुमा उन्नति तथा वृद्धि गर्न आवश्यक ज्ञान सीपहरुमा समयानुसार बढोत्तरी पनि आवश्यक छ । कर सम्बन्धी कुराहरुमा करको पैसाबाट सरकारले सार्बजनिक प्रशासनका सबै खर्चहरु जुटाउँदछन् । कर्मचारीका तलब, भत्ता तथा अन्य सेवा सुबिधाहरु जनताले तिरेका कर, शुल्क र जरिबानाबाट नै सरकारको ढुकुटीको रुपमा रहेका सञ्चित कोषमा जम्मा भएका रकमहरुको परिचालनबाट नै भुक्तानी गरिन्छ ।

कर प्रशासनको बारेमा मसँग कुनै बिशेष दक्षता नभएकोले यसमा उल्लेख भएका शाब्दिक संगठनमा मेरो आफ्नो अध्ययनका परिमाण मात्रै हुन । त्यसैले यसको कुनै सन्दर्भ श्रोत मैले उल्लेख गरिन बरु यसमा सम्बन्धित क्षेत्र विद्वानहरुसँग सल्लाह सुझाबहरुको अपेक्षा समेत गर्दछु ।

लेखक : क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुन् ।

Comment


Related News

Latest News

Trending News