अपडेट 
२०७७ भाद्र २, मंगलवार १३:३६

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ४ जनाको ज्यान गएको छ । पोखरामा दुई तथा ललितपुर र बाँकेमा एक/एक जनाको ज्यान गएको हो ।

तनहुँ र कास्कीका १/१ जनाको पोखरामा ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पोखराको वडा नम्बर १६ दीपमा बस्ने ८७ वर्षका पुरुषको आज बिहान र तनहुँ ब्यास १ की ५० वर्षकी महिलाको गएराति ज्यान गएको हो ।  ज्यान गुमाएकी तनहुँकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो भने  पोखराका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचार भैरहेको थियो । यस्तै ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

आज बिहान उपचारको क्रममा नवलपरासीका ३७ वर्षका पुरुषको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार गएको शुक्रबार अस्पताल भर्ना भएका पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो । उहाँलाई कडा निमोनिया भएपछि अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको गेलालले जानकारी दिनुभयो । यस्तै गएराति बाँकेको नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुषको पनि नेपालगञ्ज शिक्षण अस्पतालमा ज्यान गएको छ । ज्वरो आएपछि अस्ति आइतबार अस्पतालमा भर्ना गरिएका पुरुषको हिजो कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ११ पुगेको छ । तर आज ज्यान गुमाएका चार जनाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा मात्रै जानकारी दिनेछ । 

नेपालमा अहिलेसम्म ५ लाख २९ हजारको पीसीआर परीक्षण गरिएकोमा २७ हजार २ सय ४१ जनाको कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ४ सय ९५ जना निको भएका छन् । ९ हजार ६ सय ३९ जना आइसोलेशनमा र १५ हजार १ सय ९८ जना क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News