अपडेट 
२०७७ भाद्र २, मंगलवार १४:०२

बारा र पर्साका थप एक सय ३४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ र काठमाण्डाैकाे टेकु प्रयोगशालामा गरिएको परीक्षणमा ६८ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ । गएकाे साउन २६ र २७ गते नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाण्डाै पठाइएको थियो । त्यही स्वाबको रिपोर्ट आउँदा ६८ जना सङ्क्रमित थपिएका हुन् ।

वीरगञ्जकाे नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणको पछिल्लो रिपोर्टअनुसार पर्साको बहुदरमाई नगरपालिकामा सबैभन्दा बढी २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । साउन ३० गते बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाबको नमुना सङ्कलन गरेर परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिका कार्यालयले जनाएको छ । वीरगञ्जमा पत्रकार, चिकित्सकसहित ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनजीत कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँच जना र वडा प्रहरी कार्यालय बिर्ताका दुई जना गरी सात प्रहरी कर्मचारी सङ्क्रमित भएका छन् ।

नारायणी अस्पतालका एक जना चिकित्सक र ओपीडीका एक कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको छ । बारा जिल्लामा भेटिएका सङ्क्रमितमध्ये पाँच जना प्रसौनी गाउँपालिकाका रहेका छन् भने पिलुवाका दुई जना, सिम्रौनगढ नगरपालिकाका एक जना र कलैया उपमहानगरपालिकाका एक जना रहेको नारायणी अस्पतालले जनाएको छ । नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा आठ वर्षीया बालिकादेखि ७९ वर्षीय वृद्धमा सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा १७ जना महिला रहेका छन् । मङ्गलबार थपिएका मध्ये दुई जनाको नारायणी अस्पतालकाे सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News