अपडेट 
२०७७ भाद्र १५, सोमबार १५:५८

गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि आज शिलान्यास गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले गरेको घोषणा बमोजिम रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माणका लागि शिलान्यास गरिएको हो । सांसद साहले हिजो (आइतबार) मात्रै उक्त स्थानमा मन्दिर र मठ निर्माण गर्ने घोषणा गरेका थिए । सांसद साहको पहलमा निर्माण हुने उक्त मन्दिरको शिलान्यास मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, माधवनारायण नगरपालिकाकी उप–प्रमुख सिमलदेवी साह र देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेलले संयुक्त रुपमा गरेकी हुन् ।

सन्तको जीवन बिताइरहेका पुजारीको हत्याले आफुलाई मात्र नभइ समग्र समाजलाई दुखी बनाएको बताउदै मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले पुजारीको सम्मानमा मठ र मन्दिर निर्माण गर्न लागिएको जीकिर गरिन् । उनले बजारको रुपमा विस्तार भइरहेको खेसरहियामा सामाजिक सद्भाव भड्काएर विकास रोक्न खोजिएको आरोप लगाइन् । माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमल देवी साहले निस्वार्थ सामाजिक कार्यमा लागेको पुजारीको हत्याले सामाजिक कार्यप्रति लाग्ने व्यक्तिलाई निरुत्साहित गर्ने भएकोले यस्ता कार्य दोहोरिन नदिन प्रशासनको ध्यानाकर्षण गराइन । देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेल मन्दिर निर्माणले पुजारीप्रति सम्मान स्थापित हुनुका साथै खेसरहिया बजारमा धार्मिक पर्यटन पनि बढने विश्वास व्यक्त गरिन ।

मन्दिर शिलान्यास भएको स्थानमा भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो । शिलान्यास कार्यक्रममा सहभागी हुन पुगेका रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त स्थानमा प्रहरी चौकी निर्माण गर्ने घोषणा गरेका छन् । सांसद साहको मागबमोजिम उक्त स्थानमा आजैबाट प्रहरी रहने प्रजिअ यादवले जानकारी गराए ।

Comment


Related News

Latest News

Trending News