अपडेट 
२०७७ भाद्र १७, बुधबार ०६:१०

हाम्रो वर्तमान समाज पितृ सत्तात्मक रहेको छ । पितृ सत्तात्मक समाज भनेको समाजमा पिताको वर्चस्व रहने अवस्था हो । हामीकहाँ मुख्य सामाजिक निर्णय गर्ने अधिकार पुरुषमा नै रहेको छ । पुरुषको घरमा नै महिलाले बिहे गरेर जाने परम्परा रहेको छ । यसै गरी वंश पनि पुरुषकै नामबाट चल्ने गरेको छ । यसरी हेर्दा हाम्रो समाज र संस्कृतिको धेरै जसो मुख्य काममा पुरुषलाई प्रधानता दिइएको पाइन्छ । पुरुषको प्रधानताकै कारण हुनुपर्छ, मनोविज्ञान पनि यसै किसिमको निर्माण भएको छ । वास्तवमा पुरुषलाई जति स्वतन्त्रता छ, महिलालाई त्यत्ति हुँदैन तथा पुरुषले जति सुरक्षित महसुस महिलाले गर्दैन ।

पुरुषलाई भन्दा महिलालाई घरमै कम प्रधानता दिइएको पाइन्छ । यहाँसम्म कि महिलाले नै महिलालाई हेपेको पनि पाइएको छ । पुरुष र महिलामा को ठूलो भन्ने प्रश्न आजको होइन । समय र परिस्थिति बदलिँदै जाँदा महिला र पुरुष बराबरी हुन् भन्ने अवधारणा दिनानुदिन बलियो हुँदै गएको छ । पुरुष र महिला बराबरी हुनुपछे भन्ने सिद्धान्तले पनि पितापुर्खाको सम्मान गर्नुपर्दछ भन्ने अवधारणामाथि ठेस पु¥याएको पाइँदैन । वास्तवमा विवाह भन्नु नै महिला र पुरुषको औपचारिक सम्बन्ध भएकोले विवाहपछि दुई परिवारका महिला र पुरुष एक परिवार बन्ने प्रक्रियाले दुवै मानिसले दुवै परिवारका सदस्यको उत्तिकै ख्याल राखेको पाइन्छ । यसले गर्दा पितापुर्खाप्रति गरिने सम्मानको सवालमा पनि यही देखिन्छ कि सम्मान सबैतिर हुने गरेको छ । हाम्रो समाजमा यो अत्यन्त सकारात्मक चलन रहेको छ । आफ्ना मातापितालाई ढोग्ने र ससुरालीका मातापितालाई पनि ढोग्ने ।

चलनले हाम्रो परम्परामा मातापिताको सम्मान गर्ने संस्कृति रहेको स्पष्ट हुन्छ तर पहाडे लोकजीवनमा भने दुलहीका बाबुआमाले छोरीका श्रीमान् अर्थात् ज्वाइँलाई नै सम्मान गर्ने गरेको पाइन्छ । यसको पनि आफ्नै महत्व होला, आफ्नै मूल्य र मान्यता होला तर बोलाउँदा बुबा वा आमा नै भनेर सम्बोधन हुने तर बुबाआमाबाटै सम्मान पाउनुपर्ने चलन अलिक कस्तो कस्तो लाग्न थाल्छ मधेसी समुदायलाई । मधेसी ज्वार्इँलाई पनि सम्मान हुँदैन भन्ने होइन तर बुबाआमालाई गरिने सम्मानकै सरह सासुससुरालाई दिइने ढोगभेटको चलनले पिताप्रतिको सम्मानको परम्परालाई अगाडि बढाएको स्पष्ट हुन्छ । पितापुर्खालाई हरेक वर्ष निश्चित तिथिमा सम्मान र सम्झना गर्ने गरिन्छ । त्यो समय भनेको सोरश्राद्धको समय हो । यसलाई पितृ पक्ष पनि भन्ने गरिन्छ । अहिलेको समय अब पितापुर्खालाई सम्मान गर्ने सोरश्राद्धको समय सुरु भएको छ । हाम्रो लोकजीवनमा अब सोरश्राद्ध गर्ने काम सुरु हुन्छ । कतिपयले थोरै खर्च गरेर पनि गर्दछन् । कतिपयले चाहिँ अलिक बढी खर्च गर्दछन् । कतिपयले चाहिँ कुनै खर्च नै गर्दैनन् । विधि र परम्पराअनुसार सोरश्राद्ध गर्दछन् ।

विपन्न समुदायले सकेसम्म औपचारिकता पूरा गर्दछन् भने सम्पन्न परिवारले अलिक खर्चवर्च गरेर केही मानिसहरुलाई भोजभतेर पनि खुवाउँछन् । सोरश्राद्धमा दुई चार जनालाई भोज खुवाउने चलन पनि रहेको छ । भोज खुवाउने चलन पहाडको तुलनामा मधेसमा कम रहेको छ । मातापिताको सम्मान गर्नुपर्दछ भन्ने धारणाप्रति दृढ रहँदै सोरश्राद्धमा गरिने खर्चलाई कटौती गरेर विपन्न समुदायलाई सहयोग गर्ने चलन चलाइएको पनि पाइन्छ । मातापिताको सम्मान र सम्झनामा अक्षयकोशको स्थापना गरी त्यसबाट विपन्न समुदायलाई सहयोग गर्ने गरेको पनि पाइन्छ । हरेक वर्ष सोरश्राद्धमा लाग्ने खर्चमध्ये मुख्य अंश कटौती गरी अत्यन्त अल्प खर्चमा वा सकेसम्म खर्च नै नगरी सोरश्राद्धकै तिथिमध्ये कुनै एक दिन पितापुर्खाको सम्मानमा छात्रवृत्ति दिइने, अनाथ तथा वृद्धवृद्धाहरुलाई सहयोग गर्ने तथा अन्य सामग्री सहयोग गर्ने गरेका छन् । श्राद्धमा गरिने खर्चको रकमबाट अक्षयकोशको स्थापना गर्छन् । त्यसको ब्याजको रकमले हरेक वर्ष सहयोग गर्दछन् । पहाडका कतिपय ठाउँमा कतिपय बुद्धिजीवी वा भौतिकतावादीले यस प्रकारको चलन चलाएका छन् । यो पनि सकारात्मक चलन नै रहेको छ । हाम्रा धर्मशास्त्रहरुले पनि पितापुर्खाको सम्मान गर्नुपर्छ भनेको पाइन्छ ।

धर्मशास्त्रले मानेको चार युगमै पितापुर्खाको सम्मान गरेको तथा गर्नुपर्दछ भन्ने दर्शनलाई सम्मानपूर्वक अगाडि बढाएको छ । पितापुर्खाको सम्मान यति धेरै भएको पाइन्छ कि पितापुर्खाको मान तथा शान राख्न अनेक कष्टहरु भोग्नु परेका कथाहरु प्रचलन देखाएका छन् । मातापिताको सम्मान तथा पितापुर्खाको प्रतिष्ठा गरिएका उदाहरणहरु पर्याप्त पाइन्छन् । रामायण र महाभारत कालमा कतिपय सन्दर्भहरुमा पितापुर्खाको बोलीको सम्मान राख्न तथा पितापुर्खाको इज्जतलाई कायम राख्न अनि साथमा आफ्नो पनि सम्मान बढाउन अनेक त्याग र संघर्षहरु गरेका छन् । राज्यको त्याग गरेका छन्, मृत्युसित लडाइ गरेका छन् । यस्ता धार्मिक तथा औपदेशिक र नैतिक कथाहरु समाजमा अझै पनि खूब प्रचलित छन् । शास्त्रहरुको उदाहरण दिएर यस्ता कथाहरुप्रति सम्मान दर्शाउने गरिन्छ । पितापुर्खाहरुले धरतीमा रहेका आफ्ना सन्तानको पनि ख्याल गर्दछन् भन्ने मिथक प्रचलनमा रहेको छ । मधेसी समुदायमा एउटा मिथक यो पनि रहेको छ । जब पृथ्वीमा पानीको आवश्यकता हुन्छ तब स्वर्गमा रहेका पितापुर्खाहरुले चन्द्रमा तथा सूर्यको वरिपरि सभा बस्ने गरेका छन् । दिउँसो सूर्यको वरिपरि र राति चन्द्रमाको वरिवरि गोलो घेरा बनाएर पितापुर्खाहरुले सभा बस्ने गर्दछन् । मुख्य गरी कृष्ण पक्षमा सूर्यको वरिवरि र शुक्ल पक्षमा चन्द्रमाको वरिपरि यस प्रकारको सभा बस्ने मान्यता रहेको छ । सभामा कुन क्षेत्रमा कहिले वर्षा गराउने र कति वर्षा गराउने भन्न निर्णय हुन्छ ।

के भनिन्छ भने सानो सभा त धेरै दिनमा पानी पर्छ र ठूलो सभा हुँदा केही दिनमै पानी पर्दछ । पानी पर्ने वा नपर्ने निर्णय सूर्यको वरिपरि आकाशमै हुने गर्दछ । अझै पनि ग्रामीण समुदायमा सभा बसेको सूर्यको घेरा देख्नेहरु छन् र सूर्य वा चन्द्रमाको वरिपरि घेरा लागेर सभा बसेको अवस्थामा त्यस सभामा आफ्ना पितापुर्खा रहेको भनी सम्मानका साथ आफू जहाँ छ त्यहीबाट ढोगेको पाइन्छ । यस मिथकले सामान्य नागरिकमा पनि पितापुर्खाको सम्मान गर्ने परम्परा रहेको चलनलाई देखाउँछ । पितापुर्खाको सम्मान गर्ने चलन इतिहासको धरोहर मात्र होइन । वर्तमानको दृष्टान्त र भविष्यको नासो पनि हुनु पर्दछ । आफ्ना पितापुर्खा बिना कोही कसैले आफ्नो अस्तित्वको कल्पना गर्न सक्दैन । जन्म र कर्मले मानिस वर्तमानमा कस्तो छ ? यसले नै सबै कुरा बताएको हुँदैन । पितापुर्खाको इतिहास खोतल्दै जाने हो भने आफ्नै विगतमा धेरै उतारचढाव भएको पाउन सकिन्छ । विगतका पितापुर्खाको दुःखसुखको ऐतिहासिक धरातलमा नै वर्तमानको जग निर्माण भएको छ । वर्तमानले भविष्यप्रति पनि बफादारी खोजेको छ । पितापुर्खाको सम्मानको परम्पराले आफूलाई पनि भविष्यको इतिहासमा सम्मानको पात्र बनाउने कुरालाई वर्तमानले बुझ्नु आवश्यक छ ।

अरु त जेसुकै होओस्, मैले आफ्नो स्वार्थ पूरा गर्नुछ भन्ने होइन । स्वार्थ त हरेक मानिसमा हुन्छ तर त्यस स्वार्थले समाजको हित हुनुपर्छ र आफ् ना पितापुर्खाको मान र नाम बढाउने हुनुपर्छ । पितापुर्खाको नाम राख्नलाई कुनै ठूलै त्याग गर्नु पर्दछ वा ठूलै लगानी गरेर कुनै अक्षयकोश नै स्थापना गरी छात्रवृत्ति हुनै पर्दछ भन्ने होइन । आफ्ना कर्मले आफूलाई पवित्र बनाउनु पर्दछ । पितापुर्खाहरु कर्मले खुसी हुन्छन् । हामीले सत्कर्म गर्नु आवश्यक छ । कर्म नै धर्म हो । गीतामा पनि श्रीकृष्णले सत्कर्म र सत्धर्म नै मानिसको कर्तव्य भएको बताइएको छ । गीतामा मानिसको कर्मबारे पनि धेरै कुरा बताइएको छ । मानिसले कर्मअनुसारको फल प्राप्त गर्ने कुरामा कानुनदेखि अध्यात्मसम्म सबैले मान्दै आएका छन् । यदि कसैले राम्रो कर्म गर्दछन् र त्यसको फल राम्रै हुने विश्वास अद्यपर्यन्त मरेको छैन । केही अपवाद, विवाद तथा मतभेद जहाँ पनि हुन्छ, जुनसुकै क्षेत्रमा पनि हुने गर्दछ । यसले पनि यही संकेत गर्दछ कि जीवित मातापिताको सम्मान तथा स्वर्गबासी पितापुर्खाको सम्मानले आफूलाई सत्कर्म गर्ने प्रेरणा प्राप्त भइरहन्छ । पितापुर्खाको सम्मान गर्नेले आजसम्म कतै पनि कोही पनि पछुताउनु परेको छैन । वर्तमान समाजले पनि सम्मान नै दिने गरेको छ भने उनले पनि सम्मान पाउने गरेका छन् ।

हामीले आफ्ना पितापुर्खाको सम्मान दुई तरिकाले गर्न सक्छौँ । पहिलो त यो हो कि यस्तो काम गरौँ जसले पितापुर्खाको आत्मालाई शान्ति मिलोस् । पितापुर्खाको आत्मामा ठेस नलागोस् । पितापुर्खाले मेरै सन्तति हो भनेर गर्व गरुन् । यो अध्यात्मको दृष्टिले सत्कर्म र सत्धर्मको महत्व त छँदैछ । हाम्रा छोराछोरी र सन्तान दर सन्तानले पनि आफ्नो कर्ममाथि गर्व गर्न सकिने वातावरण बनोस् । यस्तो नहोओस् कि आफ्नै सन्तानले आफूमाथि छिः छिः गरुन् । अझ यसै कुरालाई सामान्य रुपमा पनि बुझ्न आफ्नै पुस्ताका पन्ध्र बीस सिंढीको नाम र काम सम्झन हामीलाई गाह्रो हुन्छ । हो, हामीले हाम्रा पुस्तामध्ये चार पाँच पुस्ताको नाम सजिलै थाहा हुन्छ तर दशभन्दा माथि जान सजिलो हुँदैन । हामीले जीवन निर्वाहका कर्मलाई सही मार्गमा हिँडाएर यस्तो काम गर्नुपर्छ कि पछिका सन्तानले नराम्रो नभनोस् तथा जीवनको कुनै एक क्षेत्रमा कमसे कम यस्तो काम होओस् कि आफ्ना सन्तानले आफूलाई सम्झन सकोस् । वर्तमान परिवेशमा समाज सेवाका अनेक क्षेत्रहरु विकास भएका छन् ।

कुनै पनि एक क्षेत्रमा आफूलाई सम्मानयोग्य नागरिक बनाउन सक्यौँ भने पितापुर्खाप्रतिको सम्मानमा चार चाँद लाग्नेछ र आउँदा पुस्ताले पनि शिर उठाएर आफूलाई सम्मान गर्नेछन् ।

Comment


Related News

Latest News

Trending News