अपडेट 
२०७७ भाद्र १८, बिहीबार ०६:११

एक २४ वर्षीय युवकको कुटपिटबाट ज्यान गएको छ । कुटपिट पछि जिल्ला सदरमुकामसमेत रहेको मंगलसैन नगरपालिका १४ कालागाउँका २४ वर्षीय सन्तोष भण्डारीको उपचारको क्रममा जिल्ला अस्पतालमा बुधबार मृत्यु भएको हो ।

मंगलसैन नगरपालिका वडानम्बर १४ कालागाउँको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाझका युवासँग भएको विवाद भएपछि कुटपिट हुँदा भण्डारी गम्भीर घाइते भएका थिए ।

शरीरको बाह्य भागमा कुनै चोटपटक नदेखिए पनि भित्री भागमा गम्भीर चोट लागेको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिए पनि हेलिकप्टरमा लैजान नपाउँदै भण्डारीको ज्यान गएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज विष्टले जानकारी दिनुभयो ।

जिल्ला प्रहरीका अनुसार कुटपिटका कारण ज्यान नै गएकोले घटनाको गम्भीर अनुसन्धान भइरहेको छ । कमलबजार नगरपालिकाका ६ हात्तीबाझका भूपेन्द्र शाहीलगायतका युवाको समूहले भण्डारीलाई कुटपिट गरेको र उनीहरुको बुधबार बिहानैदेखि खोजी भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।

मृतक भण्डारीका आफन्तले पनि प्रहरी कार्यालयमा उजुरी गरिसकेकाले शाहीलगायतका फरार व्यक्तिको खोजी तीव्र पारिएको अवस्थीको भनाइ छ । मृतकका आफन्तले घटनामा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News