अपडेट 
२०७७ भाद्र २१, आईतवार १७:०७

सप्तरी, राजविराज |

क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिएको राजविराजस्थित सप्तरी कारागार अहिले कोरोना संक्रमणको उच्च जोखिममा परेको छ ।


पछिल्लो पटक जेल जिवन बिताइरहेका आधा दर्जन कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि कारागार भित्र रहेका अन्य कैदीबन्दी जोखिममा परेका हुन् । १ सय २५ जना राख्ने क्षमता रहेको सो कारागारमा हाल १५ महिलासहित ३ सय ३३ जना कैदीबन्दी कोचाकोच गरि राखिएका छन् ।
तीन दिनअघि संक्रमित भएका ६ जना कैदीबन्दीलाई राख्न ठाउँ अभाव भएपछि अहिले कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मी बस्ने एउटा कोठा गराई संक्रमितको व्यवस्थापन गरिएको छ ।
जेलभित्र एक जनामा संक्रमण भए केही दिनमै धेरैलाई फैलन सक्ने सम्भावना रहन्छ, जेलर संजय कुमार रामले भने “यहाँ त एकैपल्ट आधा दर्जनमा संक्रमण देखिएपछि समस्या झनै थपिएको छ ।” तत्काल कुनै अर्को उपाय नभएपछि अहिले सुरक्षाकर्मी बस्ने एउटा कोठा खाली गराई कामचलाउ आइसोलेशन बनाएर संक्रमितलाई व्यवस्थापन गरिएको उनले बताए ।
जसोतसो आइसोलेशन बनाइएपनि मापदण्ड अनुसारको आवश्यक सेवा सुविधा भने नरहेको उनको भनाई छ । उनले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै विगत ४/५ महिनादेखी सतर्कता अपनाउँदै भेटघाटमा समेत कडाई गरेको बेला संक्रमण देखिनुले थप चिन्ता बढाएको सुनाए ।
क्षमता भन्दा तेब्बर कैदीबन्दी राख्नु पर्दा कोरोनाको जोखिम बढ्दै गएको उनको भनाई छ । क्षमता भन्दा अत्याधिक कैदीबन्दी भएकाले सामाजिक दुरी कायम गर्न समेत असम्भव जस्तै भएको छ, उनले भने ।


पछिल्लो पटक स्वास्थ्य समस्या देखिएका ६ जनालाई पिसिआर गराउँदा सबैमा कोरोना पोजेटिभ देखिनुले अन्य कैदीबन्दीमा समेत संक्रमण फैलिएको हुन सक्ने प्रवल सम्भावना रहेको उनले बताए । उनले सुरक्षाको दृष्टिकोणले कारागार भित्रै पिसिआर परिक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय तथा गजेन्द्र नारायण सिंह अस्पताललाई लिखित तथा मौखिक आग्रह गरिरहेको जानकारी पनि दिए । उनले संक्रमित कैदीबन्दीसँगै बस्दै आएका अन्य कैदीबन्दीका लागि कारागार भित्रै खाली रहेको चौरमा पाल टाँगेर अस्थायी क्वारेन्टाइन बनाउन लागेको जानकारी पनि दिए ।


यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले कारागार प्रशासनबाट कैदीबन्दीको पिसिआर परिक्षणका लागि अनुरोध आएको तर, एकै पल्ट त्यती ठूलो संख्यामा परिक्षण गर्ने साधनश्रोतको अभाव रहेको बताए । यद्दपी उनले सोमबारदेखी क्रमिक रुपमा कारागार भित्र पिसिआर परिक्षण गर्ने तयारी गरिएको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News