अपडेट 
२०७७ भाद्र २६, शुक्रबार ०६:२५

नेपालमा अहिले साम्यवादी पार्टीको सरकार छ । नेपाली साम्यवादी पार्टीको जन्म कहिले र कसरी भयो ? के नेपाली साम्यवादी माक्र्स र लेलिनको साम्यवादमा अडेको छ वा परिवर्तित रूप छ ? यी प्रश्नहरूको उत्तरका लागि नेपाली साम्यवादको शुरूको इतिहासतिर जानु पर्ने हुन्छ । नेपालमा एकाधिकार प्राप्त गरेको राणा शासनको इतिहासबाट शुरु गर्नु पर्ने हुन्छ । माक्र्स र लेनिनको भनाइ अनुसार जहाँ शासन सत्ता एउटा परिवारमा निहित हुन्छ त्यहाँ जनता उसको विरोधमा खडा भई शासन सत्तालाई सधैंका लागि अन्त गर्ने तिर लाग्छन् । नेपालमा २००७ सालको जनआन्दोलनमा त्यसैको एउटा संयुक्त रूप देखियो । नेपाली काँग्रेस आन्दोलनको प्रमुख पार्टीको रूपमा खडा भयो । यता कम्युनिष्टहरू सानै आकार भएपनि सव्रिmय रुपले आन्दोलनमा भाग लिए । २००७ सालको आन्दोलन जनताको आन्दोलन भएको हुनाले कुनै एउटा पार्टीले ल्याएको प्रजातंत्र होइन भने बुझ्नु जरूरी छ । २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले वहुमत प्राप्त गरेको कारणको पछाडि राष्ट्रबाद, समाजवाद र प्रजातंत्रकै नारा थिए ।

२०१५ सालदेखि २०१७ सालसम्म नेपाली काँग्रेस पार्टीले आफ्नो आधारभूत नारालाई विर्सेर अन्य साना दलहरूलाई तह लगाउन थाले । यसैको ताकमा राजपरिवार बसेका थिए । राजा महेन्द्रले यसै अवस्थालाई आधार बनाई नेपालमा निर्दलीय पंचायती व्यवस्थाको शुरुआत गरे जो २०४७ सालसम्म कुनै न कुनै रूपमा निरन्तर कायम रह्यो । काँग्रेस भारतमा शरणलिइ नेपालको एकतंत्रीय सरकारको विरुद्धमा आन्दोनको घोषणा ग¥यो । नेपाल कम्युनिष्ट पार्टी विभिन्न चिरामा भएपनि जनताको घरदैलोसम्म आफ्नो आधर तयार गर्ने काम ग¥यो । जसले गर्दा नेपाली काँग्रेसको प्रमुख प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी मात्र देखियो । यस बीचको अवधिमा नेपाली काँग्रेसले पनि आफ्नो विचारमा संशोधन ग¥यो । साम्यवादी पार्टीसंग हातेमालो गरेर आन्दोलनमा उत्रिए । फलस्वरूप राजाको एकतंत्रीय निर्दलीय पंचायत व्यवस्था धराशायी भयो । प्रजातांत्रिक सरकारको पुनस्र्थापना भयो । यस उप्रान्त नेपालमा कम्युनिष्ट पार्टीमा मूल रूपले दुई बाटा देखिए । पहिलो सरकारमा सामेल भई आन्दोलनलाई अगाडि बढाउने तिर लाग्यो भने अर्को पूर्णरूपेण बहुदलीय प्रजातांत्रिक व्यवस्थामा विश्वास नगरेर भुमिगत भयो र माक्र्सवाद माओबादलाई आफ्नो मूल आर्दश बनायो । त्यसै बीच क. मदन मण्डारीको बहुदलीय जनवादलाई आधार बनाई बहुदलीय प्रणालीको निर्वाचन प्रतिस्पर्धामा नेकपा (एमाले) भाग लिई कुनै न कुनै किसिमले सरकारमा सामेल भइ रहे ।

जनताको घरदैलोमा गएर माक्र्सवाद लेनिनवादको शिक्षा दिन थाले ।जसले गर्दा गाउँ टोल समेतमा कम्युनिष्ट पार्टीको हँसिया हथौरा चिन्ह एकदमै लोकप्रीय भएर प्रकाशमा आयो । उता क्रान्तिकारी माक्र्सवाद माओवादको नारा दिई भूमिगत भएको पार्टीले पनि जनताको बीचमा माओवादलाई प्रयोगमा ल्यायो । यसमा निकै संख्यामा नेपालीहरू शहादत भए । २०६३ साल तिर नेपाली काँग्रेसको नेतृत्वमा शान्ति सम्झौता भई संविधान सभाद्वारा नेपालको संविधान बनाउने शर्तमा सामेल भयो । राज परिवारको अन्त भयो । २०७२ साल अशोज ३ गते संविधान सभावाट संविधान पारित भइ संविधान लागु भयो । अब नेकपा (एमाले) र नेकपा (माओवादी) पनि २०६३ सालदेखि खुला प्रतिस्वर्धामा भाग लिन थाले । दुबै साम्यवादी पार्टीहरू बेग्ला–बेग्लै निर्वाचनमा भाग लिए र बेग्ला बेग्लै सरकारको नेतृत्व समेत गर्ने मौका पाए । २०७४ सालतिर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एउटै पार्टी गठन गर्ने सम्झौता भयो । संयुक्त रूपमा २०७४ सालको निर्वाचनमा भाग लिए । भारी मतले साम्यवादी पार्टी विजय हासिल ग¥यो । नेपाल सरकारको नेतृत्व पहिलो पल्ट लगभग दुई तिहाइको समर्थनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार बनाउने मौका पायो । सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालिन अध्यक्ष क. खर्गप्रसाद शर्मा ओली (केपी ओली) ले गर्न थाले ।

अहिले लगभग तीन वर्ष बित्न लाग्यो । दुवै पार्टीको नाम हटाइ नयाँ नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखी दुइटा अध्यक्ष भई पार्टीलाई नेतृत्व दिन थालेका छन् । क. केपी ओली पार्टीको अध्यक्ष तथा सरकारको प्रमुख भई काम गर्न थाले र अर्का अध्यक्ष क. पुष्पकमल दाहाल (प्रचण्ड) पार्टीलाई नेतृत्व प्रदान गर्न थालेका छन् । हुनत अहिले पनि नेपालमा केही कम्युनिष्ट पार्टीहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग रही आफूलाई नै साँचो कम्युनिष्ट पार्टीको ठोकुवा साथ जनताको क्षेत्रमा कार्यरत छन् । यी मध्ये नेकपा माओवादी (चन्द समूह) अहिले पनि भूमिगत रूपमै कार्यरत रहेको देखिन्छ । भारतीय कम्युनिष्ट पार्टीहरू तिर जाँदा सन् १९४७ को जनआन्दोदन भन्दा अघि नै अस्तित्वमा आइसकेका थिए । सन् १९४७ को जनआन्दोलनमा दुइटा धार देखियो । पहिलो धारको नेतृत्व मोहनदासकर्मचन्द गांधी र दोश्रो धारको नेतृत्व सुभाषचन्द्र बोस गरेका थिए । सुभाषचन्द्र बोस जो व्रmान्तिकारी रूपमा प्रस्तुत भएका थिए भने गाँधी जी अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए । सुभाषचन्द्र वोसको आन्दोलन ताका निधन भयो । महात्मा गँधीको नेतृत्वले आन्दोलनमा सफलता हासिल ग¥यो । स्वतंत्र भारतको पहिलो राष्ट्रपति डा. राजेन्द्र प्रसाद तथा प्रधानमंत्री पं. जवाहरलाल नेहरूलाई बनाइए । कम्युनिष्ट पार्टीको अस्तित्व भएपनि कमजोर अवस्थामा रहेको देखियो ।

विस्तारै जनताको बीचमा आफ्नो कुरा राख्दै आन्दोलनलाई बढाउँदै आए । यस पार्टीमा पनि मूल रूपले दुई समूह देखिए ः पहिलो समूह भारतीय कम्युनिष्ट पार्टी र दोश्रो माक्र्सवादी कम्युनिष्ट पार्टी । यी दुवै कम्युनिष्ट पार्टीहरूका बीचमा एकता थिएन । पहिलोले दोश्रोलाई र दोश्रोले पहिलोलाई नक्कली कम्युनिष्ट बताई आफुलाई मात्र सक्कली कम्युनिष्ट बताइ रहे । केही पछि दुवैबाट एका दूका सिटहरू जितेर भारतीय संसदसम्म पुग्ने मौका पाए । संसदमा पनि साम्यवादी विचारधाराको आधार लिइ अगाडि बढ्ने कोसिस गरे । त्यसैको फलस्वरुप भारतको केही प्रदेशहरूमा प्रादेशिक सरकार बनाउन सफल पनि भए । पश्चिम बंगाल र केरला मूलरूपले यसका हातमा आए । अहिले पनि केरलामा प्रादेशिक सरकार बामपंथी कै हातमा छ । हुनत भारतमा पनि कम्युनिष्टहरू एक ढिक्का रहेको देखिएन । केही समूहहरू संसदीय निर्वाचनमा भाग लिए पनि केही अन्य समूहहरू भूमिगत रही आन्दोलन गर्न थाले । भूमिगत पार्टीको रूपमा कम्युनिष्ट पार्टी (नक्सलवादी) प्रमुख रहेको देखिन्छ । यिनीहरू सरकारको विरूद्धमा शुरूदेखिनै निरन्तर संघर्षरत छन् । यिनीहरूका के भनाई छ भने भारतीय कम्युनिष्ट पार्टी र माक्र्सवादी कम्युनिष्ट पार्टीहरू संसदीय भासमा फँसे ।

यिनीहरू माक्र्सवाद, लेनिनवाद तथा माओवादलाई पूर्णरूपेण विर्सेका छन् । हामी मात्र एउटा सच्चा बामपंथी हौं । हाम्रो लडाइ यस पूँजीबादी सरकारको विरूद्धमा केन्द्रीत छ । भारतको केही दुर्गम ठाउँहरूलाई अधिस्त बनाई निरन्तर रूपमा आन्दोलनरत छन् । सरकारले पनि सक्दो नियन्त्रण गर्न खोजेपनि नियन्त्रणमा आईरहेका छैनन् । उनीहरूको भनाइ के छ भने संसदीय निर्वाचन बुर्जुवा निर्वाचन भएको हुनाले निर्वाचनमा भाग लिनु भनेको पार्टीलाई बुर्जुवा भासतिर लग्नु हो । कम्युनिष्ट पार्टी त सर्वहारा वर्गको राज्य निर्माणमा विश्वास राख्छ । तसर्थ संसदीय निर्वाचनमा भाग लिनु न लिनु कुनै अर्थ राख्दैन । माक्र्सले आन्दोलनबाट सत्ता लिन भनेको हो । यिनीहरू माक्र्स र लेनिनको नाम मात्रको पार्टीहरू हुन । चीनमा साम्यवादको प्रवत्र्तक माओत्से तुङ्गलाई मानिन्छ । चीनमा माओले मजदुर र किसानलाई एकत्रित गरी संगठन निर्माण पश्चात संघर्ष गर्न थाले र पछि माओको विजय भयो । देशमा साम्यवादी शासनको शुरुआत भयो । माक्र्सवाद लेनिनवाद भन्दा माओवाद अलिकती भिन्न रहेछ । माक्र्सले पूर्णरूपेण मजदुरको संगठनमा जोड दिएका थिए । मजदुरको संगठनलाई बलियो बनाइ पँुजीपति शोषक वर्गको विरोधमा आन्दोलन गरी सर्वहाराको शासन स्थापित गर्नु भनेका थिए तर माओले एक्लै मजदुरको संगठानको बलमा आन्दोलन गरेका भए सफल हुने थिएन किनभने चीनमा अधिकाँश जीवन कृषिमा आधारित थियो । त्यहाँ किसानको अवस्था एकदमै दयनीय थियो चीनमा कम्युन र साँस्कृतिक क्रान्ति माओत्से–तुङ्गको प्रमुख देन हो ।

कम्युन उद्योगहरूमा मजदुरहरूका सामुहिक संगठन हो । कम्युनमा मजदुर हरूलाई सामुहिक जीवन बिताउनु पर्ने हुन्छ । कृषिको क्षेत्रमा किसानलाई सुधार्न सामुहिक फार्महरूको व्यवस्था गरे । माओले देशमा विभिन्न कर्गलाई साम्यवादी दलमा सामेल गरी सर्वहारा वर्गको प्रभुतामा जोड दिएका थिए । पुरानो विचारको पभुता अर्थात वर्गहरूको सहयोगको दशामा संशोधन गरेका छन् । माओको नेतृत्वमा चिनी साम्यवादी आफुलाई आदिम माक्र्सवादी–लेनिनवादी मान्छन् । माओ र उनका अनुवायीहरू युद्ध एवं व्रmान्तिद्वारा पँुजीवादको विनासमा विश्वास गर्छन । क. माओत्से–तुङ्गको देहान्त सन् १९७६ मा भयो । उहाँको कम्युन र साँस्कृतिक व्रmान्तिको योजनालाई वर्तमान सम्म विभिन्न नेतृत्वहरूले कायम भखेका छन् । हुनत चीनमा पनि माओत्सेतुङ्गको विचारलाई केही संशोधन गरी अहिले पनि चीनमा एकदलीय पार्टीको सरकार संचालनमा रहेको देखिन्छ । अहिलेको चीनको सत्ता प्रमुख लि.फेङ्ग हुन् । वहाँले पनि हुवहु नभएपनि माओको विचारलाई आधारमानी सत्ता संचालन गरेका छन् । चीनमा यत्रो विकास हुनुको पछाडि सफल नेतृत्वको देनलाई सबैले स्वीकार गरेका छन् । विश्वका पँुजीवादी देशहरू सोभियत संघको साम्यवादी विचार धाराको परिवर्तन पश्चात अब चीनको विरूद्धमा लागेको देखिन्छ । तर त्यहँको सफल नेतृत्वले गर्दा नै विभिन्न विचारलाई परास्त गरी माओवादी विचारलाई कायम राखेको देखिन्छ । सोभियत संघको विनास पश्चात विश्वको वामपंथी नेतृत्व चीनको हातमा आएको मान्न सकिन्छ । अहिले चीनमा विकासको गतिलाई हेर्दा विश्वका देशहरू चकित छन् । चीनसंग विश्वका अधिकाँश देशहरूले व्यापारिक सम्बन्ध कायम गरेका छन् । यसैको सहयोगमा क्युबा, कम्बोडिया, उत्तरी कोरिया आदि देशहरू चीनतिर आकर्षित रहेका छन् ।

तीनै देशका साम्यवादीहरू बीचको समानतातिर जाँदा तीनै देशको अर्थ व्यवस्था मूल रूपले कृषिमा नै आधारित रहेको देखिन्छ । तीनै देशहरू माक्र्सवाद लेनिवादमा सामान्य संशोधन गरे पनि आन्दोलनको मूल आधार माक्र्सवाद लेनिनवाद नै रहेका छन् । तीनै देशका साम्यवादीहरू पनि मजदुर आन्दोलनमा मात्र जोड दिएका देखिँदैनन् बरु कृषिमा काम गर्ने किसानलाई समेत संगठन गरि साम्यवादलाई अगाडि बढाउन खोजेको देखिन्छ । यी पार्टीहरूका एउटै उद्देश्य समाजवादको प्राप्ति रहेको छ । समाजवाद साम्यवादको पहिलो अवस्था रहेको छ । अर्कोतिर सबैले एक मतले सर्वहारा वर्गको राज्यलाई स्वीकार गरेका छन् जो वामर्पथीको अन्तर्राष्ट्रिय नारा पनि हो । शक्तिको हिसावले जे जति कमबेशी भएपनि तीनै देशमा राष्ट्र प्रमुखको रूपमा राष्ट्रपति राखेका छन् । हुनत भारत र नेपालमा राष्ट्रपतिलाई नाम मात्रको अधिकार दिइ सरकारको प्रमुख प्रधानमंत्रीलाई मानेका छन् । नेपाल र भारतको बामपंथी पार्टीहरू बीचमा बढी समानता देखिन्छ । यिनीहरू बहुदलीय प्रतिस्पर्धामा विश्वास गर्छन । यसरी चीनभन्दा नेपाल र भारतीय साम्यवादी पार्टीहरूका बीचमा बढी सामिप्यता देखिन्छ । यी देशहरुका साम्यवादी पार्टीहरूका बीचमा रहेका असमानतालाई हेर्दा प्रत्येक देशले माक्र्सवाद लेनिनवादलाई आ–आफ्ना देश, काल, परिस्थिति अनुसार संशोधन गरेर लागू गरेका छन् । यदि यसो गरिएन भने पार्टीलाई अगाडि बढाउन सकिँदैन र बढीभन्दा बढी अवरोधको सामना गर्नुपर्ने हुन्छ । माक्र्सले जर्मनीको अवस्था हेरेर आफ्नो सिद्धान्तको प्रतिपादन गरेका थिए । त्यसबेला जर्मनीमा मूल रूपले दुइटा वर्ग देखिन्थे ः एउटा उद्योगपति र अर्को त्यसमा काम गर्ने मजदुरहरू । त्यहाँका मजदुरहरुको अवस्थालाई केन्द्रमा राखी साम्यवादी विचारधारा निर्माण गरेका थिए ।

त्यस्तै सोभियत संघमा हुबहु जर्मनी जस्तै अवस्था नरहेको कारणले क. लेनिनले माक्र्तवादी सिद्धान्तमा सामान्य परिवर्तन गरेका थिए । लेनिनको विचारमा माक्र्सवाद एउटा स्थिर एवं अखण्ड सिद्धान्त नभएर एक जीवित र विकासशील दर्शन बुझ्दथे । यस्तै चीनमा उद्योगमा काम गर्ने मजदूरहरू भन्दा कृषिमा काम गर्ने किसानहरूको संख्या बढी भएको हुनाले किसानलाई समेत संगठित गरेर सामुदायिक कृषि प्रणाली लागु गरेर चीनमा साम्यवादी व्यवस्थालाई अगाडि बढाएको देखिन्छ । यस भित्र पनि माक्र्सवाद र लेनिनवादमा समान्य परिवर्तन गरी चीनले आफनै तरिकाले लागू गरेको देखिन्छ । भारतीय साम्यवादीहरू ठीक यसको विपरीत रहेको देखिन्छ । भारत जव सन् १९४७ मा परतंत्रताबाट स्वंतंत्र भए त्यसपछि बहुदलीय प्रणली लागू भयो । भारतको शासन प्रणलीलाई संघीय गणतंत्रात्मक प्रणाली भनिन्छ । बहुदलीय प्रतिस्पर्धामा साम्यवादी विचारलाई कसरी लागु गर्न सकिन्छ भने रणनीति तयार गरी अगाडि बढेको देखिन्छ ? माक्र्सले प्रतिपादन गरेको विचारधारा भारत सम्म आउँदा निकै संशोधन भैसकेको देखिन्छ । नेपाली बामपंथीहरू भारत भन्दा अलिकति अगाडि आएको देखिन्छ ।

नेपालमा अहिले साम्यवादी पार्टीको सरकार छ । यिनीहरू पनि बहुदलीय प्रतिस्पर्धामा कसरी पस्ने भने माथिको देशहरूको अध्ययन गरी क. मदन मण्डारीले दिएको बहुदलीय जनवादलाई आधार मानी बहुदलीय प्रतिस्पर्धामा पसे । यसैको रणनीति अनुसार क्रमशः विजय हासिल गर्दै आएका छन् । अन्तमा राजालाई समेत गद् दीच्युत गरी संघीय गाणतंत्रात्मक शासन प्रणालीलाई आत्मसात गरेका छन् । यहाँ सम्म आउँदा चीन, भारत र नेपालमा साम्यवादीहरू बीच निकै असमान्ता रहेको देखिन्छ । सबै देशले आ–आफ्नै आर्थिक सामाजिक, साँस्कृतिक परिस्थितिलाई हेरी माक्र्सवाद–लेनिनवादलाई समान्य संशोधन गरी आ–आफ्नै पारिवेश अनुसार लागू गरेका छन ।

अस्तु । लेखकः त्रि.वि.का.सेवा निवृत सह–प्राध्यापक हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News