अपडेट 
२०७७ भाद्र २६, शुक्रबार १५:४२

वीरगञ्ज स्थित सिर्सिया नदी किनारमा व्यवस्थित तथा आधुनिक शवदाह स्थल निर्माण गरिने भएको छ । वीरगञ्ज– १३ स्थित रामजानकी मठ नजिकै सिर्सिया नदी किनारमा शवदाह स्थल निर्माण गर्न लागिएको हो ।

विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या बढीरहेको अवस्थामा मृतकको शव व्यवस्थापनमा विभिन्न समस्या देखिँदै आएको छ । यस्ता समस्या समाधानमा सामुदायिक शवदाह स्थल उपयोगी हुने विश्वास लिइएको छ । कोराना संक्रमणबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्ने क्रममा पटक पटक स्थानीय र प्रहरीबीच झडप समेत भएका छन् । स्थानीयको अवरोधका कारण तनाब उत्पन्न हुँदा प्रहरीले हवाई फायर समेत गरेका थिए ।

जुनसुकै अवस्थामा मानिसको मृत्यु भएपनि धार्मिक परम्पराअनुसार ससम्मान अन्तिम संस्कार गर्न पाऊन् भन्नका लागि सामुदायिक शवदाह स्थल बनाउन लागिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तसहितको टोलीले शवदाह गृह निर्माणका लागि छलफल समेत गरिसकेको छ । शवदाह गृह निर्माणका लागि राजकुमार दारुकाले सम्पूर्ण आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दारुकाकै संयोजकत्वमा घाटको व्यवस्थापन तथा निर्माणका १७ सदस्यीय निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको छ । वीरगञ्ज– ११ का वडाध्यक्ष प्रधुम्न सेढाईं, वडा नम्बर १३ का अध्यक्ष तुफान फारुक अन्सारी लगायतले पनि शवदाह स्थल निर्माण क्षेत्रको अवलोकन गरेका छन् । सबैको सहमतिमा विवादरहित ढंगले रामजानकी मन्दिर नजिकै सिर्सिया नदी किनारमा सामुदायिक आर्यघाट बनाउन लागिएको वीरगञ्ज– ११ का अध्यक्ष सेढाईंले बताए ।

प्रदेश सरकारले पहिलेदेखि नै जमिन दिएको खण्डमा विद्युतीय शवदाहगृह बनाउने आश्वास दिएको छ भने प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले पनि विद्युतीय शवदाह गृह बनाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News