अपडेट 
२०७७ भाद्र २८, आईतवार १२:०८

सर्वाेच्च अदालतसँगै देशभरिका अदालतमा आजदेखि सबै प्रकारका मुद्दाको नियमित सुनुवाइ शुरु भएको छ । करिब पाँच महिनापछि अदालतमा मुद्दाको नियमित सुनुवाइ शुरु भएको हो ।

विश्वलाई नै प्रभावित बनाएको कोरोना संक्रमण नेपालमा पनि देखापरेपछि सरकारकै आह्वानमा सरकारी कामकाज प्रभावित हुँदै आएको थियो । कहिले पुरै बन्द र कहिले एक तिहाइ त कहिले आधा कर्मचारीले सरकारी कार्यालय सञ्चालन हुँदै अएको थियो । सरकारी कार्यालय बन्द गर्नुपरेपछि देशभरिका अदालतमा समेत आकस्मिक बाहेकका कामकाज ठप्प भएको थियो । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य रिट निवेदन तथा मुद्दाको सुनुवाइ तत्काल स्थगित गरिएको थियो ।

पछिल्लोपटक सरकारले लकडाउन खुकुलो बनाउँदै निषेधाज्ञा पनि क्रमशः हटाउँदै जाने नीति लिएपछि सरकारी कार्यालय खुलेका छन् । सर्वाेच्च अदालतले पनि गत शुक्रबार विज्ञप्ति नै निकालेर आजदेखि सबै प्रकारका मुद्दा तथा रिट निवेदनको दर्ता तथा सुनुवाइ गरिने निर्णय सार्वजनिक गरेको थियो ।

सर्वाेच्चको यो निर्णयसँगै देशभरिका उच्च अदालत र जिल्ला अदालतमा पनि स्वास्थ्य सुरक्षा मापदण्डका साथ न्याय सम्पादन कार्य शुरु भएको बताइएको छ । लामो समयसम्म अदालतको कामकारबाही प्रभावित हुँदा न्याय पाउने हकबाट वञ्चित हुनुपर्ने अवस्था सृजना भएकाले सञ्चालनको निर्णय गरिएको सर्वाेच्च अदालतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News