अपडेट 
२०७७ भाद्र ३०, मंगलवार १५:१७

जिल्ला प्रहरी कार्यालय, वीरगञ्जमा कार्यरत प्रहरी हवल्दार मनिभुषण यादवका ९ वर्षीय छोरा सुमितकुमार यादवको रहस्यमय मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले गाम्भिर्यता नदेखाएको पीडित परिवारले गुनासो गरेका छन् ।

हवल्दार पुत्र सुमित भदौ १९ गते बाराको देउताल गाउँपालिका–५, धुराहास्थित घरबाट हराएको भन्दै पीडित परिवारले तत्काल खोजतलासका लागि प्रहरीलाई आग्रह गरेको थियो । खोजतलासको क्रममा भदौ २० गते सुमितको शव गाउँबाट दुई किलोमिटर पूर्वमा रहेको पोखरीमा भेटिएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धान नै नगरी डुबेर मृत्यु भएको जस्तो गैरजिम्मेवार प्रतिक्रिया दिएको बताउँदै मृतकका हजुरबुबा मुसाफिर यादवले सुमित एक्लै त्यस्तो ठाउँमा भएको पोखरीमा गएको भन्ने विषय शंकास्पद भएको बताए ।

पीडित परिवारकाअनुसार जिल्ला प्रहरी प्रमुख कृष्ण पंगेनी र प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहलाई पटकपटक घटनाबारे अनुसन्धान गरिदिन आग्रह गरे पनि संवेदनशीलता नदेखाएको उनीहरुको आरोप छ । अनुसन्धान नै नगरी पोष्टमार्टम रिपोर्टमा डुबेर मृत्यु भएको उल्लेख छ भन्ने प्रहरीको बोलीले आफुलाई थप पीडा भएको मृतकका बुवा मनिभुषण यादवले बताए । लकडाउनपछि घर आएका उनका छोरा वस्ती पनि नभएको क्षेत्रमा कसरी एक्लै पुगे भन्ने विषय प्रहरीको अनुसन्धानको दायरामा पर्नुपर्ने मृतकका अभिभावकहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय, बारामा ७ जनाविरुद्ध निवेदन दिँदै मृतकका बुबा मनिभुषणले घटनाबारे गम्भिरतापूर्वक अनुसन्धान गरिदिन माग गरेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी पंगेनीकै आग्रहमा निवेदन दिएपनि निवेदन पछि छानविनमा उनले तदारुकता नदेखाएको परिवारको आरोप छ । प्रहरी प्रमुख पंगेनीकाअनुसार प्रारम्भिक जाँचमा बालकको डुबेर मृत्यु भएको देखिएको छ । शरीरमा अन्य चोटपटक केही नदेखिएकाले मृत्युमा अन्य कारण हुन नसक्ने देखिएको उनको दाबि छ । थप अनुसन्धानको क्रममा शवको भिसेरा र डायटम परीक्षणका लागि पठाइएको पंगेनीको भनाइ छ ।

डुबेर मृत्यु भए पनि कोहीसँग खेल्न जाँदा वा कसैले धक्का दिएको हुनसक्ने सम्भावना रहेको एसपी पंगेनी बताउँछन् ।

Comment


Related News

Latest News

Trending News