अपडेट 
२०७७ आश्विन १, बिहीबार ०६:२२

कालीगढले विश्वकर्माको पूजाआजा गरी आज विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो पूजा मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो पूजा मनाइन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन् । खुला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन् । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्रगौतम बताउनुहुन्छ । प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्छन् । वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताका सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News