अपडेट 
२०७७ आश्विन ४, आईतवार ११:४७

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा सीरम इन्टिच्युट अफ इन्डियाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपको भारतमा यसै साता तेस्रो परीक्षण गरिने भएको छ ।

समाचारमा जनाइए अनुसार यस खोपको तेस्रो चरणको परीक्षण सोमवारबाट भारतको पुणेको एक अस्पतालमा गरिने भएको छ । राज्य सरकारले सञ्चालन गरेको ससून जनरल अस्पतालका डिन डा मुरलीधर ताम्बेले यसबारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराएका हुन् । परीक्षणका लागि केही स्वयमसेवकहरु तयारी अवस्थामा रहेको उनले बताए । करिब १५० देखि २ सय जनामा यस खोपको तेस्रो चरणको परीक्षण गरिन लागेको जानकारी पनि डा ताम्बेले दिएका छन् ।

खोप परीक्षणमा इच्छुक स्वयमसेवीकहरुको शनिवारबाटै नाम संकलन शुरु भैसकेको छ । इच्छुकहरुले अस्पतालमा सम्पर्क राखेर आफ्नो नाम लेखाउन सकिने व्यवस्था गरिएको छ । विगतमा परीक्षणमा सहभागी केही व्यक्तिमा नकरात्मक असर देखिए पनि यस खोपको परीक्षणमा रोक लगाइएको थियो । तर गत शनिवार एस्ट्राजेनेकाले पुनः परीक्षण गरी खोपको तेस्रोचरणको परीक्षणको तयारी गरिएको हो । भारतले गत अगष्टमै खोपको तेस्रो चरणको परीक्षणका लागि अनुमति प्रदान गरेको थियो ।

भारतमा यस खोपको नाम कोभिड शील्ड दिइएको छ । आगामी नोभेम्वरसम्म खोपको परीक्षण चरण सम्पन्न भई छिट्टै बजारमा ल्याउने कम्पनीको तयारी छ ।

Comment


Related News

Latest News

Trending News