अपडेट 
२०७७ आश्विन ६, मंगलवार २३:१४

पहिले भन्ने गरिन्थ्यो – अन्धकारबाट उज्योतिरको यात्रा ज्ञान हो । ज्ञानले मानिसलाई जस्तोसुकै कठिन परिस्थितिबाट पनि पार लगाउन सिकाउँछ । ज्ञानबिनाको जीवन त अँध्यारोमा नै बितेको हुन्छ । यसरी ज्ञानको महत्व अनादि कालदेखि नै बखान हुँदै आएको छ । अहिलेसम्म सबै अज्ञानी नै भन्ने होइन । ज्ञानको सीमा पनि समयअनुसार बदलिँदै जान्छ ।

हिजोको दिनमा जुन कुरा ज्ञान भनिन्थ्यो हुन सक्छ त्यो आज अज्ञान भएको होला, हिजोको दिनमा जुन कुरा अज्ञान भनिन्थ्यो हुन सक्छ त्यो ज्ञान भएको होला । ज्ञानको अर्थ समय र भूगोलको परिवेशअनुसार पनि लाग्दछ । शिक्षा र चेतनाअनुसार पनि लाग्दछ । फेरि यो होइन कि ज्ञान कुनै एक ठाउँमा गएर रोकिन्छ । यो त जति धेरै प्राप्त ग¥यो उति धेरै कमै रहेको अनुभूति हुन्छ वा जति धेरै ज्ञानार्जन हुन्छ अझ त्यो भन्दा धेरै ज्ञान आर्जन गर्न बाँकी रहेको अनुभूति हुन्छ । र, यसको विपरीत जति थोरै ज्ञान हुन्छ, उति धेरै ज्ञान भएको अनुभूति हुन्छ । सर्वसाधारणसम्म पनि एउटा कुरो के पुगेको छ भने ज्ञानीभन्दा अज्ञानी बढी छिटो आफूलाई प्रदर्शन गर्दछ । अर्थात् ज्ञानीको तुलनामा अज्ञानी तुरुन्तै थाहा हुन्छ । यसको अर्थ यो कदापि होइन कि सबै ज्ञानी चाहिँ चुपो लागेर बस्तछन् वा चुपो लागेर बस्ने जति सबै ज्ञानी नै हुन्छन् । एकजनाले के प्रश्न गरेका छन् भने पाँच शताब्दी पहिलेको सामान्य समाजका धेरै होसियार वा ज्ञानी मानिस वर्तमान समाजको मूर्खको तुलनामा गर्दा कस्तो होला ?

अहिले तुलना गर्ने कुरा सम्भव छैन किनभने सामान्य मनोविज्ञानमा के छ भने गाउँका मानिसभन्दा बजारका मानिस बढी बाठा हुन्छन् । नपढेकाभन्दा पढेका मानिस बढी ज्ञानी हुन्छन् । शास्त्र पढेका मानिस अझ बढी ज्ञानी हुन्छन् । हो, वर्तमान समाजमै पनि ज्ञानको दृष्टिकोणले धेरै अगाडि बढेका र धेरै पछाडि परेका मानिस छन् भने कैयौँ शताब्दी पहिलेका मानिससित अहिले तुलना गर्नुको औचित्य नै छैन । पहिले विज्ञानको त्यत्ति महत्व दिँदैनथे र आजभोलि विज्ञानको आधारमा तर्कको महत्व बढ्न थालेको छ । आजभोलि मानिसको तर्क क्षमता विज्ञानको धरातलमा हुन्छ र पहिलेभन्दा धेरै माथि उठिसकेको छ मानव समुदाय र मानव चिन्तन । मानवको ज्ञानमाथि बढी अधिकार हुँदै गएको छ र विस्तारै ज्ञानसँगै विज्ञानमाथिको निर्भरता जानिदो वा नजानिदो किसिमले बढ्दै गएको छ । वर्तमान युगमा विज्ञानसम्मत कुराको महत्व बढी छ । अध्यात्मलाई कमजोर भनिएको होइन ।

अन्धविश्वासहरु कमजोर हुँदै गएका छन् । अन्धविश्वास कमजोर हुँदै जानुको अर्थ हो समाजमा विज्ञान स्थापित हुँदै गएको छ । फेरि पनि कसैले चाहेर विज्ञानको रफ्तार रोक्न सक्ने होइन, विज्ञानले हरेक क्षेत्रलाई आफूमा समाहित गर्दै गएको छ भन्नुको अर्थ यो पनि हो कि हरेक क्षेत्रले विज्ञानलाई स्वीकार गर्दै गएको छ । आजको युग विज्ञानको युग हो । हरेक कुरामा वैज्ञानिक दृष्टिकोणको आवश्यकता महसुस गर्न थालिएको छ । मानव जीवनका हरेक पक्षलाई विज्ञानको आलोकमा मूल्यांकन गरिन थालिएको छ । विज्ञानको दृष्टिकोणमा जोख्न थालिएको छ । विज्ञानको सहारामा हरेक कुराको मूल्य तोक्न थालिएको छ । यसले गर्दा विज्ञानको महत्व हरेक समाजमा बढ्दै गएको छ । हो, सर्वसाधारणले आफ्नो क्षमताअनुसार विज्ञानको आधारमा तर्क गर्दछन्, आफ्नो वैज्ञानिक धारणा पुग्न नसकेको ठाउँमा भगवानको चमत्कार भनेर चुपो लाग्छन् अथवा सोझै अविश्वास गर्दै अस्वीकार गर्दछन् । यो यस कारण पनि स्वाभाविक हो कि जहाँ क्षमता पुग्दैन, त्यहाँ के गर्न सकिन्छ र ? फेरि अर्को तथ्य यो पनि छ कि हरेक मानिसको रुचि, दक्षता तथा क्षमता उस्तै वा एउटै हुँदैन । यही त मानिस मानिसबीचको भिन्नता हो । यही त मानिस मानिस बीचको फरकपना हो । स्वत्व हो, व्यक्तिगत सम्पत्ति हो, मौलिकपना हो ।

यही भिन्नताले त ऊ फरक हो भन्ने अनुभूति गराएको छ । विज्ञानको आधारमा तर्क गर्न नसक्ने पनि आफूमा विज्ञानको सोचाइ अझ बढी हुनुपर्ने अनुभव गर्दछन् । विज्ञानलाई अझ बढी आत्मसात गर्नुपर्ने स्वीकार गर्दछन् । आफूलाई विज्ञानसम्मत बनाएर आफ्नो जीवनलाई विज्ञानको आलोकमा सुन्दर देखिन बनाउने अभियानमा मानिस अनादि कालदेखि नै लागेका छन् । हाम्रो वर्तमान समाजले पनि विज्ञानलाई पछ्याउँदै निरन्तर अगाडि बढिरहेको सोह्रै आना सत्य हो । हाम्रो सामाजिक वर्तमान अझै पछौटेपनमा रुमल्लिएको छ तर यसको अर्थ यो होइन कि हामीकहाँ वैज्ञानिक चिन्तन भएका मानिस छँदैछैनन् । बेलाबेलामा विभिन्न समाचारहरु आइरहन्छन् कि विज्ञानको विभिन्न क्षेत्रमा हाम्रै समाजका मानिसले पिएचडि गरेका छन् । विभिन्न विश्वविद्यालयहरुमा विज्ञानको क्षेत्रमा राम्रा उपलब्धिहरु हासिल गरेका छन् । अझ कुनै कुनै बेला त विज्ञानका सुप्रसिद्ध पुरस्कारहरु पनि प्राप्त गरेका खबरहरु आइरहन्छन् । विज्ञानको क्षेत्रमा शोधमा संलग्न रहेका, जर्नलहरुमा नयाँ अनुसन्धानका आर्टिकलहरु प्रकाशित गरेका तथा नवीन उपलब्धिहरु हासिल गरेका खबरहरु पनि आइरहन्छन् ।

नासामा पनि हाम्रै समाजका मानिस कार्यरत छन् भन्नेजस्ता सुखद खबरहरु आउँछन् तर वास्तवमा हेर्ने हो यस्ता उपलब्धिहरुबाट प्रेरणा लिएर विज्ञानको क्षेत्रमा अझ अगाडि बढ्नुपर्ने हाम्रो समाज अहिले पनि गरिबी र अशिक्षामा बाँच्नु परेको छ । केही बुझेका मानिसहरुले पनि प्रतिभाभन्दा जातलाई बढी महत्व दिएको गुनासो पनि सुन्नमा आउँछन् । हामीलाई पछौटेपनले अझै छोडेको भने छैन । कतिपय अन्धविश्वासले हामीलाई अझै पछ् याइरहेका छन् । वास्तवमा अन्धविश्वासको जरोमा अशिक्षा र अशिक्षाको जरोमा गरिबी रहेको कुरालाई सबैले स्वीकार गर्नुपर्छ । विपन्नतालाई शिक्षाले र शिक्षाले विपन्नतालाई हटाउन सक्ने कुरालाई सबै पक्षले बुझेर विपन्नता र अशिक्षाविरुद्ध एकसाथ अभियानको थालनी गरेमा हाम्रो समाज पनि ज्ञान–विज्ञानको क्षेत्रमा फड्को मार्न सक्ने कुराका आधारहरु विज्ञानको विभिन्न क्षेत्रमा उच्च प्रगति गरेका मानिसहरु नै हुन् भन्ने लागेको छ । एकातिर सौर्य मण्डलको शुक्र ग्रहमा जीवनको अस्तित्व रहेको सम्भावनाबारे वैज्ञानिक खोजका समाचारहरु आउँछन् भने अर्कोतिर घरमा खान– लाउन समस्या भएर मानिसले आत्महत्या गरेको खबर पनि आउँछ ।

पृथ्वीभन्दा लाखौँ किलोमिटर टाढाको विषयमा खोज अनुसन्धान हुनुलाई यहाँ नराम्रो भन्न खोजिएको होइन, विज्ञानले हरेक क्षेत्रमा उपलब्धि हासिल गर्दै जानुपर्छ । विज्ञानको उपलब्धि निश्चित नै मानवको लागि हुनुपर्छ, यस पृथ्वीबासीका लागि हुनुपर्छ, मानव जीवन वर्तमानमा बचाउन र भविष्यमा पनि बचाइरहन केन्द्रित हुनुपर्छ । मानवको जीवनमाथि कुनै किसिमको संकट नआओस् भन्नेतिर विज्ञान केन्द्रित हुनु पर्दछ र भइरहेको देखिन्छ पनि । अहिलेको विश्वमा चलिरहेको कोरोना महामारीबाट मानव समुदायलाई बचाउन संसार भरका स्वास्थ्य तथा चिकित्सा क्षेत्रका वैज्ञानिकहरुको ध्यान तानिएको छ । हजारौँ वैज्ञानिकहरु यस काममा लागिपरेका छन् कि कुनै खोपको आविष्कार होओस् र यस महामारीबाट संसारलाई सुरक्षित पार्न सकियोस् । गत वर्ष देखा परेको कोरोना भाइरसमाथि आउँदो वर्ष संसारले विजय पाउने आशा गरिँदैछ तर लाखौँ वर्षदेखि मानव जीवनलाई पछौटे बनाउँदै आएको विपन्नता र अशिक्षामाथि किन कुनै विज्ञानले विजय प्राप्त गर्न सकेको छ ।

कुनै यस्तो पनि आविष्कार होओस् कि गरिबी हराओस्, भोकमरी हटोस्, मानिसले खानै नपाएर आत्महत्या गर्ने समय कहिल्यै नआओस् । विज्ञान र वैज्ञानिकले यस क्षेत्रमा सफलता हासिल गरुन् कि मानिसको जीवन कुनै पनि मूल्यमा भोकमरीको चपेटामा नपरोस् । भोकको यस्तो कुनै उपाय खोजियोस् ताकि अमूल्य जीवन कहिल्यै खतरामा नपरोस् । विज्ञानले विगतदेखि वर्तमानसम्म अनेकन उपलब्धिहरु गरेका छन् । विज्ञानकै कारण मानवले अहिलेसम्मको यात्रा सफल गर्न पाएको हो । जीवनको हरेक क्षेत्रमा हरेक कोणबाट विज्ञानले गरिहेको कामले मानव समुदाय लाभान्वित भएको छ । यसमा अलिकति पनि शंका छैन कि मानव समुदायको लागि विज्ञानले जति अरु कुनै क्षेत्रले गर्न सकेको छैन । फेरि पनि भन्दछु यहाँ अध्यात्मलाई अस्वीकार गरिएको होइन । यसैले कतिपयले अध्यात्मलाई पनि विज्ञान नै भन्दछन् र विज्ञानलाई पनि अध्यात्मकै उपज मान्दछन् । गीतामा भगवन श्रीकृष्णले पनि ज्ञानविज्ञानको महत्वबारे प्रकाश पारेका छन् । विज्ञानसम्मत जीवनको विपक्षमा कोही पनि मानव समुदाय हुन सक्दैन । यति हुँदाहुँदै पनि विज्ञानले अझै पनि अँध्यारोमा राखेको क्षेत्र नै गरिबी र अशिक्षा हो । कहिलेकाहीँ यस्तो पनि लाग्छ कि विज्ञानको सबै आविस्कारलाई गरिबी र अशिक्षाले चुनौती दिएको छ ।

विज्ञानप्रति अविश्वास भएर होइन तर एकजनाले विज्ञानले गर्नुपर्ने काम अझै बाँकी रहेको भनेर यस्तो पनि टिप्पणी गरेका छन् कि विज्ञानको सफलता अन्धकार र भोकलाई मेटाउन सकेको दिन सिद्ध हुन्छ । विज्ञानको विशाल वृद्धमुनिको अँध्यारोमा धेरै बेरोजगारी पनि आएको र बेरोजगारीले गरिबी बढाएको तर्क समेत कहिलेकाही गरिन्छ । होला, यस तर्कमा दम छैन तर यो कुतर्क भने होइन । औद्योगिक र कृषि युगमा सयौँले गर्ने काम आजभोलि एक दुई जनाले गर्न थालेका छन् । यो विज्ञानको युग हो । विज्ञानको आलोकबाट कोही पनि वञ्चित हुनु हुँदैन । विज्ञानसम्मत जीवनले कहिल्यै अँध्यारोमा रहनु पर्दैन भन्ने तर्कहरु पनि छ । तर कोरोना कालमा कोरोनाबाट जोगिन के विज्ञानसम्मत र के चाहिँ स्वास्थ्यभन्दा पृथक हो भन्नेमा धेरै अलमल भयो । कुनै महिनामा आउने एक कुराले समाजमा व्यावहारिकता नपाउँदै अर्को तर्क आइहाल्थ्यो । यसरी कोरोना सर्छ र यसरी कोरोना सदैन । यसरी कोरोनाबाट जोगिन सकिन्छ र यसरी कोरोना लागेको मान्छे पनि निको हुन सक्छ । अनेक तर्क र विचारहरु विभिन्न उच्चस्तरीय सम्बन्धित व्यक्तिबाट आए तर केही दिनमा नै हराएर जान्थे । अझै पनि यस मानवीय संकटमाथि अनुसन्धान चलिरहेकै छ । सबैभन्दा ठूलो औषधि सामाजिक दूरी भनेको पाइयो र पनि मानिस बिरामी भएको खबरहरु आइरहे । अहिले अब मानिसले कोरोना महामारीसँगै बाँच्नु पर्छ भनिरहेका छन् । हरेक व्यक्ति आफू सुरक्षित रहेर सकेसम्म अरुलाई सुरक्षित राखेर दैनिकीलाई निरन्तरता दिनु परेको छ, जनजीवनलाई सामान्य बनाउनु परेको छ भन्न थालिएको छ ।

यसले के पनि स्पष्ट पारेको छ भने अतिआवश्यक धेरै कुरामा विज्ञानले पनि धेरै काम अझै गर्न बाँकी रहेको छ । रोग प्रतिरोधात्मक क्षमता मानिसको सक्रियताले बढ्ने कुरा पनि आउँछ र घरमा बस्ने पनि भनिन्छ । यसर्थ समग्र मानव जीवनको ठूलो समस्या रहेको विपन्नता र अशिक्षा हटाउनको लागि विज्ञानले अझै पनि धेरै पाइलो हिँड्नु पर्ने देखिन्छ । हाम्रो वर्तमान भोक र अशिक्षाबाट ग्रसित छ । भोक र अशिक्षाले विज्ञानको चमत्कार पर्खेको छ ।

Comment


Related News

Latest News

Trending News