अपडेट 
२०७७ आश्विन ७, बुधबार १२:५४

कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् ।

कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि इम्प्लोइमेन्ट’ कार्यक्रम अन्तर्गत कतारभित्रै पुनः रोजगारीको अवसरहरु खोज्न सकिने छ । कोरोना महामारीका कारण बाहिरबाट नयाँ श्रमिक ल्याउनुभन्दा पनि देशभित्रै भएका श्रमिकलाई पुनः रोजगारीमा लगाउन कतारले विभिन्न पहलहरु गरिरहेको छ । जसअन्तर्गत अब श्रमिकले रोजगारदाता परिवर्तन गर्न पनि पाउने छन् ।

श्रमिकले चाहेमा पहिलो रोजगारदाताबाट कुनै पनि अनुमति नलिइकन काम परिवर्तन गर्न सक्नेछन् । तर आफूले काम छाड्दैछु भन्ने जानकारी भने दिनुपर्नेछ । कतारमा रहेको नेपाली दूतावासका उपनियोग प्रमुख तथा काउन्सेलर लछुमन खनालले भन्नुभयो, ‘कतारको अहिलेको योजना भनेको बाहिरबाट कामदार ल्याउनेभन्दा पनि यहीँ भएकालाई रोजगारीमा जोड्ने भन्ने हो, कोरोना महामारी छ त्यसैले कुनै कम्पनीमा बढी श्रमिक छन् र कुनैमा कम छन् भने अब उनीहरुले अर्को कम्पनीमा गएर सजिलै काम गर्न पाउनेछन् ।

कतारबाट घर फर्कनका लागि २१ हजार २ सय २१ जनाले दूतावासमा निवेदन दिएका छन् । यसरी घर फर्कन खोज्नेमध्ये धेरैजसोको रोजगारी गुमेको छ । कतिपयलाई कम्पनीले कटौती गरेको छ । खाद्य तथा आवास समस्या भएका, तलब भुक्तानी नपाएका वा प्राप्त गर्नेहरूको पनि कटौती हुने श्रमिकको संख्या कतारमा उल्लेख छ । कतारबाट अहिलेसम्म चार्टर्ड उडानमार्फत ९ हजार ५५८ जना स्वदेश फर्किएका छन् भने अहिले पनि १० हजारभन्दा धेरै जना स्वदेश फर्कने दिन कुरिरहेका छन् ।

कतारले पछिल्लो समय दुईवटा श्रम कानुनमा परिवर्तन गरेको छ । जसले नेपालीसहित आप्रवासी श्रमिकलाई फाइदा पुग्ने छ । पहिलो त कतार सरकारले श्रमिकको न्यूनतम ज्याला तोकेको छ । अब कतार जाने श्रमिकले करार सम्झौता गर्दा एक हजार रियाल न्यूनतम तलब, ५ सय आवास र तीन सय खाद्यान्न गरेर १८ सय कतारी रियाल पाउनेछन् । यो नियम ६ महिनापछि लागू हुने कतारले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News