अपडेट 
२०७७ आश्विन ११, आईतवार १८:२९

कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबीच संयुक्त राष्ट्रसंघको महासभामा आरोप–प्रत्यारोप चलेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले असाेज ९ गते राष्ट्रसंघको ७५ औं महासभालाई सम्बोधन गर्ने क्रममा जम्मु–कश्मीरको बिषयमा बाेल्दै भारतको आलोचना गरेपछि दुई छिमेकीबीच आरोप–प्रत्यारोप चलेको हो ।

भारतले राज्यस्तरबाट इस्लामविरोधी भावना फैलाएको खानको आरोप छ । कोरोना महामारीका कारण भर्चुअल सम्बोधन गर्दै खानले भने – ‘आज दुःखका साथ भन्नुपरेको छ, भारतमा राज्यबाट नै इस्लामविरुद्ध घृणा फैलाउने काम भइरहेको छ । यसको प्रमुख कारण आर‍.एस.एस. विचारधाराले आज भारतमा शाासन गर्नु हो ।’ उनले ‘भारतीय सत्ताधारीले भारत भनेको हिन्दुको मात्र भएको र अरूलाई समान नागरिक नभएको ठान्ने गरेको’ आरोपसमेत लगाए । खानको उक्त आरोप भारत सरकारले गत वर्ष लिएको जम्मु–कश्मीरको विशेषाधिकार अन्त्य गर्ने निर्णयप्रति लक्षित थियो । सम्बोधनका क्रममा खानले दक्षिण एसियामा दिगो शान्ति र स्थायित्व कायम गर्न पनि जम्मु–कश्मीरको विवादलाई अन्तर्राष्ट्रिय रूपमा मान्य हुने गरी निरूपण गर्नुपर्ने जिकिर गरे । खानले आफ्नो मन्तव्यमा जम्मु–कश्मीरका विषयमा भारतमाथि आरोप लगाउन थालेपछि महासभामा रहेका भारतीय प्रतिनिधि बाहिरिएका थिए ।

हल छाडेर हिँडेका भारतीय प्रतिनिधिले नै भारतका तर्फबाट जवाफ दिने क्रममा खानको अभिव्यक्तिलाई झूटो र भ्रामक भन्दै ‘जम्मु–कश्मीर भारतको अभिन्न अंग हो, त्यही भएर त्यहाँ लगाइएको नियम र कानुन भारतको नितान्त आन्तरिक मामिला हो भने। पाकिस्तानी प्रधानमन्त्री खानले आफ्नो मन्तव्यमा प्रयोग गरेका शब्दले संयुक्त राष्ट्रसंघको भावनाको पनि अवमूल्यन गरेको भारतीय प्रतिनिधिकाे भनाइ थियाे । जवाफमा भारतले विश्वकै शान्ति र सुरक्षाका लागि खतरा बनिरहेका आतंकवादी संगठनहरूलाई पाकिस्तानले राजनीतिक र आर्थिक सहयोग दिँदै आएको आरोपसमेत लगाएको छ ।

पाकिस्तानले जम्मु–कश्मीरको विवाद समाधानका लागि संयुक्त राष्ट्रसंघलगायत संस्थाले मध्यस्थता गर्नुपर्ने माग गर्दै आएपनि भारतले भने जम्मु–कश्मीर आफ्नो अभिन्न अंग भएकाले त्यससम्बन्धी विवादलाई अन्तर्राष्ट्रिय गर्ने विषयलाई अस्वीकार गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News