अपडेट 
२०७७ आश्विन १५, बिहीबार १४:२२

पर्सा : प्रहरीले वीरगञ्ज ५ कुम्हालटोल स्थित रेल्वे रोडमा रहेको देव पार्टी प्यालेसमा नक्कली प्रहरी निरीक्षक बनि लोक सेवा आयोगको परीक्षा लिइरहेको अवस्थामा बुधबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका वर्ष २९ का अजय कुमार राय रहेका छन् ।

पर्सा, बारा र सर्लाहीका २१ जना युवकलाई सरकारी जागिर लगाइदिन्छु भनि प्रलोभन देखाइ ठगि गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेपनि प्रारम्भिक अनुसन्धान पश्चात आज बिहान जिल्ला प्रहरी कार्यालयको प्रारङ्गनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । प्रहरी निरीक्षकको पोशाकमा रहेका अजयलाई पत्रकार सम्मेलनमा उभ्याउँदा पत्रकार सम्मेलनमा सहभागि सञ्चारकर्मीहरु एकछिन अल्मलाउँदै कुन सक्कली र कुन नक्कली प्रहरी निरीक्षक हुन भन्ने छुट्याउँन नै गाह्रो भए । उनीसँगै दुईजना अझै प्रहरी निरिक्षक पोशाकमै रहेका थिए ।

उनको हातमा हतकडी लगाएर एक्लै उभ्याएपछि मात्र नक्कली प्रहरी भनेर छुट्याएको थियो । पक्राउ परेका नक्कली प्रहरी निरीक्षक राय विगत ९ महिना देखि वीरगञ्जमा ठगि धन्धाको सञ्जाल बुन्दै आएका थिए । देव पार्टी प्यालेसमा रुम बुक गरेर उनी ठगि धन्धाको सञ्जाल बुन्दै आएका हुन् । आफू प्रहरी निरीक्षक हुँ भनि प्रहरी सहायक निरिक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको पदमा पास गराई दिन्छु भनि २१ जना विद्यार्थीबाट ३ लाख ६१ हजार ठगि गरिसकेका छन् । बुधबार यी पदका लागि २ युवतीसहित २१ जना विद्यार्थीसँग लोक सेवा आयोगको परीक्षा लिइरहेको अवस्थामा प्रहरीले रंगेहात उनलाई पक्राउ गरेको थियो ।

अजयसँगै प्रहरीले बारा जितपुर सिमरा ५ का हिरालाल महतो, बसन्त चौधरी, वीरगञ्ज १६ नगवा निवासी एवं देव पार्टी प्यालेसका सञ्चालक रवि चौरसिया, पकाहामैनपुर गाउपालिका ५ का सबैठवाका शिव नारायण चौरसिया र वीरगञ्ज ११ रानीघाटका रामजी चौरसियालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एवं डिएपी मनोजित कुँवरले राय संगै नियन्त्रणमा लिएका ५ जनाको कुन भूमिका रहेको छ छैनबारे थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।

नक्कली प्रहरी निरीक्षक रायबाट ३ लाख ६१ हजार नगद, नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, विभागको सहायक सूचक पदकै प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान बरामद गरेको उनले बताए । उनी बसेको देव पार्टी प्यालेस नजिक रहेको ईलाका प्रहरी कार्यालय नगवामा र परवानीपुरमा रहेको प्रहरी चौकीको कार्यालयमा पुगेर त्यहाँका ईन्चार्जहरुलाई आफू प्रहरी निरीक्षक हु भनि परिचय दिदै सक्कली प्रहरीलाई समेत लामो समयदेखि झुक्याउँदै आएको थियो ।

प्रहरी हिरासतमा रहेका अजयले पकाहामैनपुर ४ का राकेश चौरसियासँग १ लाख ५० हजार, वीरगञ्ज ३२ का राजन कुमार पटेल संग ३५ हजार, वीरगञ्ज ३१ का सुनिल शर्मासँग २६ हजार, सन्तोष रामसँग २५ हजार, छिपहरमाई १ संजय साहसँग २४ हजार गरी १३ जनाबाट मात्र ३ लाख ६१ हजार ठगि गरिसकेका छन् । अन्यलाई परीक्षा समापन पश्चात रकम लिने सहमति गरेका थिए । बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा समेत ११० दिन पूर्वपक्षको लागि वीरगञ्ज कारागारमा बसीसकेका नक्कली प्रहरी निरीक्षक अजयको लाखौ ठगि गर्ने योजना पर्सा प्रहरीले असफल बनाउँन सफल भएका छन् ।

Comment


Related News

Latest News

Trending News