अपडेट 
२०७७ आश्विन १६, शुक्रबार ०९:४०

बझाङ जिल्ला मस्टा गाउँपालिका–२ बस्ने १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको आरोपमा सोहि स्थान बस्ने राजेन्द्र बोहरालाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीका अनुसार असोज १४ गते गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी बालिका घर नफर्किएकोमा खोजि गर्दै जाँदा राति ९ः०० बजे आफन्तले बालिकाको शव भेटाएर प्रहरीलाई खबर गरेका थिए । सोहि रात प्रहरीले राजेन्द्र बोहरालाई गिरफ्तार गरी जबरजस्ती करणी र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको हो । अनुसन्धानको क्रममा आरोपितले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको र घटनास्थलबाट प्रहरीले त्रिशूलसमेत बरामद गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

हत्या गरेको स्वीकार गरिसकेका बोहराले यसअघि पनि १३ वर्षीया बालिकालाई बलात्कार गरेर गल्ती भएको भन्दै ५ सय रुपियाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरेका थिए । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साउन २९ गते सोही ठाउँकी १३ वर्षीया बालिकालाई समेत बोहराले बलात्कार गरेका थिए । तर, ३१ गते आफन्तहरूसँग बसेर मिलापत्र गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काका अनुसार पहिलो बलात्कारको घटना मिलाउने ६ जनाविरुद्ध मतियार मानेर कारबाही हुनेछ । मस्टा गाउँपालिका–२ का वडाध्यक्ष शेरबहादुर खड्काका अनुसार आरोपित चोरीका विभिन्न घटनामा समेत संलग्न रहेको पाइएको छ । पीडित परिवारले दोषिमाथि कडा कारबाहीको माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News