अपडेट 
२०७७ आश्विन १६, शुक्रबार ११:३७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको बताएका छन्। यस अघि उनले आफ्नी एकजना निकट सहयोगीमा कोरोना भाइरस देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए।

उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए। साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्। मङ्गलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।

बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी थिइन्। बिहीवार राति ट्रम्पले ट्विटरमा लेखेका छन् : ‘छोटो समयको छुट्टि समेत नलिइकनै निकै खटेर काम गर्ने होप हिक्सलाई भर्खर कोभिड-१९ देखिएको छ। प्रथम महिला र म अहिले परीक्षणको नतिजा कुरिरहेका छौँ। त्यतिन्जेललाई हामीले क्वारन्टीन प्रक्रिया सुरु गर्नेछौँ।’

क्वारन्टीनले दोस्रो राष्ट्रपतीय बहसको आयोजनालाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन। दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको छ। बिहीवार राती फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र श्रीमती ट्रम्पले धेरै समय होपसँग बिताउने गरेको बताएका थिए। हिक्सले प्रायःजसो मास्क लगाउने गरेको बताउँदै ट्रम्पले भने, ‘हेरौँ के हुन्छ।’

Comment


Related News

Latest News

Trending News