अपडेट 
२०७७ आश्विन १७, शनिबार १४:२२

रौतहटको राजपुर नगरपालिका–४ स्थित शेख ईद्रिशको गोठघरमा करिब एक दर्जनका व्यक्तिको ज्यान जाने गरी भएको घटनामा संलग्न फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय बर्दी सहनी छन् ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती रौतहटको बौधीमाई नगरपालिका–७ बड्की बंगुल एरियाबाट पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा सहनीलाई पक्राउ गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा घटना हुँदाको अवस्थामा सहनी इँटाभट्टाको हेड मिस्त्री रहेको खुलेको डीआईजी सिंहले बताए । 

२०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अफताव आलम हाल जेलमा छन् ।  सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पनि अभियुक्त किटान गरिएको थियो । पक्राउ परेका सहनीले आलमको निर्देशनमा आफूले मृत्यु भएका २–३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा भट्टाको मुग्रोमा हालेको स्वीकार गरेको बयान दिएका डीआईजी सिंहले बताए ।

बम विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५–१६ जना घाइते र २–३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News