अपडेट 
२०७७ आश्विन २३, शुक्रबार ०५:५६

विश्वमा हिन्दी भाषाको संख्या पचास करोड भन्दा बढी भएको तथ्याङ्क छ । भारतको यो सरकारी कामकाजको भाषा हो । नेपालको मधेससँग जोडिएका भारतीय राज्यहरुमा हामी कहाँ जस्तै मगही, मैथिली, भोजपुरी, बज्जिका क्षेत्रिय र जातीय भाषाहरु भएकाले हिन्दीलाई नै पठन पाठनको प्रभावकारी माध्यम बनाइएको हो । मधेस र ती भारतीय राज्यहरुका भाषिक परिवार, संस्कृति, संस्कार, रहन–सहन, जाति, वर्ण र धर्म समान छन्। तसर्थ, हिन्दी भाषा बोल्ने, लेख्ने र पढ्ने मधेसको नैसर्गिक र मौलिक अधिकार भित्र पर्दछ । हाम्रो भन्दा सानो देश स्विट्जरल्याण्डमा चार प्रमुख राष्ट्रीय भाषाहरु छन् । लगभग ६५५ जनता जर्मनी मूलका छन् र तिनीहरु बसेका क्यानटन (प्रान्त) को सरकारी काम काजको भाषा जर्मनी हो । त्यसैगरी फ्रान्स, ईटली र रोम मूलका वासिन्दाका लागि तिनीहरुको प्रान्तमा क्रमशः फ्रान्सेली, इटालियन र रोमान्शलाई सरकारी भाषा बनाईएको छ। जर्मनी, स्पेनिश र अग्रेजी जस्ता भाषाहरु एक भन्दा बढी देशहरुका भाषाहरु भएर पनि ती राष्ट्रहरुको राष्ट्रियता अक्षुण्ण रहन सक्छ भने नेपालले मधेसलाई हिन्दी बोल्ने अधिकार दियो भने नेपाल खण्डित होला ? पश्चिमा देशहरुको प्रजातान्त्रिक मोडल अपनाउने, मैलिक हकहितको कुरा गर्ने, आर्दश मान्ने तर–आफ्नै देशको खास समूह, जाति, रंग र क्षेत्रको जनताको भाषिक स्वतन्त्रतालाई कुण्ठित गर्नु घोर निन्दनीय कुरा हो । अज्ञानी र स्वार्थपरायण सज्ञानीहरु पनि “मातृ भाषा“ को अपव्याख्या गरेर हिन्दीको विरोध गर्दछन्। शाब्दिक अर्थ त आमाबाट सिकेको भाषा “मातृ भाषा“ हुन्छ।

तर यो परिभाषा गलत छ। मानौ पहाडी आईमाई मधेसी पुरुषसँग बिहा गरेर मधेसमा बस्न थाले पछि उसका बच्चाहरु त मधेसको भाषा सिकलान् । अर्थात “पितृ भाषा“। त्यस्तै मधेसी महिला पहाडी पुरुषसँग बिहा गरी पहाडी समुदायमा बस्न थाले पछिको भाषा त पहाडको भाषा होला । अर्थात “पितृ भाषा“। तर्सथ यो जटिलतालाई राष्ट्रसँग आफ्नो परिभाषा द्वारा गलत साबित गरी दिएको छ। राष्ट्रसंघको अनुसार परिवार र छरछिमेकमा बच्चाले सिकेको प्रथम भाषा “मातृ भाषा“ हो। मधेससँग जोडिएका भारतीय राज्यहरुमा हिन्दीलाई पठन पाठनको माध्यम बनाउनेहरु अज्ञानी नै छन् त? हिन्दी, नेपाली, मगही, मैथिली, भोजपुरी, बज्जिका र अवधि जस्ता भाषाहरु की जननी संस्कृत हो। यो कुराको ज्ञान प्रत्येक पढे लेखेको नेपालीलाई छ। तर दुरभाग्यपूर्ण कुरो के हो भने हिन्दी बाहेक सबै नेपालका अरे ! हिन्दी बिदेशी ! भारतीय भाषा ! एउटा आमाका सन्तानहरु मध्ये एक जना बाहेक सबै नेपाली ? यस्तो समस्या त नागरिकता लिने वेलामा हुन्छ त । एउटा आमाले एक जना बाहेक अरु सन्तानहरुलाई आफ्नो नागरिकता प्रमाण पत्र दिए पछि उ एउटा बाहेक सबै नेपाली हुने काम जस्तो पो भो त


नेपाली काँग्रेसको हिन्दी भाषा राजनीति
नेपाली काँग्रेसले हिन्दीलाई सत्ता प्राप्तिको भड् याङ्ग मात्र बनाएको देखिन्छ। काँग्रेसीहरुको हिन्दी प्रतिको दृष्टिकोण राणा र राजा महेन्द्र भन्दा भिन्न पाइदैन। राणा र राजा महेन्द्रका बिरोधमा मधेसी जनताको भोट तान्न ने. काँ.ले हिन्दीलाई हतियार बनाए। स्व. वि.पी. कोइराला आफ्नो राजनीतिको प्रारम्भिक कालमा धोती र पैजामामा सज्जिएर हिन्दीमा भाषण गर्दथे र के पनि भन्थे भने नेपाल र भारत प्राविधिक रुपले मात्र दुईटा मुलुकहरु हुन्। ने.काँ. का विज्ञप्तिहरु, पर्चा, पम्पलेटहरु पनि हिन्दी भाषामा निकालिन्थे। राणा र राजाको भाषिक नीतिको बिरोधमा गान्धीवादी नेता स्व. महेन्द्र नारायण निधि ज्यू को संयोजकत्वमा २०१४ सालमा “अखिल नेपाल हिन्दी रक्षा समिति“ गठन गरिएको थियो। हिन्दी बचाउ अभियान मधेसका अन्य जिल्लाहरुमा पनि थालिएको थियो। तर निर्दोष, छलकपटरहित मधेसी जनताहरुले भाषिक रुपले ठहिएका अनुभव गरीरहेका छन्। वास्तवमा ने.काँ. को उदेश्य मधेसको वोट तान्ने, चुनाव जित्ने, राजनैतिक शक्ति प्राप्त गरी मधेसीलाई उल्लू बनाउनु मात्र थियो। वि.पी.र अन्य पहाडी नेतहरुको धोती, कुर्ता, हिन्दी विस्तारै र चालाकी पूर्वक सुरुवाल, दाउरा र नेपालीवाट विस्थापित हुदै गएको पाइन्छ। वि.पी. कोईराला र स्व. महेन्द्र नारायण निधि जस्ताका अनुयायी र सन्तानहरुले हिन्दी भाषाको विरोध गर्नु बिडम्बना हो। प्रसंग जोडौं भारतीय राष्ट्रपति महामहीम प्रणव मुखर्जी ज्यूको जनकपुरको राजकीय भ्रमणको। उनको स्वागतार्थ आएका विशाल जनसागरलाई उनले हिन्दीमा संबोधन गरी वाहवाही आर्जन गर्नु भयो ।

उनको अभिभाषण सवैले बुझे र गदगद भए। अर्को तिर नेपालका उप प्रधानमन्त्री र गान्धीवादी नेता स्व. महेन्द्र नारायण निधिका सुपुत्र बिमलेन्द्र निधि ज्यूले मैथिलीमा भाषण ठोके। ५०५ ले बुझे होलान् किनकी ५०५ जनताहरु बाहिरबाट पनि आएका थिए। त्यस पछि अंग्रेजीमा लेखिएको अनुवाद पद्नु भयो। १०५ प्रतिशत भन्दा बढीले बुझेन होलान्। त्यसमा पनि “योर एक्सलन्सी“ भन्नु पर्नेमा “हीज एक्सलन्सी“ भनेर सम्बोधन गर्नु भयो। हिन्दीमा नबोल्नुको कारण उप प्रधानमन्त्रीको पद प्रधानमन्त्रीले च्वाट गरी देला भने त्रास । तर मधेसका सचेत, स्वाभिमानी, पहिचानवादी र अधिकारवादीहरुले हिन्दीलाई स्थापित गरी छार्ने लडाई हारेका छैनन्। २०१७ सालको परिवर्तन सँगै राजा महेन्द्रको “एउटै भाषा एउटै भेष“ को नीति लागू हुन्छ। १३ वर्ष भित्र हिन्दीलाई निस्तेज बनाउने प्रयास हुन्छ। २०३० साल देखि देश भरी कडाईका साथ पाठ्यक्रमको भाषा नेपाली बनाइयो। तर मधेसीको सदिच्छालाई ख्याल गरी २०३६ सालको जनमत संग्रहका बेला सर्लाहीको मलंगवामा नेपाली राजनीतिका लौह र शिखर पुरुष स्व. गणेशमान सिंह ज्यूले हिन्दीमा अभिभाषण गर्नु भयो। गाँधीवादी नेता श्री राम हरि जोशी ज्यूहरु जस्ताले हिन्दीमा भाषण गरेको साक्षी छन् जनताहरु । २०४८ सालको आम निर्वाचनको बेला गिरिजा कोईरालालाई मलंगवामा हिन्दीमा भाषण गर्न लगाईएको कुरा धेरै रोचक छ। के.पी. भट्टराई ज्यूहरुले जनकपुरको बाह्र बिगहा र मधेसका अन्य ठाउँहरुमा हिन्दीमा संबोधन गरेका कुरा कसैसँग लुकेको छैन। तर यिनै नेपाली भाषाभाषीहरुका शाखा सन्तानहरु चुनाव जितेर राष्ट्रसभामा र प्रतिनिधि सभामा गईसके पछि हिन्दीको विरोध गर्दछन्। यति मात्र कहाँ हो र, मधेसी माननीयहरुले हिन्दी बोल्न अघोषित रोक नै छ। नेपालको प्रतिनीधि सभामा हिन्दी भाषा प्रयोग गरेकाले सिरहा जिल्लाका नेपाली काँग्रेसका सांसद गाँधीवादी नेता स्व. नथुनी सिंह दनुवार ज्यूले दोस्रो चोटीको लागि नेपाली काँग्रेसको टिकट गुमाउनु परेको हाम्रो सामु इतिहास नै छ। तसर्थ ने. काँ. विस्तारै पहडवादी र मधेस विरोधी पार्टी बन्दै गएको कुरा सहजै बुझ्न सकिन्छ।


नेपाली वाम पार्टीको हिन्दी भाषा राजनीति
नेपालका वामपंथी नेताहरु पनि शुरुमा हिन्दीको खासै विरोध गरेको पाईंदैन्। विष्णु बहादुर मानन्धर र मनमोहन अधिकारीहरुले मधेस झरेको बेला हिन्दीमा भाषण गरेका मधेसी जनता साक्षी नै छन्। वर्तमानमा डा. बाबुराम भट्टराई जस्ता बामपंथी नेताहरुले हिन्दी मधेसको भाषा हो भने कुरो भनेकै छन् र मधेशमा आएका बेला हिन्दीमा सभाहरुलाई संबोधन गरेकै छन्। भाषा सम्बधी ज्ञान भएका गोपाल ठाकुर जस्ता बामपंथी नेताहरु हिन्दी मधेसको भाषा भएको स्वीकारेका छन्। तर बहुसंख्यक पहाडी बामपंथी नेताहरु हिन्दीको बिरोध गर्नुको कारण उनीहरुको उग्रराष्ट्रवाद नै हो। हाम्रा अधिकांश मधेसी बामपंथी नेताहरु आफ्नो मालिकको डर त्रासले गर्दा हिन्दीको बिरोध गर्छन्। जे होस बामपंथीहरु पहाड केन्द्रित भएपनि हिन्दीलाई नेपाली काँग्रेस जस्तै सत्ता प्राप्तिको भड्याङ्ग बनाएका छैनन्। मधेशी जनताहरु आफूहरु ठगिएको अनुभव गर्दछन्। फलतः ने.काँ.को मधेसका किल्ला भताभूँग भइरहेको छ।


मधेसी दलहरुको हिन्दी भाषा राजनीति
हिन्दी मधेसको सान, पहिचान, स्वाभिमान र आत्म सम्मानसँग जोडिएको हो भने कुराको आडान स्व. गजेन्द्र नारायण सिंह ज्यूको थियो । उहाँ संसदमा सदैव हिन्दी नै प्रयोग गर्नु हुन्थ्यो। उहाँ सँग हिन्दी भाषा बारे समान धारण राख्ने धेरै मधेसी नेताहरु दुई नम्बरी मधेसी नेताहरु द्वारा पाखा लगाईएका छन्। मधेसी नेताहरु मधेसमा आएको बेला हिन्दी बोल्ने र काठमाण्डू जाने वितिकै नेपाली फरर बोल्ने। उनीहरुको द्वैध चरित्रले गर्दा हिन्दी मधेसको भाषा हुनमा ढिलाई भई रहेको छ । यिनीहरुका प्रदेश(२ का संसद त हिन्दी प्रयोग गर्दैनन् । हाल सालै घटेका केही राजनैतिक घटना क्रमले तथाकथित वीर, स्वाभिमानी, ज्ञानी, भनाउँदा मधेशीहरुको भण्डाफोर गरेका छन्। पहाडी भन्दा मधेसीमा कम राष्ट्रियता छैन भने कुरो देखाउन झर्रो नेपालीमा कराएर बोलनु गजेन्द्र पथ हो? घरमा र कार्यकर्तासँग सदैव हिन्दी प्रयोग गर्ने सांसदले मेरो मातृ भाषा हिन्दी होइन भन्नु कस्तो बहादुरी हो? यो घटनाहरु सरिता गिरी, अमृता अग्रहरी र रेणु यादव ज्यूले सांसदमा हिन्दीमा भाषण गरे पछिका हुन्। वास्तवमा तत्कालिन उप राष्ट्रपति परमानन्द झा ज्यूको हिन्दीमा सपथ ग्रहणले निमत्याएको विवाद देखि नै मधेसी नेताहरु त्रासित छन्। जे भए पनि पहाडले हिन्दीलाई नस्वीकारे पनि यो सम्पूर्ण मधेसको भाषा हो।


मधेसमा हिन्दीको अबस्था
हिन्दी मधेसको सबै क्षेत्र, जाति, बर्ग र समुदायको भाषा हो भने कुरा पूर्वका उदाहरणहरुले प्रष्ट पार्दछन्। मधेसले धेरै भाषाशास्त्री जन्माएका छन्, जो त्रास र स्वार्थवश मुख खोल्दैनन् । राज नेताहरु पनि यी कुराहरुबाट भिज्ञ छन् तर दासताबाट उम्कन सकेका छैनन् । गलत राजनीति र समझाईले हिन्दीलाई ओझेलमा पारेको छ। ने.काँ. र एमालेहरुले हिन्दी बिदेशी भाषा हो, मैथिली र अन्य स्वदेशी भाषा हुन् भन्ने गलत प्रचार गरीरहेकाले नासमझ र स्वार्थी कार्यकर्ताहरु पनि नेतृत्वकर्ताको होस्टेमा हैस्टे गर्ने गरेका छन्। यो प्रवृतिले हिन्दी भाषामा विभिन्न विधामा कलम चलाउने मधेसका स्रष्टाहरुलाई निराश बनाएको छ। शैक्षिक रुपले मधेस पछि पर्दै जानुमा हिन्दीको अस्वीकार्यता प्रमुख कारण हो । तर आशाको किरण विद्यमान छ। खुला दिमागले सोचौं। हिन्दी मधेसको भाषा हो। वास्तवमा भन्ने हो भने मधेसको लागि संविधान संशोधन भन्दा पनि बढी महत्वपूर्ण कुरो हो हिन्दीलाई मधेसको भाषाको रुपमा स्थापित गराउनु । लेखक ठाकुर राराब क्यामपस जनकपुरधामका अङग्रेजी विषयको सहप्राध्यापक हुन् ।

Comment


Related News

Latest News

Trending News