अपडेट 
२०७७ आश्विन २९, बिहीबार १७:३७

सप्तरी, राजविराज | आफ्नो समुदायका व्यक्तिमाथी हत्या, हिंसा, बलात्कार र हिरासतमा राखेर चरम यातनाको घटना बढ्दै गएको भन्दै बिहीबार दलित अगुवाहरुले सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् ।

दलित समुदायमाथी विगत केही महिनायता मुलुक भर हत्या, हिंसा, बलात्कार र कुटपिटको घटना बढ्दै गएको र घटनामा संलग्न दोषिहरु विभिन्न बहानामा कानुनी दायराबाट उन्मुक्ति पाउने गरेको भन्दै संयुक्र दलित संघर्ष समिति सप्तरीको अगुवाईमा उनीहरुले घटनाहरुको छानबिन र दोषिमाथी कडा कारवाहीको माँग गरेका छन् । दलितमाथीको हत्या, हिंसा बन्द गर, जातिय विभेद अन्त्य गर, दलितमाथी भएको हत्या, हिंसाका घटनाहरुको सत्यतथ्य सार्वजनिक गरलगायतका नारा अंकित प्लेकार्ड बोकेर उनीहरु स्थानिय राजरंगशालाबाट ¥याली गरेर पुनः सोही ठाउँमा पुगि बिरोध सभाको आयोजना गरेका छन् । महिलाहरुको उल्लेख्य सहभागितामा सुरु भएको बिरोध सभाका वक्ताहरुले ठूलो संख्यामा रहेको दलित समुदायलाई राजनीतिक दलले चुनावको बेलामात्र सम्झने गरेको गुनासो गर्दै हालै मुलुकको विभिन्न ठाउँमा दलित समुदायमाथी भएको हत्या, हिंसा, कुटपिट र बलात्कारका घटनाप्रति कुनै चासो नदेखाएको भन्दै आक्रोस पोखेका थिए ।

उनीहरुले दलितलाई समस्या परेको बेला साथ नदिने र चुनावको बेला भोट बैंकको रुपमा प्रयोग गर्ने नेताहरुलाई आगामी चुनावमा सबक सिकाउने चेतावनी समेत दिएका थिए । संयुक्त दलित संघर्ष समिति सप्तरीका अध्यक्ष प्रथमलाल रामको अध्यक्षता तथा पूर्वसभासद् असर्फी सदाको प्रमुख आतिथ्यमा आयोजित बिरोध सभालाई बहुजन समाज परिषद्का अध्यक्ष हरिनन्दन रन्जन, राजाराम पासवान, राजेश बिद्रोही, युक्तिलाल मरिक, तुलसी सदा, मनोज राउत लगायतका दलित अगुवाहरुले समेत सम्बोधन गर्दै दलित समुदायमाथी हालै मुलुकको विभिन्न भागमा भएको हत्या, हिंसा, बलात्कार र कुटपिटको घटनाको सत्यतथ्य छानबिन गरि दोषिमाथी कारवाही गरिनु पर्ने माँग गरेका थिए । कोरोनाको जोखिमका बीच सहभागि हुन गाउँ गाउँबाट बस र ट्याक्टर चढी ठूलो संख्यामा दलित समुदायका नरनारी कार्यक्रममा पुगेका थिए ।

Comment


Related News

Latest News

Trending News