अपडेट 
२०७७ आश्विन ३०, शुक्रबार १४:३१

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारविरुद्ध कडा कानून ल्याउने तयारीमा रहेको बताउनुभएको छ । ६५ औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एसिड आक्रमणकारीविरुद्ध कडा कानुन ल्याइससकिएको र अब बलात्कार अपराधविरुद्ध कडा कानुन बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो ।

बलात्कारजस्ता जघन्य अपराधलाई समेत मिलापत्र गराउने कार्यप्रति कडा रुपमा प्रस्तुत हुन समेत प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गर्नुभएको छ । केही दिनअघि एक कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको दाबी गर्नुभएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूह सक्रिय हुन थालेको बताउनुभएको छ । यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीलाई सूचना संकलन, विश्लेषण र फिल्ड अप्रेसनमा कतै पनि सम्झौता नगर्न गृहमन्त्री थापाले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चुनौतीसँग जुध्ने र अन्याय, अपराधलाई निर्मूल पार्ने सामर्थ्य प्रहरीमा भएको बताउनुभएको छ ।

विगतका त्यही सौर्य गाथाले भरिपूर्ण संगठन, व्यावसायिक निष्ठावान सदस्यहरूको समर्पण भावले नेपाल प्रहरीको गरिमा चुलिएको बताउँदै उनले गरिमालाई जोगाउन प्रहरी कर्मचारीले निःस्वार्थ योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News