अपडेट 
२०७७ कार्तिक ४, मंगलवार १०:३३

कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को परिक्षा छठ लगतै लिइने भएको छ ।

आइतवारसाँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो । बोर्डका अनुसार मंसिरको दोस्रो साताबाट परीक्षा लिने गरी कार्यतालिका सार्वजनिक गरिनेछ । बोर्डले कक्षा १२ को परीक्षा लिँदा कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत र १२ बाट प्रयोगात्मक २० प्रतिशतको आधारमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डले परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरेको छ । गएको मन्त्रिपरिषद्को बैठकले विधि, प्रक्रिया र पद्धति पु¥याएर सावधानीका साथ परीक्षा लिन नीतिगत स्वीकृत गरेपछि बोर्डले कार्यविधि तयार गरेको हो । मन्त्रिपरिषद्ले शिक्षा मन्त्रालयलाई नीतिगत स्वीकृति प्रदान गरेलगत्तै मन्त्रालयले बोर्डलाई परीक्षा व्यवस्थापन र सञ्चालन गर्न निर्देशन दिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिए । यस वर्षको परीक्षा १ देखि डेढ घण्टाको हुनेछ । बोर्डले ४० प्रतिशत अंकको आधारमा नयाँ प्रश्नपत्र तयार गर्नेछ । प्रश्नपत्र ढुवानी गर्न असम्भव भए इमेलमार्फत पठाउने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कुनै विषयमा ८० प्रतिशत प्रयोगात्मक हुने त कतिको २० अंकको प्रयोगात्मक परीक्षा हुने भएकाले अंकलाई आधार नमानी प्रतिशतको आधारमा परीक्षा लिने निर्णय गरेको स्पष्ट पारे । उनका अनुसार दशैंलगत्तै सम्पूर्ण प्रक्रिया पूरागरी छठपछि परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । मन्त्रालयले बोर्डलाई कार्यविधि बनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने अधिकार दिएलगत्तै बैठक बसेर परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गा अर्यालका अनुसार परीक्षा सञ्चालन गर्न स्वास्थ्य मापदण्ड र आचार निर्माण गर्ने तयारी भइरहेको छ । यस वर्षको परीक्षामा मूल्याङ्कन प्रणाली (ग्रिड) लाई निस्क्रिय पारिएको छ । अर्थात् यो पाठबाट यति अंकको प्रश्न सोध्ने, छोटो र लामो उत्तरको प्रक्रियालगायत सबै व्यवस्था हटाइएको छ ।

शिक्षामन्त्री अध्यक्ष रहेको पाठ्यक्रम मूल्याङ्कन तथा व्यवस्थापन परिषद्को बैठकले यस वर्षका लागि ग्रिड प्रणाली निस्क्रिय गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता शर्माले जानकारी र्दि । ग्रिड हटेपछि बोर्डले ४० प्रतिशत अंकभारको प्रश्नपत्र तयार गर्नेछ । सोही आधारमा परीक्षा हुनेछ । बोर्डको निर्णयलगत्तै परीक्षा सञ्चालन गर्ने प्रक्रिया शुरु भएको छ । दशैंलगत्तै सबै विद्यालयमा उत्तरपुस्तिका पु¥याउने, प्रश्नपत्र निर्माणगर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गरी सबै सरोकारवाला निकायसँग छलफल गर्नेलगायतको काम शुरु हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा लिखितरुपमै लिने जनाउँदै मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गराएपछि सोही आधारमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो । बोर्डले यस वर्षको परीक्षामा प्रवेशपत्रको आधारमा पायक पर्ने विद्यालयबाट परीक्षा दिनसक्ने व्यवस्था गरेको छ । अध्यक्ष पौडेलले प्रवेशपत्रबिना परीक्षामा उपस्थित हुन नदिने स्पष्ट पारे । बोर्डका सबै प्रदेश कार्यालयले सबै विद्यार्थीको कन्ट्याक्ट ट्रेसिङ गरी कुन विद्यार्थी कहाँ छन् भन्ने विषयमा तथ्याङ्क तयार गरिसकेको छ । मन्त्रालयले कोही पनि विद्यार्थीलाई सवारी साधनको सुविधा भएको घरपायक र परीक्षाका लागि डेरा खोज्न नपर्ने स्थानबाट परीक्षा दिने गरी व्यवस्था गर्ननिर्देशन दिएको थियो ।

Comment


Related News

Latest News

Trending News