अपडेट 
२०७७ कार्तिक ७, शुक्रबार १३:३२

पर्साको विन्दबासिनी गाउँपालिकामा झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

विन्दवासिनी गाउँपालिका वडा नम्बर २ का मुकेश चौरसियाको उपचारको क्रममा न्यूरो अस्पताल,वीरगञ्जमा आज विहान मृत्यु भएको हो । मृतक चौरसियाको शव पोष्टमार्टमका लागि वीरगञ्जकै नारायणी अस्पतालमा पठाउने तयारी भएको छ । घटनामा घाइते उत्तम तिवारीको अवस्थामा पनि गम्भीर घाइते रहेको छ । उनको शरीरमा १७ टाँका लगाइएको उपचारमा संलग्न चिकित्सकले बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विन्दावासनी गाउँपालिकास्तरीय कमिटीको सपथ ग्रहण कार्यक्रममा हिजो दुई पक्षबीच झडप भएको थियो । झडपमा ८ जना कार्यकर्ता घाइते भएका थिए । नेकपा पर्सा अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतो गरी दुई समूहमा विभाजन भएको नेकपाको कार्यकर्ताबीच सपथ ग्रहण कार्यक्रममै कुटाकुट भएको थियो ।

मृतक चौरसिया गाऊँपालिका पार्टी सचिव हुन् । झडपमा महाराज ठाकुर, रञ्जन ठाकुर, जयराम कुमार चौरसिया, राजेश कुमार लगायत घाइते भएका थिए । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । यसैबीच नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सामा पार्टीका कार्यकर्ताहरुबीच भएको झडप र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

वरिष्ठ नेता नेपालले आज एक विज्ञप्ति प्रकाशित गरि पार्टीको कार्यक्रममा योजनावद्द तरिकाले आफ्नै कार्यकर्ताको हत्या गर्ने र गराउने आपराधिक व्यक्ति वा समुहको पहिचान गरि कडा कारवाही गर्न सरकार समक्ष माग गर्नुभएको छ । उहाँले झडपमा ज्यान गुमाएका नेकपा पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको निधनप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News