अपडेट 
२०७७ कार्तिक १२, बुधबार १४:३०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै पर्साको बीरगञ्जमा बुधबार पनि प्रदर्शन जारी छ ।

पर्सामा एक साताअघि नेकपा कार्यकर्ता चौरसियाको हत्या भएको थियो । विन्दवासिनी गाउँपालिकामा नेकपाको गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा विवाद हुँदा पार्टीभित्रै दुई समूहबीच झडप भएको थियो । हिंसात्मक झडपमा स्थानीय मुकेश चौरसिया गम्भीर घाइते भएका थिए । नेकपाका पर्सा जिल्ला सदस्य एवं विन्दवासिनी गाउँपालिका पार्टी कमिटीका सचिव चौरसियाको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको थियो । उनको हत्या भएको एक साता बित्दा पनि प्रहरीले घटनाविरुद्धको जाहेरी दर्ता गर्न नमानेको परिवार र आन्दोलनकारी पक्षको दाबी छ ।

कात्तिक ६ गते वीरगन्जदेखि करिब ९ किलोमिटरको दूरीमा विन्दवासिनी गाउँपालिकामा पार्टीको गाउँपालिका एकाइ कमिटीका पदाधिकारीलाई शपथ ग्रहणका लागि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पूर्वएमाले र पूर्वमाओवादीबीच बढेको विवादले हिंसात्मक रुप लिएपछि चौरसियाको हत्या भएको प्रहरीको भनाइ छ । घटनापछि पीडित परिवारले मुकेशको हत्यामा संलग्न व्यक्तिहरुको नामै किटेर जाहेरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय पुगे पनि दर्ता गर्न नमोपछि पूर्वमाओवादी नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै आदेशमा दोषी बचाउने षड्यन्त्र भइरहेको नेकपा नेता एवं पूर्वमन्त्री मातृका यादवको आरोप छ । घटनामा संलग्न दोषीहरुको नामै किटेर पीडित परिवारले जाहेरी दिदा पनि प्रहीले जाहेरी दर्ता गर्न समेत आलटाल गर्नु सामान्य घटना नभएको नेता यादवको भनाइ छ । दोषीलाई कारवाहीको दायरामा नल्याएसम्म आन्दोलन जारी रहने नेता यादवले चेतावनी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News