अपडेट 
२०७७ कार्तिक १७, सोमबार १५:५९

कर्मचारीमा कोरोना संक्रमण भएपछि घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जले सेवा बन्द गरेको छ ।

कार्यालयकी निमित्त प्रमुख, उद्योग अधिकृत रिमा साहले सूचना जारी गर्दै सोमबारदेखि अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी दिएकी हुन् ।‘लेखापाललाई कोरोना संक्रमण पुष्टि भएको छ । अन्य कर्मचारी सबै सम्पर्कमा रहेकोले सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएको छ,’ उनले भनिन्, ‘जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरेर अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेका छौं ।’

कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीहरुको पीसीआर परीक्षण गराउने र रिपोर्टको आधारमा कार्यालय खोल्ने वा कसरी सेवा सञ्चालन गर्ने भन्ने निर्णय गरिने उनले बताइन् । कार्यालयमा निमित्त प्रमुख, उद्योग अधिकृतसहित ९ जना कर्मचारी कार्यरत छन् । परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका लेखापालको पीसीआर परीक्षण रिपोर्ट आइतबार साँझ पोजेटिभ आएको थियो ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर घरेलुले असोज १६ गतेदेखि स्थानीय तह अनुसार वर्गीकरण गरेर उद्योग दर्ता तथा नवीकरणका सेवा प्रवाह गर्दै आएको थियो । आइतबार र सोमबार वीरगञ्ज महानगरपालिका, मंगलबार र बुधबार पोखरिया, पर्सागढी र बहुदरमाई नगरपालिका, बिहीबार र शुक्रबार जिल्ला स्थित सबै गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News