अपडेट 
२०७७ कार्तिक २२, शनिबार ०८:०२

वीरगञ्ज । सीमावर्ती भारतको रक्सौल विधानसभाअन्तर्गतको तेस्रो चरणको निर्वाचन शनिबार हुने भएकाले त्यस अगावै २४ घण्टा नेपाल भारत सीमानाका बन्द गरिएको छ ।

कोरोना संक्रमणका कारण नेपालतर्फ चैतदेखि नै नाका बन्द रहे पनि अन्य नाकाबाट भारत छिर्नेहरुलाई समेत कडाइ गरिएको रक्सौलका थाना प्रबाही अभय कुमारले जानकारी दिनुभयो । चुनावलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतको बैरगनियादेखि बगहा,वाल्मीकि नगरसम्म रहेको नेपाल भारतको सीमा बन्द गरिसकिएको छ । विहार विधानसभा आम निर्वाचनको तेस्रो तथा अन्तिम चरणमा १५ जिल्लाकालागि ७८ सिटमा मतदान हुनेछ । सवै राजनीतिक दल र नेताहरुले प्रचारप्रसार रोकेका छन् । मुख्यमन्त्री नितिशकुमार, प्रतिपक्षि दलका नेता तेजस्वी यादव, रालोसपा प्रमुख उपेन्द्र कुशवाहा, लोजपा चिराग पासवान सहित अन्य नेताहरु विभिन्न चुनाव क्षेत्रहरुमा जनसभाहरुमा सहभागी भएका थिए । अन्तिम चरणमा हुने निर्वाचन क्षेत्रहरुमा आज मतदान हुदैछ । चार विधानसभा क्षेत्रमाविहान ७ बजे देखि बेलुका चार बजे सम्म र बाँकी ७४ विधानसभा क्षेत्रमा विहान सात बजे देखि बेलुका ६ बजे सम्म मतदान हुने जनाइएको छ ।

तेस्रो चरणमा ७८ सिटकालागि १२ सय ४ प्रत्याशिहरु बीच प्रतिस्पर्धा हुनेछ । यो चरणमा एक हजार ९४ पुरुष तथा एक सय १० महिला प्रत्याशी चुनावी मैदानमा छन् । यस चरणमा विधानसभा अध्यक्ष विजयकुमार चौधरी, मंत्री विजेन्द्रप्रसाद यादव, विनोदनारायण झा, रमेश ऋषिवेद, नरेन्द्रनारायण यादव, बीभा भारती, लक्ष्मेश्वर राय, खुर्शीद (फिरोज अहमद), वीआईपीका अध्यक्ष मुकेश सहनी, पूर्व मन्त्री अव्दुल जलील मस्तान, शरद यादवका छोरी सुभाषिनी यादव, पूर्व मंत्री चन्द्रशेखर, पूर्व सांसद लवली आनंद, अव्दुलबारी सिद्दिकी, शिवचंन्द्र राम, रमई राम सहित अन्य प्रमुख नेताहरुको भाग्यको फैसला हुने भएको छ । यस पटकको विहार विधानसभाको निर्वाचनमा जनताले कसलाई मुख्यमन्त्री बनाउँछ त्यो त मतपरिणामलेनै निर्धारण गर्नेछ तर, जनताहरुको झुकाव भने युवा उम्मेदवारहरुमाथि देखिएको राजनीतिक विश्लेषकहरुको भनाई छ । मुख्यमन्त्री नितिशकुमारलाई केन्द्रको राजनीति गर्नुपर्ने उनीहरुको धारणा छ । उनीहरु भन्छन्–‘ विहारमा युवाहरुलाई मौका दिनु पर्छ ।’ तर एनडिएले मुख्यमन्त्रीमा नितिशकुमार नै हुने दावी गरेका छन्।

विहार विधानसभा निर्वाचनमा तेजस्वी प्रसाद यादव र चिराग पासवानले मुख्यमन्त्रीमा आ–आफ्नो दावी ठोक्दै आएका छन् । कसैले विकासलाई मुद्दा बनाएका छन् भने कसैले सत्ता परिवर्तनको ।

Comment


Related News

Latest News

Trending News