अपडेट 
२०७७ कार्तिक २७, बिहीबार ०६:५४

अमेरिकामा डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित हुनु भएको छ। वहाँलाई हार्दिक बधाई। मध्यमवर्गीय परिवारको सदस्य जो बाइडेनको निर्वाचनमा सफलता फेरि एक पटक अमेरिकी लोकतान्त्रिक खूबीको परिचायक हो। जो बाइडेन १९७२ मा सबभन्दा पहिले डेलावेयर बाट २ ९ वर्षको उमेरमा सबभन्दा कान्छो सिनेटरको रुपमा निर्वाचित हुनुभएको थियो। अहिले वहाँ हालसम्मको सबभन्दा बूढो र अनुभवी राष्ट्रपतिको रुपमा निर्वाचित हुनु भएको छ।यो पनि कि वहाँले यसपाली प्राप्त गर्नुभएको लोकप्रियमत अहिलेसम्मको एउटा उम्मेदवारले प्राप्त गरेको रिकार्ड मत हो र यो रिकार्ड यसभन्दा पहिले पूर्व राष्ट्रपति बाराक ओबामाको थियो। राष्ट्रपति ट्रम्पले पनि बराक ओबामाको रिकार्डलाई उछिनेर दोस्रो स्थान प्राप्त गर्नु भएको छ र यसपालीको मतदान पनि रिकार्ड मतदान नै हो जसले सबभन्दा कडा प्रतिस्पर्धाको स्पष्ट प्रमाण दिन्छ।

जो बाइडेन यो पंक्ति लेखिंदासम्म ७५८०२३७१ र वर्त्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ७१३९९४३७ मत प्राप्त गर्नु भएको छ। दुबैले अन्तिम परिणाम आएपछि अझै ६८ लाख भन्दा बढीको हाराहारीमा आफ्नो खातामा लोकप्रिय मत थप्ने निश्चित छ। यसपाली अमेरिकी जनताले रिकार्ड मतदान गरेका छन्। यस निर्वाचनमा विगत १२० वर्षमा नभएको ८६५ अर्थात् १५२८००००० मत खसेको अनुमान छ। बुथमा उपस्थित नभएर अमेरिकी कानून अनुसार इमेल, अग्रिममतदान, बाहिर रहेका नागरिक र सेनाको मतदान आदिको माध्यमबाट समेत रिकार्ड र अभूतपूर्व मतदान भएको छ। यसले अमेरिकी राष्ट्पतिको चुनावलाई भविष्यमा समेत घरबाटै वा आफू रहेकै स्थानबाट मतदान गर्ने कुरामा नयाँ अभ्यासलाई त्वरण प्रदान गर्ने र उम्मेदवारहरुले अब चुनावी रणनीति बनाउँदा यस कुरालाई समेत प्रमुख अंशको रुपमा हेर्नु पर्ने भएको छ।

नागरिकहरुलाई मतदान गर्न दिने सुविधामा अमेरिकी प्रणालीको यो विशेषताको मांग अन्य मुलुकहरूमा जोडका साथ उठ्ने त निश्चित छँदैछ। कार्यरत राष्ट्रपतिलाई निर्वाचनमा परास्त गर्नु अत्यन्तै कठीन हुँदाहुँदै यस्तो चुनौती स्वीकार गरेर जो बाइडेन कार्यरत राष्ट्रपतिलाई निर्वाचनमा परास्त गर्ने राष्ट्रपति निक्सनपछिको समयमा दोस्रो हुन्। यस्तो कडा प्रतिस्पर्धामा निर्वाचित हुनुभएकोमा जोसेफ रोबिनेट बाइडेन जूनियरलाई फेरि पनि हार्दिक बधाई !


धेरै अर्थमा विशेष चुनाव
यी रिकार्ड कुराहरु भन्दा पनि अन्य अत्यन्त महत्त्वपूर्ण कुराहरुको निमित्त यसपालीको अमेरिकी राष्ट्रपतिको निर्वाचन विशेष महत्त्वपूर्ण रहेको छ। अमेरिकामा डेमोक्र्याटहरुलाई उदारवादी र रिपब्लिकनहरुलाई अनुदारवादी मानिन्छ। डेमोक्रयाट मतदाताहरु बढी जस्तो घन जनसंख्या भएका शहरहरूमा केन्द्रित छन् भने रिपब्लिकनहरु कम घनत्त्व भएका राज्यहरुमा केन्द्रित छन्। यसरी यी दुई पार्टीका राज्यहरूलाई ब्लू र रेड भनेर चिनिन्छ। केही राज्यहरुमा दुबैको प्रभाव र प्रतिस्पर्धा हुन्छ र तिनका इलेक्टोरेल मत कुनै पार्टीमा जान सक्छ त्यस्तोलाई दोलनीय अथवा स्वीङ्ग वा संघर्षका राज्यहरू भनिन्छ। यी दुबै पार्टीहरूलाई उदार र अनुदार भनिए पनि नीतिमा अहिलेसम्म खासै फरक दृष्टिकोण देखिएको थिएन। तर यसपाली यी दुबै पार्टीमा यस सन्दर्भमा ठूलो नीतिगत अन्तर देखियो। डेमोक्र्याटिक पार्टी विविधता र सबैका लागि समान न्याय र सम्मानको पक्षमा डटेर उभ्यो भने रिपब्लिकन पार्टीका उम्मेदवार नश्लीय र रंगभेद आधारित सोचलाई नेतृत्त्व गरे।

त्यसैले यो निर्वाचन अमेरिकी विविधतापूर्ण समाजको विजयको रुपमा सदैव स्मरण गरिने छ। वास्तवमा यस कडा प्रतिस्पर्धीय निर्वाचनबाट अमेरिकीहरू नश्लवादी सोचलाई मजबूतीका साथ नकारेर अमेरिकी विविधतापूर्ण समाजको विशेषतालाई पुनः जनबलले स्थापित गरेको छ। निर्वाचनले अमेरिकी समाज विभाजित रहेको सन्देश पनि दिन्छ र यसले भविष्यमा कुन दिशा लिने हो त्यो हेर्न बाँकी नै भए तापनि यो विभाजन जारी नै रह्यो भने पनि भविष्यमा समेत अमेरिकी समाज दरिलोका साथ विविधतावादी मानवीय पक्षलाई अझ स्तम्भको रुपमा खडा राख्न सक्नेमा विवाद छैन। जो बाइडेनले चुनिए लगत्तै अमेरिकी जनतालाई एकजूटताको निमित्त गर्नुभएको आह्वान यदि सफलतापूर्वक सुनियो भने यसै निर्वाचनपछि विविधतालाई सम्मानको धारणा अझ ठोस हुन जानेछ। होइन भने केही अस्थिरतापछि अमेरिकी जनता विभेदकारी सोचलाई लामो समयका लागि भिडेर परास्त गर्ने निश्चित छ ।

यसरी दुबै अवस्थामा यो निर्वाचन विशेष महत्त्वपूर्ण नै साबित हुनेछ। यस निर्वाचनको विशेष महत्त्वको एउटा अर्को अर्थ पनि छ। लोकतन्त्रमा नश्लवादी, उग्रराष्ट्रवादी, अवसरवादी गैरराजनीतिक शक्तिहरू पनि प्रवेश गर्दछन्। तर, राजनीतिक पृष्ठभूमिको नेतृत्त्वको प्रणालीप्रतिको प्रतिवद्धता र गैरराजनीतिक शक्ति वा नेतृत्त्वको लोकतन्त्र र मानवीय दृष्टिकोणमा प्रतिवद्धताको स्तरमा जमीन–आसमानको फरक हुन्छ। परिपक्वताको दृष्टिको सदैव आभाव नै रहन्छ। जो बाइडेनले जीत सुनिश्चित नभएसम्म जीतप्रति आश्वस्तता त देखाउनु भयो तर घोषणा गर्नबाट परहेज गर्नु भयो। जस्तो सुकै परिणाम आए पनि स्वीकार्ने मानसिकता र धैर्य उनमा देखियो। राष्ट्रपति ट्रम्को स्थिति भने भिन्न रह्यो।परिणाम नआउनुभन्दा पहिले नै अझ निर्वाचन हुनु भन्दा पहिलेदेखि नै निर्वाचन जीतेको घोषणाका साथै वहाँले विपरित परिणाम नस्वीकार्ने र बिरोध तथा न्यायायिक बाटो अवलम्वन गरेर अवरोध गर्ने घोषणा गर्नु भयो। निर्वाचनको परिणाम आइसकेपछि पनि पराजित हुने उम्मेदवारले निर्वाचित हुनेलाई बधाई तथा सहयोगको वचन दिने १०२देखि लगातार चलिरहेको परम्पराको समेत उल्लंघन गर्नु भएको छ। राष्टरपति ट्रम्प हस्तानतरणको अमेरिकी प्रक्रियाको चरणलाई समेत असहयोग गरिराख्नुभएको छ।

उनको आफ्नै परिवार र पार्टी यसबाट असहज महशूस गर्दैछन्।रिपब्लिकन पार्टीका कतिपय वरिष्ठ नेता, पूर्व राष्ट्रपति बुस र सिनेटरहरू जो बाइडेनलाई बधाई दिइसकेका छन् तर ट्रम्प आफ्नै अड्डीमा छन् । उता जो बाइडेनले आफ्ना समर्थकहरूलाई लोकतन्त्रको बाटो टेढोमेढो भए पनि प्रणालीले काम गरिरहेको भन्दै निर्वाचन आयोगबाट हरेक मतको सम्मानसाथ गिन्तीको प्रतिक्षा गर्न अनुरोध गर्नु भयो। जीत सुनिश्चित भएपछि त्यसको घोषणा गरिरहँदा बाइडेनले निर्वाचन सकिएपछि आ– आफूबीचको मतभेद बिर्सी सबै अमेरिकीलाई एकजूट हुन र आफू डेमोक्र्याटहरूको मात्र होइन सबैको राष्ट्रपतिको रुपमा काम गर्ने प्रतिवद्धता जनतासामु राख्नुभयो जो निश्चय नै राजनीतिक परिपक्वताको अनुकरणीय उदाहरण हो। जो बाइडेनको राजनीतिक–यात्रा ३६ वर्षको सिनेटर र ८ वर्ष बराक ओबामा जस्तो लोकप्रिय राष्ट्रपतिको उपराष्ट्रपतिको रुपमा छ। विश्व राजनीति र विदेशमामिलामा समेत उनको राम्रो पकड छ। ट्रम्प व्यापारीबाट एकैचोटी उग्रराष्ट्वादिता र नश्लवादको घोडा चढेर राजनीतिमा प्रवेश गरे। राजनीतिक परिपक्वता र अध्ययनको समेत उनको कार्यकालले आभाव नै देखायो। र त उनको अभिव्यक्ति र निर्णय परिपक्व हुन सकिरहेको छैन। अमेरिकी जनतालाई एकजूट गर्नु सट्टा वहाँ विभाजनको बाटोमा लग्ने कोशिशमा हुनुहुन्छ।

लोकतन्त्रमा यस्तो टेढोमेढो स्थिति आएपछि त्यसलाई बाटोमा ल्याउन कति कठीन हुन्छ भन्ने कुरा यस अमेरिकी निर्वाचनले विश्वसमक्ष प्रस्तुत गरेको छ। यसकालागि श्वेत, अश्वेत, हिसपैनिक सबै उदारवादीहरू एकजूट हुनु पर्यो, अहिलेसम्मको रिकार्ड मतदान र मध्यमवर्गीय काम गरी खाने ग्रामीण, साना शहरहरु एवं विशेष गरेर शहरिया मतदाताहरूको एकवद्धताको स्थिति सृजना गर्नु पर्यो।तैपनि ट्रम्प दोस्रो रिकार्ड लोकप्रिय मत पाए। यस निर्वाचनले त्यसकारण लोकतन्त्रमा मतदान गर्दा गैरराजनीतिक र अपरिपक्व शक्तिलाई समयमै रोक्नु पर्ने विशिष्ट सन्देश दुनियाँलाई दिएको छ।


सम्भाव्य परिवर्त्तनको संकेत
निर्वाचित राष्ट्रपति जो बाइडेनअनुभवी राजनीतिज्ञ हुन्। उनले इरानसंगको परमाणविक सम्झौता, नाटोसंगको सम्बन्धमा पुरानो स्थिति,वातावरण परिवर्त्तनसंग सम्बन्धित अन्तर्राष्ट्रिय सम्झौतालाई पुरानो स्थितिमा ल्याउने अठोट गरिसकेका छन्। चीन र उत्तर कोरियासंग नयाँ सन्तुलनमा काम गरिने सम्भावना छ। दक्षिणपूर्व एशिया र एशियान मुलुकहरूमा यसको खास असर निश्चय नै पर्नेछ। चीन, रुस, तुर्की जस्ता मुलुकहरु जो बाइडेनको निर्वाचनले खुशी देखिएका छैनन्। बधाईको औपचारिकतामा समेत मौनता देखिन्छ। उनीहरु ट्रम्प जस्तो बढी बोल्ने तर नीतिको मामिलामा हतार गर्ने कमजोर नेतृत्त्व आउने सोचेका थिए। बाइडेन इन्डोपैसफिक रणनीतिलाई मजबूत गर्ने कार्य गर्नेछन्। भारत, जापान, दक्षिण कोरिया, ताइवान लगायतका देशहरू बाइडेनको जीतले खुशी भएको हुनु पर्दछ। बाइडेन विविधता, मानव(अधिकार, लोकतन्त्र, धर्मनिरपेक्षता र विश्वशान्तिको निमित्त शक्तिको सन्तुलनमा चाहना राख्नु हुने हुनाले यस दिशामा राम्रो प्रगति हुने अनुमान छ।


हामीले सिक्नु पर्ने कुरा
गैरराजनीतिक शक्तिहरूको आवश्यक प्रशिक्षण प्राप्त नगरिकनै प्रवेश, तत्काल रुचाइने कुराहरु गरी जनतालाई भ्रमित गरेर सत्ता प्राप्ति लोकतन्त्रमा सबभन्दा ठूलो व्यवधान हो। एक पटक त्यसको प्रवेश भइसकेपछि त्यसबाट मुक्तिको निमित्त जनताको अथक प्रयत्नको आवश्यकता पर्दछ। यस्ता नेतृत्त्वले देश वा सम्बन्धित क्षेत्रलाई लामै समयसम्म प्रतिकूल असर पारिरहेको हुन्छ। नश्लवादी वा जातगत सोच अथवा सर्वधर्म र संस्कृतिको सम्मानको आभावले कहिले पनि हानि बाहेक लाभ प्रदान गर्न सक्दैन। लोकतन्त्र र त्यसप्रतिको प्रतिवध्धता नै समाज विकासको निमित्तको उपयुक्त बाटो हो ।

Comment


Related News

Latest News

Trending News