अपडेट 
२०७७ कार्तिक २७, बिहीबार ०७:०३

जनकपुरधाम । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले विपद् व्यवस्थापन गर्न प्रदेश २ सरकारले दश वर्षे दीर्घकालीन रणनीतिक कार्य योजना तयार पारेको बताएका छन् । २०२०–२०३० सम्ममा दीर्घकालीन रणनीतिक कार्ययोजना तयार हुने उनले बताए ।

युनिसेफको सहयोगमा लाइफ नेपालले बुधबार जनकपुरमा आयोजना गरेको कोरोना (कोभिड–१९) भाइरस तथा बाढी पूर्व तयारी र प्रतिकार्य सन्दर्भमा सम्पन्न गतिविधिहरुको समिक्षा कार्यक्रममा बोल्दै मन्त्री यादवले दीर्घकालीन रणनीतिक कार्ययोजनामा राहत र उद्धार व्यवस्थापन गर्ने मापदण्ड तयार गर्ने, विपद्को बेला तत्काल उद्धार कार्य अघि बढाउने पूर्व तयारी लगायतको विषयहरु त्यसमा समेटिएको उनले जानकारी दिए । तथ्यांकहरुका अनुसार विपद्बाट प्रदेश २ सबैभन्दा बढी प्रभावित हुने गरेको छ । जाडो याममा शीतलहर, गर्मीमा आगलागी र वर्षा याममा बाढीबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित हुने गरेको तर्क उनको थियो । हवाहुरी र चटयांङका कारण पनि प्रदेश २ मा वर्षेनी जनधनको क्षति भइरहेको उनले थपे । तीन तहको सरकार गठन भइसकेपछि केही हदसम्म विपद् व्यवस्थापनमा सहज भएको उनले दावी गरे ।

लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा मन्त्री यादवले विपद् व्यवस्थापनमा हुन लगानीको सात गुणा प्रतिफल प्राप्त हुने गरेको दावी उनले गरे । विपद् व्यवस्थापनमा एक रुपैयाँ लगाउनुस्, उनले भने–सात रुपैयाँको बचत गर्छ ।’ सम्भावित विपद्को ख्याल गरेर विकास निर्माणको काम अघि बढाउनुपर्नेमा उनले जोड दिए । विपद्को सूक्ष्म अध्ययन गरेर विकास निर्माणको कार्य अगाडी बढाउनुपर्ने तर्क उनको थियो । शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले जिल्लाको सबैभन्दा बढी प्रभावित हुने पालिकामध्ये एक शहीदनगरमा विपद् व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । वर्षा याममा शहीदनगर नगरपालिकामा बाढीको बढी जोखिम हुने गरेको छ, उनले भने–‘बाढीको जोखिमबाट बच्ने उपाय र आवश्यक सावधानी अपनाइएको छ ।’ नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति रामनरेश प्रसाद सिंहले तीन तहको सरकार गठन भएपछि विपद् व्यवस्थापन सहज बनेको दावी गरे । नेपाल रेडक्रस सोसाइटीको व्यवस्थानमा समस्या भइरहदा हाल गठित तीन तहको सरकारले पनि सहयोग गरेको उनले थपे ।

विपद् व्यवस्थापनमा सहयोगी हातहरु अगाडी आउँदा सहज भएको सभापति सिंहले जनाए । विपद् व्यवस्थापन गर्नको लागि लाइफ नेपालले उपलब्ध गराएको उद्धार समाग्रीहरु उपयोगि साबित हुने प्रमुख बरबरियाले बताए । लाइफ नेपालले उपलब्ध गराएको रबर बोट, ट्युब, लाइफ ज्याकेट, साइरन, हेलमेट लगायतको समाग्री आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले नगर प्रमुख यादवलाई हस्तान्तरण गरेका थिए । बाढी पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रम धनुषा र रौतहट जिल्लाको दुई÷दुई पालिकामा संचालन गरिएको थियो । बाढीबाट सबैभन्दा बढी प्रभावित हुने पालिकाहरुमा उद्धार समाग्री लगायत पूर्वअभ्यास कार्यक्रमहरु समेत संचालन गरिएको लाइफ नेपालका अध्यक्ष ठाकुरले जनाए । धनुषाको जनकनन्दनी गाउँपालिका र शहीदनगर नगरपालिका तथा रौतहटको इशनाथ नगरपालिका र राजपुर नगरपालिकामा कार्यक्रम संचालन गरिएको छ । यसअघि कोभिड–१९ को संक्रमण न्युनिकरण गर्न जारी गरिएको स्वास्थ्य सुरक्षा सम्बन्धी आचारसंहिता पालना गर्न पर्चापम्पलेट, माइकिङ, रेडियो कार्यक्रमहरु संचालन गरिएको लाइफ नेपालका टिम लिडर मेघराज मगरले बताए । प्रदेश २ का विभिन्न जिल्लाहरुमा व्यापक प्रचार प्रसार गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको थियो ।

प्रदेश सरकारको अभियानमा लाइफ नेपालले गरेको सहयोगको प्रशंसा गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले धन्यवाद ज्ञापन समेत गरे । कोभिड–१९ न्युनिकरण गर्न प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको उनले बताए । कार्यक्रम संयोजक संजिव महतो र लाइफ नेपालका सूचना व्यवस्थापन अधिकृत प्रकाश शर्माले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News