अपडेट 
२०७७ मंसिर ३, बुधबार ०७:४७

नेपालको मौलिक पबनीको रुपमा छठ रहेको छ । यस पबनीको प्रादुर्भाव रौतहटको समनपुरमा भएको हो भन्ने कुरो विभिन्न तथ्य र कथ्यले देखिन आउँछ । छठ पबनीको प्रचलन महाभारतकालीन समयबाट भएको हो भन्नेमा धेरैको मत रहेको छ । हुन त कतिपयले यसलाई शास्त्रीय पबनी हो भन्ने प्रमाणित गर्न पनि नखोजेका होइनन् । तर यसरी यस लोकपर्वलाई शास्त्रीय पर्व बनाउन विभिन्न शास्त्रहरुको तथ्य प्रस्तुत गर्ने क्रममा सूर्यपूजालाई नै छठ पूजाको संज्ञा दिन पुग्छन् । सूर्यपूजा त हाम्रो संस्कार र संस्कृति हो । अधिकांश शाकाहारी पूजा हुने लोकदेवदेवीको पूजामा तथा धेरै यज्ञहरुमा सूर्यको पूजा हुँदै आएको छ । कुनै पनि पूजालाई छठ मानिएको पाइँदैन ।

फेरि शास्त्रीय पर्वमा पण्डितको आवश्यकता पर्ने तथा विभिन्न किसिमका संस्कृत मन्त्रहरु वाचन गर्ने परम्परा लोकपर्व छठमा रहेको पाइँदैन । यदि कसैले छठ पर्वमा यस प्रकारको विधि वा व्यवहार थप्छन् भने सूर्यको मन्त्र नै पढ्दछन् । फेरि पनि सूर्यपुराण समेतमा सूर्यपूजालाई कतै छठ पबनी भनेको पाइएको कतै उल्लेख भेटिँदैन । अझ राम्ररी हेर्ने हो भने सूर्यपूजा नगरिएको कुनै पूजा नै हुँदैन र जहाँसम्म सूर्यलाई अर्घ दिने प्रचलनको सबाल हो, अधिकांश पूजा तथा व्रतहरुमा सूर्यलाई कुनै न कुनै रुपले जलार्पण वा अन्य सामग्रीको अर्घ दिइएको पाइन्छ । विभिन्न लोकदेवदेवीको पूजामा त सूर्यलाई विशेष अर्घ नै दिइन्छ तर छठ पबनी भनिएको पाइन्न । यसबाट यो स्पष्ट हुन्छ कि सूर्यपूजा मधेसी लोकजीवनको एउटा अभिन्न अंग हो र सूर्यपूजाबिना अधिकांश पबनी वा पर्व पूर्ण भएको मानिँदैन । हरेक पर्वमा सूर्यको पूजा हुन्छ नै । यसरी सूर्यपूजा पनि छठ पबनीको विशेष अंग हो । छठ पबनीमा सूर्यपूजा हुन्छ र सूर्यपूजाबिना छठ पबनी हुँदैन, कल्पना पनि गर्न सकिँदैन । यसको अर्थ यो होइन कि सूर्यपूजा नै छठ पबनी हो ।

छठ पबनीमा सूर्य पनि पनि गरिन्छ नै, यही भएर कतिपयले सूर्यपूजा र छठ पबनी पर्यायवाची हो भन्ने बनाउन वा पार्न खोजेका छन् । वास्तवमा सूर्यपूजाको समयभन्दा छठीमाईको पूजा यस पर्वमा पनि प्रधान हुन्छ । छठ पबनी अहिले झन्डै विश्वव्यापी मनाइन थालिएको छ । केही दशक पहिलेसम्म तराई मधेसको लोकल पबनीको रुपमा रहेको छठ अहिले देशको संघीय राजधानीदेखि अन्य ठूला सहरसम्म, हिमाली क्षेत्रसम्म पनि मनाइन थालिएको छ भने भारतको करिब सम्पूर्ण प्रान्तसम्म धुमधामका साथ मनाइन थालिएको छ । यसै गरी सबै महादेशमा पनि छठ पबनी मनाइन थालिएको छ । केही हप्ता पहिले अमेरिकाको स्थायी निबासी भइसकेका तराई मधेसकै एक जनाले साहित्यसम्बन्धी भर्चुअल कार्यक्रममा आफ्नो पृष्ठभूमिमा बारीमा तरकारी फलेको देखाएका थिए र तरकारीबारे चर्चा गर्दा तिनले छठ पबनीको लागि बारीमा उखु नै रोपेको लाइभ देखाएका थिए । यसै गरी छठ पबनीमा काम लाग्ने विभिन्न सामग्री आफ्नो बारीमा उब्जाएको र धेरै व्रतालुहरुले यसै गरी जोहो गर्ने गरेको पनि स्पष्ट पारेका थिए ।

यसबाट यो पनि स्पष्ट हुन आएको थियो कि यस क्षेत्रबाट जो जहाँ र जसरी पुगेका छन्, आफ्नो संस्कृति लिएर पनि पुगेका रहेछन् । छठ पबनी जस्ता अन्य हाम्रो संस्कृतिका विभिन्न पर्वहरु मान्नेहरुको बिचमा एउटा आत्मीयता, एउटा विश्वास, पारस्परिक सहयोग तथा हार्दिक सम्बन्धको विस्तार भइसकेको रहेछ । जहाँ पुगेका छन्, त्यहीँ सीमित परिवेशमा भए पनि हर्षोल्लासका साथ पर्वलाई मनाउने र मान्ने गरेका छन् । छठ पबनीप्रति गज्जबको गर्व तथा गज्जबको आकर्षण रहेको छ । यसैले यसलाई मधेसी समुदायको मात्र हिन्दूको पबनीको रुपमा नलिई अन्य धार्मिक समुदायको पबनीको साथै विस्तारै विश्व समुदायको पर्व बन्दै गएको भनिन थालिएको छ । यसै सन्दर्भमा यसलाई लोकल पबनीका साथै अन्तर्राष्ट्रियस्तरको पबनी पनि मान्नु पर्ने तर्कहरु आउन थालेका छन् । धेरै हदसम्म यो सही हो पनि किनभने जब एक देशबाट अर्को देशमा कुनै कुराको विस्तार हुन्छ भने अहिले द्विदेशीय भन्नुभन्दा अन्तर्राष्ट्रिय भनिन तथा मानिन थालिएको छ ।

यस अर्थ र सन्दर्भमा छठ पबनीको स्वरुप पनि अन्तर्राष्ट्रिय हुन पुगेको छ । यो पर्व अब एक महादेशमा मात्र सीमित रहेको छैन, धेरै महादेशमा यसले आफ्नो विस्तार गरिसकेको छ । जब देशको सीमा नाघेर महादेशको पनि सीमा नाघ्न पुगेको छ भने यसलाई अन्तर्राष्ट्रिय पर्व मान्नुमा हामीले गर्व गर्नु पर्छ । आस्था र श्रद्धाको महापर्व लोकपर्व छठको विस्तार विश्वव्यापी भइसकेको छ र यसको विस्तार अझ पनि भइरहने छ भन्ने कुरामा दुई मत छैन । छठको विस्तार हुनुमा यसको स्वरुप र यस पर्वलाई मान्नेहरुको विस्तार हुनु प्रमुख कारण हो । छठ पबनी मान्नेहरुको मुख्य बसोबास क्षेत्र नेपालको मध्य तराई तथा बिहारको उत्तरी क्षेत्र हो । केही दशक पहिलेसम्म यस क्षेत्रमा नै सीमित यो पर्व मान्ने क्षेत्रका बसिन्दाहरु भने रोजगारीको सिलसिलामा जहाँ जहाँ बसाईँ सरे, त्यहाँ त्यहाँ यस पबनीलाई पनि लिँदै गए । शारीरिक तथा बौद्धिक दुवै किसिमको श्रम गर्ने मानिसहरु धेरै मात्रामा यस क्षेत्रबाट विश्वभर पलायन भएका छन् । पलायन भएर अस्थायी वा स्थायी जसरी बसोबास गर्दछन्, त्यहाँ यदि बालबच्चालाई लिएर पुगेका छन् भने छठ पबनी नगरी सुख छैन ।

छठ पबनी मान्ने क्षेत्रबाट डायस्पोरा भएकाहरुले त्यहाँको वातावरणमा छठ पबनी गरेको रमाइलो वातावरण नपाउँदा जब कात्तिक महिना आउँछ तब उसको मनमा आफू नै व्रत गरुँ कि भन्ने भइहाल्छ र पबनी गर्न सुरु गरिहाल्छन् । हो छठ पबनी यहाँ र यस क्षेत्रका बासिन्दाको मन, मस्तिष्क तथा रगतमा पनि पसिसकेको छ । जब छठ आउँछ तब स्वाभाविक रुपमा सम्पूर्ण वातावरण नै छठमय भइहाल्छ । छठमय वातावरणको डायस्पोरिकता परदेशमा सजिलै देखिन्छ । हो, छठ पबनी नमान्ने समुदायका मानिस तर छठ पबनी हुने भौगोलिक परिवेशमा लामो समय रहेर जब अन्यत्र जान्छन् तब तिनीहरुको पनि मानसपटलमा छठ आउन थाल्दछ र छठ मान्ने समुदाय तर त्यहाँ छठ नमानिरहेकाहरुलाई प्रत्यक्ष वा परोक्ष प्रेरणा दिन थाल्छन् छठ बारे जिज्ञासाहरु पस्केर । यसले गर्दा छठको विस्तार हुनमा अप्रत्यक्ष भूमिका रहेको छ । अर्को कारण जुन माथि भनिसकिएको छ कि यसको स्वरुप पनि हो । यसको स्वरुप भन्नुको तात्पर्य स्थानीयकरण हो । छठ पबनीको लागि धेरै महँगा वा धेरै आयातित वस्तुको आवश्यकता पर्दैन । यो निसन्देह कृषिमा आधारित पर्व हो । विश्वभर जहाँ पनि धान र गहुँ पाइन्छन् ।

धान र गहुँका साथै मूला, केराजस्ता फलफूलले यो पबनी मनाइने हुनाले हरेक ठाउँको कृषि उपज यस पर्वका लागि उपयुक्त हुन आउँछ । सामग्रीको उपलब्धता हुने तथा धेरै तामझाम नगर्दा पनि हुने भएकोले सामान्यभन्दा सामान्य परिवार र धेरै सम्पन्नभन्दा पनि सम्पन्न परिवारले समेत यस पबनीलाई मान्ने गरेका छन् । यसपछि यो पनि देखिएको छ कि जहाँ कुनै परिवारले केही वर्ष लगातार छठ पबनीको व्रत गर्दछ र उसको छिमेकीले यो व्रत गर्दैन तर केही वर्ष लगातार सहानुभूतिपूर्वक हेर्दछ, त्यो हेर्ने परिवारले अन्यत्र सकारात्मक व्याख्या गर्दै अरुलाई पनि छठ पबनी गर्न उत्प्रेरणा प्रदान गर्दछ र आफू पनि पबनी गर्न सुरु गरिदिन्छ । यही कारणले एक दियोबाट अर्को दियो सल्काउँदै जगमग ज्योति गर्नेजस्तै यो पबनीको विस्तार हुँदै गएको छ । आजको आधुनिक युगमा हाम्रा कतिपय पर्वले आफ्नो अस्तित्व जोगाउन पनि कठिन भइरहेको बेलामा छठ पबनीको निरन्तर विस्तार हुनु सुखद पक्ष हो । यस पर्वले जुन रुपमा आर्थिक संस्कार लिइसकेको छ अर्थात् जसरी अर्थतन्त्रसित नाता गाँसिसकेको छ यसले गर्दा यो पर्व लोप हुने खतराको घेराभन्दा केही अलग भइसकेको छ ।

यसै गरी यस पर्वले समाजलाई पनि जोड्दै गएको छ । उदाहरणको लागि छठ पबनीको समयमा धेरै नेता, निर्वाचित प्रतिनिधि तथा संघसंस्थाहरुले छठ पबनी गर्ने व्रतालुहरुलाई विभिन्न किसिमका सामग्रीका साथै कपडा नै दिने गरेका छन् । कतिपय अशक्त परिवारलाई छठ पबनीको समयमा खाद्य सामग्री सहयोग पनि प्राप्त हुन्छ । यसरी छठ पबनीले नितान्त निर्धनलाई केही धन प्रदान गर्न सुरु गरिसकेको छ । अन्न, वस्त्र तथा अन्य सामग्रीसित नाता गाँसिँदै गएपछि स्वाभाविक रुपमा छठ पबनी नगर्ने अति विपन्न परिवारले पनि यत्तिका सामग्री पाउने कारणले पनि छठ पबनी गर्न थाल्दछन् । यहाँ सामान पाउनका लागि मात्र छठ पबनी गर्छन् भन्ने अर्थ कदापि नलगाइयोस् तर छठ पबनी गर्दा मिठो मसिनो खानुपर्ने तथा सम्भव भएसम्म नयाँ वस्त्र लगाउनु पर्ने मान्यता बसिसकेको छ र यत्तिका कुरा जोर्न नसक्ने परिवारले म कसरी व्रत गर्छु भन्ने चिन्ता हट्दै गएपछि व्रत गर्नेका संख्यामा पनि वृद्धि हुदै जानुलाई अस्वाभाविक पनि मान्न सकिँदैन । केही हदसम्म यस प्रकारको प्रवृत्ति देश वा विदेशमा पनि रहेको पाइन्छ । छठ पबनीको लागि सहयोग गर्ने हातहरु हरेक वर्ष बढिरहेका छन् ।

यस प्रवृत्तिको समेत छठ पबनीको विस्तारमा केही भूमिका रहेको मान्न सकिन्छ । छठ पबनीको आन्तरिक तथा बाह्य विस्तारले एकातिर यसको जरोलाई बलियो बनाइरहेको छ भने अर्कोतिर यसप्रतिको चासो र अनुसन्धान गर्ने पक्षतिर बौद्धिक वर्गको ध्यान गइरहेको छ । छठको आलोकमा अब आफ्नो संस्कृतिको मूल्यांकन पनि गरिन थालिएको छ । छठ पबनीको विस्तारले मधेसी संस्कृतिको महत्व उच्च रहेको समेत स्वतः सिद्ध गरेको छ ।

Comment


Related News

Latest News

Trending News