आज विश्व शौचालय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शौचालय वा सरसफाइको अभावले मानिसको जीवनयापनमा पुर्याउने असरमा केन्द्रित गर्दै यो दिवस मनाउने गरिन्छ।
विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । नेपाललाई २०७६ असोज १३ गते खुला दिसा मुक्त देश घोषणा गरिएको छ। नेपाललाई सन् २०१७ सम्म खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइए पनि ढिला गरी गत वर्ष खुला दिशा मुक्त घोषणा गरिएको हो । तर अझै पनि नेपालमा धेरै मानिस शौचालयको पहुँच बाहिर छन् ।
सरोकारवालाहरु फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालय सबैको पहुँचमा पुर्याउन सके मात्र खुला दिसा मुक्त अभियानले सार्थकता पाउने बताउँदै आएका छन् । पछिल्लो समय बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढिरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौं नागरिकको मृत्यु हुने गरेको छ । घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रित गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिँदै आएको छ ।



