अपडेट 
२०७७ मंसिर ९, मंगलवार ०७:२९

विभिन्न माग लिएर जानकी मेडिकल कलेजका कर्मचारीले थालेको आमरण अनसनमा जनता समाजवादी पार्टीका नेताहरुले समर्थन जनाएका छन् ।

जनता समाजवादी पार्टी प्रदेश २ का संसदीय दलका उपनेता रामअशिष यादवको नेतृत्वमा सोमबार बिहान गएका नेताहरुले आमरन अनसनमा रहेका कर्मचारीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत सुरक्षा विभागका कर्मचारी जानकी शरण यादव र इमर्जेन्सी विभागमा कार्यरत कुलदीप साहले आमरण अनसन थालेको सोमबार २३ दिन भएको छ । गएको कात्तिक १६ गतेदेखि दुवै जना रमदैयास्थित जानकी मेडिकल कलेजमा आमरन अनसन बसेका थिए । स्वास्थ्य अवस्था खराब हुँदै गएपछि प्रशासनले दुवै जनालाई गएको कात्र्तिक २७ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको थियो । उपचारार्थ दुवै जनाले अस्पतालमा पनि आमरण अनसनलाई निरन्तरता दिएका छन् । सहकर्मी कर्मचारीमाथि कलेज प्रशासनले गरेको कारबाही फिर्ता लिनुपर्ने, ८ महिनादेखि बाँकी पारिश्रमिक, दसैँ खर्च र ६ वर्षको संचय कोषको हरहिसाब दिनुपर्ने लगायतको मागसहित दुवै जना अनशनमा बसेका छन् । कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय प्रशासनसित पहलको लागि जसपाका नेताहरुले आग्रह गरेका छन् । स्वास्थ्य अवस्था बिग्रिदै गएपनि कुनै पक्षले माग सम्बोधन गराउन पहलकदमी गरेको छैन, जसपाका प्रदेश सदस्य शेषनारायण यादवले भने–‘उनीहरुको माग तत्काल सम्बोधन हुनुपर्छ ।’ कर्मचारीहरुको आमरण अनसनप्रति राज्य उदासिन बनेको उनले आरोप लगाए ।

जानकी मेडिकल कलेज व्यवस्थापनलाई तत्काल वार्ताको लागि बोलाउनुपर्ने तर्क उनको थियो । लामो समयसम्म अनशन बसेर स्वास्थ्य अवस्था खराब हुँदासमेत कलेज व्यवस्थापन पक्ष माग पुरा गर्न चासो नदेखाएकोमा जसपा धनुषाका अध्यक्ष पशुपति यादवले दुख व्यक्त गरे । कर्मचारीहरु झण्डै दुई महिनादेखि हरहिसाब माग गर्दै ओपीडी र प्रशासनिक सेवा बन्द गरी धर्ना दिएका थिए ।

भदौ ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा कलेज व्यवस्थापक र आन्दोलनरत कर्मचारीबीच असोज ४ गते भित्र लेखापाल राखेर हर हिसाब गर्ने, असोज ३० गतेसम्म दसैँ खर्च, संचय कोष र पारिश्रमिकलगायतका सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति भएको थियो । सहमति पश्चात कर्मचारी काममा फर्किदा व्यवस्थापन पक्षले केही कर्मचारीलाई स्पष्टीकरण र कारबाहीको पत्र थमाएपछि पुनः आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प गरी आन्दोलित भएका छन् । जसपाका प्रदेश सदस्य विजय भगत, जिल्ला उपाध्यक्ष अम्बु साह, सचिव घनश्याम यादव लगायतका नेताहरु अस्पताल पुगेका थिए ।

Comment


Related News

Latest News

Trending News