भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतबीचको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
एशियन इनष्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा श्रृंगलाले नेपाल–भारत सम्बन्ध दुवै देशका जनताको हितमा रहेको भन्दै राष्ट्रिय सपना पूरा गर्न पनि नेपाल र भारतबीचको सहकार्य आवश्यक रहेको बताउनुभएको हो । उहाले भारतलाई मध्य आर्थिक आर्जन गर्ने मुलुकका रूपमा पु¥याउने सपना देखेको र नेपालको पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य रहेको जनाउँदै उहाले नेपाल र भारतलाई एकअर्काको आवश्यकता पर्नेमा जोड दिनुभयो ।
श्रृंगलाले सरकारको नेतृत्वमा आएदेखि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेक सम्बन्धलाई पहिलो प्राथमिकता दिएको जिकिर गर्नुभयो । भारतका विभिन्न कम्पनी कोरोनाको खोप उत्पादनमा लागिरहेको भन्दै श्रृंगलाले छिमेकी भएका नाताले नेपालको आवश्यकतालाई प्राथमिकता दिने उहाले बताउनुभयो । उहाले जलविद्युत् क्षेत्रले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने पनि धारणा राख्नुभयो ।
श्रृंगलाले नेपालको पूर्वाधार बिकासमा भारतले सदैव सहयोग गर्ने जानकारी पनि दिनुभयो । बिहीबार नेपाल आएको श्रृंगला नेतृत्वको टोली र नेपाली टोलीबीच बिहीबार नै दुईपक्षित छलफल भएको थियो ।


