अपडेट 
२०७७ मंसिर १६, मंगलवार ०७:५१

‘विद्यापतिक आयू अवसान, कातिक धवल त्रयोदशि जान ।’ मैथिलीका महाकवि विद्यापतिको जन्मतिथि जस्तै मृत्युतिथिबारेपनि विवाद छ । तर उपर्युक्त पंक्तिको आधारमा उनको जन्म कार्तिक धवल अर्थात् शुक्ल त्रयोदशि मानिन्छ । यसदिन नेपाल, भारत तथा र विश्वका विभिन्न भागमा रहेका मैथिलीभाषाप्रति अनुराग राख्नेहरु उनको स्मृति दिवस मनाउने गर्छन् । यस वर्ष यो दिवस मंसीर १३ गते परेको थियो । राजधानी काठमाँडौँ र तराई मधेशका कयौँ ठाउँमा विद्यापति दिवस मनाइएको खवर छ ।

चौँधौ–पन्द्रौँ शताब्दीका विद्यापतिको महत्ता केमा छ भने जतिवेला उनले मैथिलीमा हजारभन्दामाथी गीत पदावलीको रचना गरिरहेका थिए, त्यतिबेला कयौँ आधुनिक आर्यभाषाहरुले आकार नै ग्रहण गरिरहेका थिए । अहिले दक्षिण एसियामा सबैभन्दा शक्तिशाली भाषाको रुपमा स्थापित हिन्दी र हाम्रो देशको सरकारी कामकाजको भाषा नेपालीलाई उदाहरणको रुपमा प्रस्तुत गर्नसकिन्छ । नेपालीको सबैभन्दा पुरानो लेखत ईसासम्वत १ हजारको छेउछाउमा दैलेखको दुल्लुस्तम्भमा मानिन्छ भने हिन्दीको वर्तमानस्वरुप अधिकतम २५० वर्षदेखी उर्दू (देहलवी), खडीबोली र हरियाणवीबाट विकसित भएको मानिन्छ । यद्यपि हिन्दीले आफ्नो इतिहासलाई पुरानो बनाउन मैथिली, भोजपुरी, अवधी, सौरसैनी लगायत उत्तरी भारतका प्रायः सबै मातृभाषाहरुलाई हिन्दीको पुरानो रुपभन्छ र सबैलाई आफूमा सामेल गरेको छ । मैथिलीका विद्यापति होउन वा भोजपुरीका कबिरदास, अथवा अवधीका तुलसीदास सबैलाई हिन्दीको कविको रुपमा प्रस्तुत गरिएको छ । हिन्दीका विद्वान र समालोचकहरुको यस चतु¥याँईको कारण विद्यापति हिन्दीका आदिकालका कवि मानिएपनि उनको भाषा मैथिली अहिलेपनि भारतमा राष्ट्रियस्तरमा पहिचान स्थापित गर्न संघर्ष गरिरहेकै छ ।

आधुनिक भारतमा सन् १९५२देखीको निरन्तर भाषिक आन्दोलनपछि बल्लतल्ल दुईवर्ष पहिले सरकारको सुचिमा आफूलाई सामेल गर्न सफल भएको छ । यद्यपि अखिलभारत स्तरमा आफूलाई स्थापित गराउन त्यहाँ मैथिलीले अझै लामो बाटो तय गर्न बाँकी नै देखिन्छ । नेपालमा पनि मैथिलीको स्थिति भारतको भन्दा खासै भिन्न छैन । यहाँ भारतको भन्दा भिन्नता के छ भने मैथिली नेपालमा सबैभन्दा बढी बोलिने भाषामध्ये दोस्रो भाषा हो । र यो सम्वैधानिकरुपमा साबित भएको स्थिति हो । तर नेपाली राजनीतिमा भारतीय राजनीतिको अनुकरणात्मकता नै भन्नु पर्छ कि यहाँपनि मैथिलीभाषाको एउटा सशक्त प्रतिस्पर्धी हिन्दी छ । नेपालीभाषा नेपालको पारम्परिक शासकवर्गको भाषा भएको हुनाले यस्को अन्य मातृभाषासंगै मैथिलीको प्रतिस्पर्धा त छँदैछ,, तर नेपालको राजनीतिमा एउटा राजनीतिक दलविशेष जसरी हिन्दीलाई पूर्वाग्रहपूर्ण ढङ्गले अगाडी सारी रहेको छ र यसलाई आफ्नो विशेष परिचयको रुपमा प्रस्तुत गरिरहेको छ, त्यसले तराई मधेशका मैथिली लगायत अन्य मातृभाषाहरु दोहोरो मोर्चामा लड्नुपर्ने देखिन्छ । यसो किन भनिएको हो भने तराई मधेशका मूख्य तीन मातृभाषा मैथिली, भोजपुरी र अवधी र यी तीनै क्षेत्रमा बोलिने थारु र दोनवारभाषाहरु अन्य मातृभाषीहरुले राम्ररी बोल्न नसकेपनि नब्बेप्रतिशतसम्म एक अर्काका भाषा बुझ्छन् ।

यस्तो न भएको भए विद्यापतिका गीतहरु भोजपुरीमापनि गाइने थिएन र भोजपुरी र अवधिका गीतहरु मैथिलीमा गाइने थिएन । अवधी भाषाको प्रसिद्ध फिल्म नदियाको पारको भाषाका गीतहरु मैथिलीभाषी क्षेत्रको सुदूर ग्रामीणक्षेत्रमा लोकप्रिय हुनुलेपनि यो साबित हुन्छ । तर यति हुँदाहुँदैपनि तराई मधेशलाई केन्द्र बनाएर राजनीति गर्ने राजनीतिक दलहरु (अहिले प्रायः अधिकांश जनता समाजवादी पार्टीमा सामेल छन्)ले राजनीतिक भाषा गर्दा अथवा भाषा प्रोत्साहनको कुरा आउँदा हिन्दीलाई प्राथमिकता दिने गर्छन् । हद् त त्यतिबेला हुन्छ, जब मैथिलीभाषी क्षेत्रमा मैथिलीभाषी नेताले भाषण गर्दा हिन्दीभाषामा बोल्ने गर्छ । प्राचीनता र इतिहासमा हिन्दी र नेपालीभाषा भन्दा मैथिली र भोजपुरी लगायतका मातृभाषाहरु अगाडी रहेपनि शासकीय उपेक्षा नै हो, जस्ले गर्दा यी भाषाहरु पछाडी परेका हुन् । यो शासकीय अवसर, मौद्रिक लाभ र राजकीय सम्मानको लोभ नै हो कि हिन्दी विश्वभाषाको रुपमा स्थापित हुने बाटोमा छ । होइन भने आचार्य रामचन्द्र शुक्ल, हजारीप्रसाद द्विवेदी होउन, अथवा मुक्तिबोध, अज्ञेय, दिनकर, निराला अथवा निर्मल वर्मा अथवा रामवृक्ष वेणीपुरी ; सबै विद्वानहरुमा कोही मैथिली, कोही अवधी, कोही भोजपुरी र कोही राजस्थानी मातृभाषीहरु थिए ।

मैथिलीको यात्रीलाई कतिले चिन्छ को मातृभाषा नेवारी र वैरागी काँइलाको मातृभाषा किराँती हो, भनेर कस्ले भन्ने कतिलाई थाहा छ ? यी विभिन्न मातृभाषी कवि र कथाकारहरु नेपालीमै लेख्न किन आकर्षित भए ? जवाफ एउटै छ, शासकीय निकटताको लोभ । मातृभाषालाई विकसित गराउन र शासकहरुको भाषाको समतुल्य बनाउन अनेक जोखिम छ, राजकीय कोपभाजनको खतरा छ र यस्को विपरीत शासकीय भाषाको सेवाले आर्थिक समृद्धि दिन्छ, प्रसिद्धि दिन्छ र सम्मान दिन्छ । प्रसिद्ध माक्र्सवादी आलोचक एन्तोनियो ग्राम्सीले यसलाई साँस्कृतिक वर्चस्व (कल्चरल हेजेमोनी) भनेका छन् । यी शासकीय कृपाका आकांक्षी विद्वान समुदाय शासकको साँस्कृतिक सेना हो, जस्ले शासनलाई औचित्य प्रदान गर्छ । शासनसंगको प्रतिस्पर्धामा मैथिली लगायत मातृभाषाहरु पछिपर्नुको एउटा चुनौती यो पनि हो । देशमा संघीय गणतन्त्रको स्थापनापछि मैथिली लगायतका मातृभाषाहरुले राष्ट्रिय परिदृश्यमा हैसियत र क्षमताअनुसारको अवसर र प्रोत्साहन पाउने अपेक्षा थियो । धेरथोर सम्विधानलेपनि यस्तो सकारात्मक अवस्था सिर्जना गरेको छ ।

तर राजनैतिक दाउपेचमा परेर मैथिली लगायत मातृभाषाहरुले अझै संघर्ष गर्नुपर्ने देखिन्छ । नेपाली सम्विधानले केन्द्रको सरकारी कामकाजको भाषा नेपाली अतिरिक्त प्रदेशमा बोलिने सबैभन्दा बढी बोलिने भाषामध्य आवश्यकतानुसारका मातृभाषाहरुलाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिनुपर्ने व्यवस्था गरेको छ । यस दृष्टिले प्रदेशनम्बर दुईमा मैथिली सबैभन्दा बढी, त्यसपछि भोजपुरी आदि भाषाहरु छन् । यस हिसाबले मैथिली र भोजपुरी यस प्रदेशमा सरकारी कामकाजको भाषाको मान्यता अनिवार्यरुपले पाउने देखिन्छ । तरपनि प्रदेशसभामा सरकारपक्षीयहरुले हिन्दीको वकालत खुलेआम गरीरहेका छन् । एउटा भाषाको रुपमा हिन्दी होस वा नेपालीको विरोध र द्वेष उचित छैन । तर जब भाषाले राजनैतिक अधिकारको कुरा आउँछ, त्यतिबेला सचेत हुनुपर्ने आवश्यकता हुन्छ । माथी चर्चा गरिएका भाषाहरु राजकीय संरक्षणको अभावको कारण नै प्रतिस्पर्धामा पछि परेका हुन् भन्ने स्पष्ट छ । तर हिन्दी वा नेपालीको निम्ती यो स्थिति छैन । यस्तोमा मैथिली, भोजपुरी र अवधीमा भोट माग्ने नेताहरुले उनिहरुको पछिपरेको मातृभाषाहरुलाई सम्मान गर्नु र प्रोत्साहन गर्नुभनेको ती मातृभाषी जनताको सम्मान गर्नु हो ।

यस दृष्टिले प्रदेशनम्बर दुईमा सरकारको नेतृत्व गरीरहेको जनता समाजवादी दलका नेताहरुले हिन्दीलाई राजनीतिक लाईनको रुपमा प्रयोग गर्नु विडम्बनापूर्ण स्थिति हो । र जब नेपालमा हिन्दी बचाओ आन्दोलनको रुपमा बीसौँ शताब्दीको साठीको दशकदेखी नेपालको राजनीतिमा भारतीय शासकवर्गको कूटनैतिक सक्रियताको समीक्षा गरिन्छ, अनि स्थिति झन् भयावह हुनजान्छ । निश्चय नै हिन्दी बचाओ आन्दोलनमा सामिल अगुआहरु तराई मधेशको नाममा राजनीति गर्ने मध्येका अग्रिम र राजनैतिकरुपमा प्रतिष्ठित नामहरु हुन् । तर प्रश्न त उठ्छ — यी अगुआहरुले आफ्नो मातृभाषाको निम्ती किन संघर्ष गरेनन्, अन्य भाषाको निम्ती किन संघर्ष गरे ? विडम्बना मैथिलीलगायतका मातृभाषाहरुको सामू यो चुनौती अझै छ । निश्चय नै स्थानीयता र क्षेत्रीय भावनाको बलमा यी जसपाका नेताहरुले आफ्नो स्थिति मजबूत गर्दैगएका छन् । तर स्थानीय भाषाहरुको ठाउँमा अन्य भाषालाई प्रोत्साहित गरिरहँदा, जतिसुकै भ्रम सृजना गर्दापनि स्थिति यथावत् रह्न सक्दैन । शायद यही बोध हुनुपर्छ, यसपालीको विद्यापति स्मृतिमा महोत्तरीको बनौलीमा लक्ष्मीसागरको सौन्दर्यीकरणको नाममा प्रदेशका मूख्यमन्त्रीसहित जसपाका प्रमुख नेताहरु ‘ललका पाग’ पहिरेर मैथिली, मिथिला र विद्यापतिको गुणगानमा रत् देखिए ।

प्रदेशको राजनीतिमा अहिलेसम्म मिथिला र मैथिली नेका र कम्युनिस्टहरु र हिन्दी र मधेश जसपा अर्थात मधेशकेन्द्रित राजनीति गर्नेहरुको राजनीतिक लाइनको रुपमा देखिँदै आएको छ । तर बनौलीको कार्यक्रममा ‘ललका पाग’मा सजिएका जसपा नेताहरुको मुद्रा इमान्दार हो भने यसलाई मधेशकेन्द्रित राजनीतिक दलहरुको अडानमा अहम् मोड मान्नु पर्छ । यसपटक यस कार्यक्रमलाई जसपाले दिएको महत्व यसैबाट बुझिन्छ कि कार्यक्रममा पार्टी अध्यक्ष महन्थ ठाकुर आफू आउन नसकेपनि भिडियो कलिङ्गबाट नै सम्बोधन गरेका थिए । यस्ले मधेशकेन्द्रित दलको ट्याक्टिसमा सामान्य परिवर्तन आएको जस्तो अनुमान गर्नसकिन्छ । सम्भवतः यो प्रदेशमा मातृभाषी भावनाको बलियो स्थितिले नै हो । यद्यपि मैथिली महाकवि विद्यापतिको कार्यक्रममा जसपा नेताहरुले हिन्दीमा गरेका सम्बोधनहरुले उनको यो परिवर्तन उपरी मात्र हो कि भन्ने संकेतपनि झ्दिन्छ । यहाँ भोजपुरीभाषी मूख्यमन्त्री मोहम्मद लालबाबू राउतले हिन्दीमा गरेको भाषणपनि महत्वपूर्ण छ । हुन त उनि जुनसुकै भाषामा बोल्न सक्छन् । तर भोजपुरी भाषा मैथिलीभाषीहरुले बुझ्छन्, भन्ने उनलाईपनि पक्कै थाहा हुनुपर्छ ।

यस्तोमा उनले भोजपुरीमा बोलेको भए झन् राम्रो हुनेथियो । मैथिलीका आफ्नै चुनौतीहरुपनि छन् । यस्मा मैथिलीमा शुद्धताको नाममा संस्कृतनिष्ठताको कारण बहुसंख्यक श्रमजीवि जातिसमुदायले बोल्ने भाषिका उपेक्षित जस्तो देखिन्छ । मैथिलीमा जति अवसरहरु देखिएका छन्, प्रायः यिनै अभिजात्यवर्गीय समुदायले बोल्ने संस्कृतनिष्ठ मैथिली बोलीको बर्चस्व देखिन्छ । यसले मैथिली समाजमा एउटा विशिष्ठ प्रकारको अन्तरविरोध पनि देखिन्छ । यद्यपि विविध अन्तरसंघर्षको कारण मिथिलामा बस्ने सबै मैथिल र सबैले बोल्ने भाषा मैथिलीको चेतना र सद्आग्रह फैलिँदै छ । यसका सकारात्मक परिणामहरुपनि देखिएका छन् । तर मैथिली लगायतका मातृभाषाहरुको विकासको निम्ती राज्यले यिनीहरुलाई उचित सम्मान र प्रोत्साहित गर्नु आवश्यक छ । हुन त मैथिली लगायत प्रदेशहरुका मूख्य भाषाहरुलाई संघीय सरकारले सरकारी कामकाजको भाषाको मान्यता दिनु जनअधिकारमा सामेल छ । तर यसको पहिलो पाइला त प्रदेश नम्बर दुईमा मान्यता दिएर नै हुन्छ । विद्यापति स्मृतिपर्व वर्तमानमा महाकविको सम्मानभन्दापनि मैथिलीको आन्दोलनको रुपमा बढी देखिन थालेको छ ।

महाकविका सिर्जका वैचारिक प्रवृत्तिमा अनेक बहसहरु हुनसक्छन् । तर उनको स्मृति दिवस जसरी भाषिक चेतना र आन्दोलनको रुपमा स्थापित छ, त्यसलाई सबैले हृदयङ्गम गर्नु नै उचित हुनेछ ।

Comment


Related News

Latest News

Trending News