अपडेट 
२०७७ मंसिर २२, सोमबार ०७:४९

२ सय ५० बर्ष लामो राजतन्त्र फ्याँकिएको डेढ दशक पुगेको छ । यसबीचमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था बनिसकेको छ । पुरानो १४ अंचल खारेज गरी अहिले मुलुकमा सात वटा प्रदेश बनाइएको छ ।

र, सातै प्रदेशमा संघीयता कार्यान्वयनको क्रममा छ । तर, अहिले पुनः राजतन्त्र ल्याउने भन्दै आन्दोलन शुरु गरिएको छ । मुलुकको प्रमुख शहरका साथै संघीय राजधानी काठमाण्डुमा पनि राजालाई ल्याउनुपर्ने भन्दै प्रदर्शन गरिएको छ । यसले राजा पुनः आउन सक्ने चर्चा पनि शुरु भएको छ । पुनः राजालाई नै ल्याउनुपर्ने भनेर आन्दोलन किन गरिदैंछ त ? राजनीतिक विश्लेषक सुरेन्द्र लाभ भन्छन्, “यस्तो आन्दोलन भएपछि गणतन्त्रवादी नेताहरुमाथि प्रश्न चिन्ह लागेको छ ।” राजावादीको आन्दोलनले देशको गम्भीर मोडमा पु¥याउन लागिएको बताउँछन् उनी ।

जनता असन्तुष्ट छन्, त्यसलाई क्यास गर्ने प्रयास स्वरुप राजावादीहरु जुर्मुराएको उनको भनाई छ । आम जनता पनि धोकाधोकीमा राजावादीको आन्दोलनमा सहभागी हुने स्थिति बनिरहेको लाभको भनाई छ । ‘यसको अर्थ गणतन्त्रवादी नेताहरुमाथि प्रश्न चिन्ह छ’ नेताहरुले यस्तो परिस्थिति किन जन्माए, जो जनता त्यहाँ जान थालेका छन् ? शंकास्पद हेर्दैछु ।” लाभ राजावादीले थालेको आन्दोलन लामो समयसम्म नजाने बताउँदै केहि दिनमै शान्त हुने बताउँछन् । प्रदेशका मुख्यमन्त्री लालबाबु राउत राजालाई ल्याउनुपर्ने भन्दै भइरहेको आन्दोलनलाई धमिलो पानीमा माछा मार्ने कामको संज्ञा दिएका छन् । ‘धमिलो पानीमा माछा मार्ने काम मात्रै भइरहेको छ’ उनले भने, “यसले केहि हुनेबाला छैन् ।” मुख्यमन्त्री राउतले संघीय सरकारले नै यस्तो मौका दिएको बताए ।

संघीय सरकारले जनताप्रति उत्तरदायी हुन सकेन, जसका कारण यस्ता आन्दोलन हुने गरेको छ’ उनले भने, “सरकारले राम्रो काम गरेको भए, सुशासन दिन सकेको भए यस्तो स्थिति आउन सक्दैन्थ्यो ।” राजाको पक्षमा जतिसुकै आन्दोलन गर्दा समेत राजा आउन सक्ने अवस्था नभएको उनले बताए । हजारौं व्यक्तिले बलिदानी दिएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र कायमै रहने उनले विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News