अपडेट 
२०७७ मंसिर २५, बिहीबार ०८:०४

जनकपुरधाम । जनकपुरधाममा आफ्नै श्रीमतिको शरीरमा एसिड फ्याँकेर गम्भीर घाइते बनाउने व्यक्ति र उनलाई एसिड बेच्नेबिरुद्व मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकीलको कार्यालयले संजिब साह र उनलाई एसिड बेच्ने नागेन्द्र साहबिरुद्व तीन वटा शिर्षकमा मुद्दा दायर गरेको हो । उनीहरु बिरुद्व अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ वटा शिर्षकमा मुद्दा दायर गरिएको जिल्ला न्यायाधिबक्ता सीताराम अर्यालले जानकारी दिए । यो तीन वटै मुद्दामा दुबैलाई १५ बर्ष ६ महिनाको कैद माग गरिएको छ । अंगभंगमा ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको छ । श्रीमान्को प्रताड्ना सहन नसकी छुट्टै बस्दै आएको अवस्थामा पनि संजिबले श्रीमति आरती साहमाथि गत कात्तिक २ ९ गते दीपावलीकै दिन एसिड प्रहार गरेका थिए । संजिबसँग विवाह गरी जनकपुरधाम उप महानगरपालिका वडा नम्बर २० रुपैठामामा बस्दै आएकी आरतीलाई यातना दिन थालेपछि उनी जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ७ स्थित जानकी नगरस्थित माइती घर नजिकै कोठा लिएर बस्दै आएकी थिइन् ।

आरतीको ४ बर्षअघि संजिबसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो । आरतीले संजिबका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको प्रतिकृया दिएकी छन् । ‘छोरी एक बर्षको हुँदा नै ससूराले आफूमाथि गलत नजर लगाउन थालेको र पतिले कुटपिट गर्दै यातना दिन थालेपछि घर छाड्न बाध्य भएकी थिएँ’ उनले बताएकी थिइन् । प्रतिवादी संजिव साहले आरती साहलाई अंगभंग बनाई कुरुप पारेको र रिया साहलाई समेत कुरुप पारी एउटै वारदातमा एक भन्दा बढी कसूर गरेकोले मुलुकी अपराध संहिता, २०७४ को दफा १९२(१), (२)(क), दफा १९३(१) विपरीत र दफा ४३(१) बमोजिमको कसूर अपराधमा सोही संहिताको दफा १९२(४),(५) र दफा १९३(२) बमोजिम सजाय गरी दफा ४३( २) बमोजिम थप सजाय माग गरेको न्यायधिवक्ता अर्यालले बताए । अर्का प्रतिवादी नागेन्द्र साहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १९२(१), (२)(क) र दफा १९३(१) विपरीतको कसूरको दफा ३६(१) र (२) बमोजिम मतियारको कसूरमा सोही संहिताको दफा १९२(४),( ५) र १९३(२) बमोजिम हुने सजाय माग गरिएको अर्यालले बताए । अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) बमोजिम तोकिएको रकम प्रतिवादीबाट ऐनको दफा ४१(५) बमोजिम पीडित राहत कोषमा दाखिल गराउन अभियोगमा माग गरिएको छ ।

एसिडको बिक्री वितरणलाई व्यवस्थित गर्ने तथा आक्रमणका घटनालाई नियमन गर्ने अध्यादेश आएपछि धनुषामा पहिलो पटक श्रीमानले नै श्रीमती र छोरीमाथि एसीड आक्रमण गरेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News