अपडेट 
२०७७ मंसिर २९, सोमबार ०७:४९

नेपाल र भारत बीच चिसिएको सम्बन्धलाई सुधार्न दुवै पक्ष सकारात्मक हुनु राम्रो संकेत हो । परस्पर अन्तरनिर्भरता, विश्वास, सद्भाव र पारस्परिक लाभमा आधारित दुई पक्षिय सम्बन्ध नै दुवै देशको हितमा हुने यथार्थलाई हाम्रा शासकहरुले पनि राम्ररी नै बुझेका हुन् । भारतका परराष्ट्र मामिला सम्बन्धि सचिव हर्षवद्र्धन श्रृंगलाको हालै सम्पन्न नेपाल भ्रमणले यस सम्बन्धलाई थप न्यानोपन प्रदान गरेको छ ।

कुटनीतिक भ्रमणको आदान–प्रदानले नै दुई पक्षीय सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउने गर्दछ । नेपाल–भारत दुई पक्षीय सम्बन्ध सकारात्मक दिशामा अगाडी बढ्नु दुवै देशको हितमा नै हुनेछ । ८ महिना अघि लिम्पियाधुरा, लिपुलेक र कालापानीको क्षेत्रलाई समेटेर नेपालले नयाँ भौगोलिक नक्सा जारी गरेपछि नेपाल–भारत दुई पक्षीय सम्बन्धमा कटुता उत्पन्न भएको थियो । ५ महिनासम्म त नेपाल र भारतबीच कुटनीतिक स्तरमा सम्बन्ध कायम रहेपनि राजनीतिक स्तरमा अनुकुल थिएन् । नेपाल र भारत बीच राजनीतिक स्तरमा न्यानो सम्बन्ध नरहेपनि व्यापारीक कारोबार भन्ने कहिल्यै बन्द रहेन । खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ, तरकारी लगायत प्रायः सबैखाले आवश्यक सामग्रीको आयातमा समस्या भएन् ।

दक्षिणी छिमेकी राष्ट्र भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्ना भारतीय समकक्षी त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना तथा बधाई सन्देश दिएसँगै नेपाल र भारतबीच चिसिएको सम्बन्धमा न्यानोपन आउन थाल्यो र अब त यो सामान्य हुँदै पूर्ववर्त अवस्थामा समेत फर्किने थालेको छ । नेपाल र भारतका प्रधानमन्त्रीबीच दुई पक्षीय सम्बाद भए लगत्तै नेपाल–भारत संयुक्त निगरानी संयन्त्रको बैठक सम्पन्न हुनु, यस दिशामा अर्को सार्थक उपलब्धि रहयो । नेपालका परराष्ट्र मन्त्री र नेपालका लागि भारतीय राजदूतबीच भएको बैठकमा नेपालमा भारतीय सहयोगमा निर्माणाधिन परियोजनाहरुको अवस्थाका बारेमा पनि समिक्षा भइसकेको छ । कोभिड–१९ महामारीका कारण भर्चुअल माध्यमबाट यो बैठक भएको थियो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के.पी शर्मा ओलीसित अनौपचारिक सम्वाद गर्नुका साथै सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र सत्ताधारी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसित पनि विचार विमर्श गरी द्वीपक्षीय सम्बन्धलाई प्रगाढ बनाउने दिशामा सार्थक पहल गरे । सेप्टेम्बरमा “भारतीय विश्व सम्बन्ध परिषद” द्वारा आयोजित महामारी कालमा भारतीय कुटनीतिको वृहत आयाम विषयमा सम्बोधन गर्दै भारतका परराष्ट्र सचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल र भारत बीचको सम्बन्ध सामान्य अवस्थामा रहेको तथा हाम्रो घनिष्ठ एवं मित्रवत् सम्बन्धमा समस्या उत्पन्न नै हुन नसक्ने भन्दै कोरोनाको महामारीका बेला पनि भारत र नेपालको व्यापारीक कोरोबार पुर्ववर्त अवस्थामा संचालनमा रहेको तथा नेपाललाई भारतुले सक्दो सहयोग गरेको बताएका थिए । भारतीय परराष्ट्र सचिवको उपरोक्त भनाईले पनि हाम्रा सम्बन्ध पूर्ववत अवस्थामा फर्किन लागेको संकेतको रुपमा बुझ्न सकिन्छ । नेपालका राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिन नेपाल आएका भारतीय सेना प्रमुख एम. एम. नरवणेको सफल नेपाल भ्मणले पनि दुई पक्षीय सम्बन्धलाई सकारात्मक दिशा प्रदान गर्न तथा परस्पर विश्वास बढाउनमा सहयोगी सावित भएको छ ।

हालै भारतका परराष्ट्र सचिवको नेपाल भ्रमण सकिएको छ । उनको नेपाल भ्रमणले हाम्रा दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाएको छ । आफ्नो नेपाल भ्रमणका क्रममा उनले नेपाल र भारतको सम्बन्ध सभ्यता एवं संस्कृतिसित जोडिएकाले यो प्रतिकुल अवस्थामा पनि बिग्रिन नसक्ने टिप्पणी गरे । नेपाल र भारतको सम्बन्ध ऐतिहासिक एवं प्रगाढ रही आएको छ, तसर्थ दुई देश बीच देखिएका समस्याको पनि सहज नै समाधान हुने विश्वास उनले व्यक्त गरे । भारतीय परराष्ट्र सचिवको सफल नेपाल भ्रमणले सम्वादहीनताको अवस्थालाई अन्त्य गर्नुका साथै उच्च स्तरीय राजनीतिक भ्रमणको बाटो पनि खुल्ला गरेको छ । निकट भविष्यमै नेपाल–भारत संयुक्त आयोगको बैठक पनि भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ । आयोगको बैठकमा द्वीपक्षिय विकास, कनेक्टिभिटी, ऊर्जा, हवाई उड्डयन, जनस्तरीय सम्बन्ध लगायतका विकाससँगै इपिजी प्रतिवेदन र सिमानाका विषयले पनि स्थान पाउने सम्भावना रहेको छ । आयोगको बैठकमा आर्थिक साझेदारी व्यापार तथा पारवहन ऊर्जा तथा जलस्रोत, संस्कृति तथा शिक्षामा दुई देशीय सहकार्य बारे छलफल हुने गरेको छ ।

त्यसबाहेक अन्तर्राष्ट्रिय, क्षेत्रिय र उपक्षेत्रीय सहकार्य बारे पनि छलफल हुने गर्दछ । निकट भविष्यमै हुने हुने यस संयुक्त आयोगको बैठकका बेला नै नेपालका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र उनका भारतीय समकक्षी सुब्रमण्यम जयशंकर बीच भेटवार्ता पनि हुने भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र भारतका परराष्ट्रमन्त्री एस. जयशंकर बीच नयाँ दिल्लीमा हुने वार्ताले द्वीपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने छ । भारतमा कोरोना भ्याक्सिन उपलब्ध भए नेपाललाई पनि सहभागि गर्ने भन्दै भारतीय परराष्ट्र सचिवले नेपालको विकास निर्माणमा भारतले सक्दो सहयोग गर्न विश्वास पनि दिलाए । उनले नेपालका परराष्ट्रमन्त्रीलाई भारतको भ्रमणको निम्ति भारतीय परराष्ट्रमन्त्री एस. जटाशंकरले निमन्त्रणा पनि दिए । यसै साता नेपाल र भारतबीच ऊर्जा सचिव र सह–सचिव स्तरीय संयुक्त कार्यदलको बैठक पनि बस्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अनलाईनमार्फत हुन लागेको बैठटकमा पुरानै एजेण्डाले प्राथमिकता पाउने सम्भावना रहेको छ । खासगरीकन अन्तरदेशीय प्रसारण लाईन, इनर्जी एक्सचेन्ज लगायतका विषयमा बैठक केन्द्रित रहने सम्भावना रहेको छ ।

त्यसैगरी निकट भविष्यमै नेपाल–भारत बाउन्ड्री वर्किङ्ग गु्रपको बैठक पनि बस्ने सम्भावना रहेको छ । नेपाल र भारत बीचको करिब १८ सय किलोमिटर लामो सीमा मध्ये ९८% ठाउँमा वैज्ञानिक जी.पी.एस. प्रविधिमार्फत सीमामा पुराना तथा नयाँ स्तम्भ गाड्ने काम पनि भइसकेको छ । सीमानदीको बहाव तथा कटानका कारण केही ठाउँमा समस्या देखिएको छ । नयाँ नक्साका कारण उत्पन्न समस्याको समाधान ठुलो चुनौती सावित हुने छ, तर कुटनीतिक परिपक्वता, चातुर्य एवं कुशलताको प्रदर्शन हुनुपर्दछ । बढी उत्तेजित हुने र अनावश्यक रुपमा अपेक्षा बढाउने काम प्रत्युत्पादक सावित हुने गर्दछ । लोकप्रियतावाद र परराष्ट्र नीति अलग–अलग विषय हुन भन्ने कुरालाई सत्ताधारी दलका नेताहरुले बुझ्नु आवश्यक छ । नेपाल र भारत बीच अहिलेसम्म भएका सन्धिहरुलाई “असमान” र नेपालको हित विपरित बताउने नेपालका राजनीतिक र कथित विज्ञहरुले यथार्थवादी अन्तर्राष्ट्रिय राजनीतिक दृष्टिकोणबाट विश्लेषण गरी यसको विकल्प दिन सकिरहेका छैनन । आफ्नो आन्तरिक राजनीतिलाई तताउन कुनै विदेशी शक्ति देखाउने चलनले कुनै नेता तथा राजनीतिक दललाई त फाइदा दिलाउन सक्दछ तर यसबाट देश र जनतालाई लाभ हुन सक्दैन ।

नेपालमा भारत र अमेरिकालाई विदेशी शक्ति देखाउनेहरुले त्यसको समुचित विकल्प दिन सकेका छैनन् । तिनीहरुसित देशलाई आत्मनिर्भर बनाउने नीति, योजना र कार्यक्रम हुँदैन । बढी व्यवहारिक र कम भावनात्मक बनी यथार्थको धरातलमा टिकी परराष्ट्र सम्बन्धलाई अघि बढाउन सक्नु पर्दछ । केवल लोकप्रियतावादी बन्ने होडमा क्रान्तिकारी नारा दिनु पर्याप्त हुँदैन । नेपाल– भारत दुईपक्षीय सम्बन्ध चिसिएको अवस्थामा रहेका भएपनि जनस्तरको सम्बन्धमा कमी आएको देखिएन । प्रकृति प्रदत यस विशेष सम्बन्धको महत्व राजनीतिक तथा कुटनीतिको धागो भन्दा निकै बलियो रहेको छ । कुटनीतिक सम्बन्धको धागोलाई निरन्तरको सम्पर्क, सहकार्य, सम्वाद एवं सदभावबाट नै बलियो बनाउन सकिन्छ । व्यङ्ग, कटुतापूर्ण, आक्षेप, दोषारोपण तथा अनावश्यक टिका–टिप्पणीले यसलाई कमजोर नै बनाउने गर्दछ । सम्बन्ध बिगार्न सजिलो हुन्छ तर बनाउन भने निकै गाह«ो हुने गर्दछ । नेपाल र भारत बीचको सम्बन्ध सकारात्मक दिशामा अघि बढ्नु दुवै देशको हितमा हुनेछ ।

Comment


Related News

Latest News

Trending News