अपडेट 
२०७७ मंसिर २९, सोमबार ०७:५५

सर्लाहीसहित तराईका जिल्लाहरुमा मानव अधिकारको अवस्था कमजोर भएको मानवअधिकारकर्मीहरुले बताएका छन् ।

रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले मलंगवामा आयोजना गरेको “सर्लाहीमा मानवअधिकारको वर्तमान अवस्था“ सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । नेपालमा मानवअधिकार सम्बन्धि कानुनहरु निर्माण गरिएपनि कार्यान्वयन पक्ष फितलो हुँदा मानव अधिकारको अवस्था कमजोर भएको अधिकारकर्मीहरुको भनाई छ । कार्यक्रममा बोल्दै थर्ड एलायन्स सर्लाहीका अधिकृत मुकेश मिश्रले राज्यले मानवअधिकार हनन सम्बन्धि ऐन कानुनहरु बनाएको भएपनि त्यसको कायान्वयन पक्ष फितलो भएको गुनासो गरे । उनले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहँदा पनि जिल्लामा लैंगिक हिंसाका घटनाहरु बन्द नभएको बताए ।

लोकलाज र समाजिक दवाबका कारण गाउँघरमा घट्ने अधिकांश घटनाहरु बाहिर नआएको र केही घटनाहरु बाहिर आएपनि न्यायिक निकायहरुले वेवास्ता गरेको सहभागीहरु गुनासो गरेका छन् । विभिन्न औपचारिक कार्यक्रमहरुमा ठुला ठुला भाषणहरु गर्ने गरिएको भएपनि घरमा गएर गर्ने व्यवहारमा परिवर्तन आउन नसकेको उनीहरूले बताए । सर्लाहीमा ६ वर्षिया बालिकादेखी ६० वर्षिया वृद्धा माथि भएको बलात्कारको घटनालाई उदाहरणको रुपमा प्रस्तुत गर्दै स्थानीय तहमै दैनिक महिला हिंसाका घटनाहरु हुने गरेको र त्यस्ता घटनालाई लुकाउने अथवा आपसी साम्झदारीमा ढाकछोप गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधिको संलग्नतामा हुने गरेको मिश्रले बताए । सर्लाहीमा बालविवाहको समस्या सबैभन्दा बढी भएको बताउँदै बालविवाहले गर्दा घरेलु हिंसा लगायतका समस्याहरु आउने गरेको अधिकारकर्मी राजेश पासवानले बताए । त्यस्तो समस्या समाधानका लागि सबैले आआफ्नो ठाउँबाट अभियान संचालन गर्न उनले सुझाव दिएका छन् ।

जिल्लामा जातिय छुवाछुतका घटनाहरु धेरै हुने गरेको अर्का अधिकारकर्मी सुन्दरश्याम यादवले बताएका छन् । उनले कुनै पनि घटनाका पिडितहरुले न्यान पाउन मुस्किल पर्ने भन्दै त्यस तर्फ सजक हुन आग्रह गरेका छन् । उनले मुलुक सघिय संरचनामा गई बनेका स्थानीय तहहरुले मानव अधिकारका विषयमा चासो र चिन्ता राख्नु पर्ने बताए । मुलुकमा सबैखाले परिवर्तनहरु भइसक्दा समेत नागरिकहरुको सोचाईमा परिवर्तन आउन नसकेकाका कारण यस किसिमका घठनाहरु हुने गरेको अन्तरक्रियाका सहभागीहरुले बताए । जब सम्म नागरिकहरुको सोचाईमा परिवर्तन आउन सक्दैन तब सम्म मुलुक परिवर्तन हुन नसक्ने उनीहरूको भनाई थियो । रिपोर्टस क्लब नेपाल सर्लाही शाखाका सचिव राजिव साहको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्र सँग सम्बन्धित अधिकारकर्मी तथा संचारकर्मीहरुको सहभागी रहेको थियो । कार्यक्रम क्लबको मलंगवा स्थित आफ्नै साक्षात्कार कक्षमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News