२०७७ पुष ५, आईतवार १५:२५

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आगामी वैशाखमा दुई चरणमा निर्वाचन गर्ने गरि संघीय प्रतिनिधिसभा विघटन भएको हो । सरकारको सिफारिश राष्ट्रपति भण्डारीले अनुमोदन गरेसँगै प्रतिनिधिसभा विघटन भएको हो । वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन हुने गरि संसद विघटन सदर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्नु भएको थियो । प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा भने विघटन हुन नसक्ने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभा स्थायी सदन हो । यसका एक तिहाई सदस्य हरेक दुई वर्षमा फेरिन्छन् ।

२०७४ साल मंसीरमा तत्कालीन सरकारले २० अर्ब रुपैँया खर्च गरेर संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गरेको थियो । संसदको म्याद २०७९ मंसीरसम्म छ । यद्यपि संसदको म्याद दुई वर्ष अवधि बाँकी छँदै आगामी २०७८ वैशाख १७ र २७ मा गरी दुई चरणमा निर्वाचन गर्ने गरी प्रधानमन्त्री ओलीले गर्नुभएको सिफारिश राष्ट्रपतिबाट सदर भएको हो ।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्न उल्‍लेख गरेको धारा ७६ को उपधारा ७ मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्‍न हुने गरी निर्वाचनको मिति तोकिने उल्लेख छ ।

तर उक्त धारा यतिबेला विद्यमान भने छैन । धारा ७६ को उपधारा ७ अनुरुप यतिबेला विश्‍वासको मत प्राप्‍त गर्न सकेको अवस्था पनि छैन र प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्था पनि छैन ।

Comment


Related News