अपडेट 
२०७७ पुष ८, बुधबार ०७:३३

अहिले देशको राजनीतिक वातावरण अत्यन्त तातो भएको छ । हरेक पलको समाचारमा मानिसको ध्यान जान थालेको छ । देशको प्रमुख राजनीतिक दलको रुपमा पछिल्लो आम निर्वाचनबाट आएको नेकपाको आन्तरिक मामिलाको कारण देशको राजनैतिक अवस्था तात्न पुगेको घामझैँ छर्लंग छ । करिब दुई तिहाई बहुमतको सरकार बनाउन सफल नेकपा अन्ततः आन्तरिक कारणले नै विभाजित हुने अन्तिम अवस्थामा पुगेको छ । हुन त, यसभन्दा पहिले पनि पूर्ण बहुमतको गिरिजाको सरकार रहेको समयमा पनि नेपाली काँग्रेसको सरकार आन्तरिक कारणले नै विघटन भएको थियो र देश मध्यावधिमा गएको थियो ।

मध्यावधिबाट तत्कालीन एमालेले सबभन्दा ठूलो दलको हैसियतमा नौ महिने सरकार बनाउन सफल भएको थियो । नेपाली काँग्रेसको पूर्ण बहुमतको सरकार गिरेपछि देशमा एक किसिमको अस्थिरता सुरु भएको थियो र कतिपयले अहिले पनि नेकपाको पूर्ण बहुमतको सरकार भएको अवस्थामा आन्तरिक कारणले देशको राजनीति तातेको र हरेक पल देशको राजनीतिमा के होला भन्ने उत्सुकता सर्वसाधारणमा हुन गएको छ । कतिपय राजनीतिकर्मीले नै देश कतै अस्थिरतातर्फ जाने त होइन भन्ने आशंका पनि गर्न थालेका छन् । देश कुनै पनि किसिमको राजनैतिक अस्थिरतामा नजाओस् भन्ने आम नेपालीको चाहना रहेको छ । देशको हरेक नागरिकले देशमा राजनीतिक स्थिरता चाहेका छन्, देशमा राजनीतिक स्थिरता रहेमा विकास र निर्माणले गति लिने तथा सामाजिक वातावरण पनि शान्त रहने हुन्छ । देशको राजनैतिक अवस्थाको सोझो प्रभाव समाजमा पर्ने हुन्छ । उद्योगधन्दा, शिक्षा, व्यापार व्यवसाय आदि कुन क्षेत्र होला जसमा राजनीतिको प्रभाव पर्दैन ?

अहिले भर्खर कोरोना महामारीको करिब सात महिनाको दुष्प्रभावबाट देश गुज्रेको छ । सबै क्षेत्रमा प्रभाव परेको छ । अझ पनि कतिपय क्षेत्र पूर्ण रुपमा खुल्न सकेको छैन । पुरानो गतिमा देशको विभिन्न क्षेत्र आउन अझै पनि केही समय लाग्ने देखिन्छ । अझ कोरोनाको डरले पनि पूर्ण रुपमा छोडेको छैन । सयौँ जना हरेक दिन कोरोना संक्रमित थपिएका छन् भने केही मानिसले कोरोनाको कारण अझै पनि मृत्युवरण गरिरहेका छन् । देशमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको भए पनि कोरोनाको डर समाजमा अलिकति हटेको अनुभव हुँदा विश्वका कतिपय देशमा कोरोनाको कहर दोहो¥याएको अर्को यथार्थ रहेको छ । अमेरिका र युरोपका विभिन्न देशमा कोरोनाको पुनः प्रहार सुरु गरिरहेको छ । दोहोरिएको कोरानाको कहरले फेरि तहलका मच्चाउन थालेको छ । अहिले हामीकहाँ पनि जाडोको गति तीव्र भएको छ र कोरोनाको डर पुरै हटिइसकेको छैन । कोरोनाको डर अझै रहेको र राजनैतिक तातोपनले चर्चाको बजार निकै गरम भइसकेको वर्तमानमा समाजको हरेक क्षेत्रमा अब देशमा के होला भन्ने उत्सुकता देखिएको छ ।

सामान्य राजनीतिक अवस्था रहँदा सर्वसाधारण ग्रामीण नागरिकलाई राजनीतिको बारेमा कुनै चासो नै रहँदैन । कुनै खास मतलब नै हुँदैन । आफ्नो काम लिएर कुनै कार्यालयमा जाँदा कार्यालयको कर्मचारीले गर्ने व्यवहारको कारण एकैचोटि सरकारलाई दोष दिने वा प्रशंसा गर्ने हुन्छन् वा कुनै कार्यालयमा जाँदा आफूले चिनेको कुनै नेता तथा सामाजिक कार्यकर्तालाई लिएर जाने गरेको देखिन्छ । यसले गर्दा काम छिटो भइहाल्छ वा काम गर्ने मानिसप्रतिको धारणा बनाउन वा सरकारको गाली तथा प्रशंसा गर्न सजिलो भइहाल्छ । हैन भने सर्वसाधारणले अन्य कुनै राजनैतिक समाचारमा खासै चासो लिएको पाइन्न । र, राजनैतिक स्थिरताको समयमा बुद्धिजीवीहरुको बहसको केन्द्र पनि विकास निर्माण नै हुने गरेको छ भन्ने कुरो गत दुई साढे दुई वर्षको अवधिले देखाएको छ । सामान्यतया विकासको समयमा कुन विकास भयो, कुन भएन, किन भएन, किन हुनु पथ्र्यो, कहाँ के आवश्यक छ, किन अन्यत्र विकास गयो, कुन ठाउँमा अनावश्यक खर्च भएको छ, कहाँ बढी बजेट गयो, कहाँ र कुन संरचनामा धेरै भ्रष्टाचार भएको छ भन्ने जस्ता पक्ष र प्रश्नहरुमा बुद्धिजीवी वा समाज अल्झेको देखिन्छ ।

मुख्यतया विकासकै बहसको समय गत दुई साढे दुई वर्षको समय थियो भन्ने कुरो अहिले देशको राजनीतिमा आएको नयाँ परिवर्तनले ल्याएको बहसले साबित गरिदिएको छ । अहिले राजनैतिक वातावरण तातेपछि सबै क्षेत्रमा एकै किसिमको राजनैतिक बहस हुन थालेको छ । नहोओस् पनि किन ? देशको सम्पूर्ण मिडिया तथा सामाजिक सञ्जालले एकै किसिमको राजनैतिक कुरो जो गरिरहेका छन् । कुनै पनि मिडियाको प्रमुख खबर यही हुने गरेको छ । यही राजनैतिक खबर सुनेर वा पढेर वा हेरेर आफ्नो तत्कालको धारणा बनाइहाल्ने र यसपछि फेरि के हुन्छ वा कुन मिडियाले के भनेको छ भनेर तुरुन्त अर्को हेर्ने चलन ह्वात्तै बढेको छ । कुन दलका कुन नेताले के बोले ? भन्ने कुराले पनि चासो पाउने वा चर्चा पाउन थालेको अवस्था छ । कुन अवस्थामा कहाँ के बोले र अहिले फेरि कतै फरक विचार पो आयो कि भन्ने भावको पनि अध्ययन आम नागरिकले गर्न थालेका छन् । अझ सामाजिक सञ्जाल त एक किसिमको प्रतिक्रिया पोख्ने साधन वा माध्यम नै बनेको छ ।

अहिले देशको कुनै ठूला नेता वा कुनै विशिष्ट विश्लेषकको कुनै भनाइ सार्वजनिक हुनासाथ सेयर गरिहाल्ने र त्यसमा आफ्नो विचार वा टिप्पणी प्रस्तुत गरिहाल्ने प्रवृत्ति विकास भएको छ । अहिलेको तातो राजनैतिक वातावरणमा झन् समर्थन र विरोधमा र साथै इतिहास तथा वर्तमानको आधारमा टिप्पणी भइरहेका छन् । हुन त कतिपय टिप्पणी असान्दर्भिक र असभ्य पनि लाग्दछन् तर कतिपय टिप्पणील सत्यपनालाई अंगीकार गरेको पनि देखिन्छ । सामाजिक सञ्जालमा ट्वीटरप्रति अझै पनि धेरैको आकर्षण वा पहुँच देखिएको छैन भने फेसबुक निकै सशक्त माध्यम बनिसकेको छ । अहिले पछिल्ला केही दिनदेखि फेसबुकमा बढी मात्रामा आइरहेका पोस्ट तथा टिप्पणीहरुमा समसामयिक राजनैतिक गन्ध बढी रहेको देखिन्छ । सरकारको कदम ठीक र सरकारको कदम बेठीकमै बढी केन्द्रित छन् पोस्ट तथा प्रतिक्रियाहरु । अझ कहाँ कदमको पक्षमा र कहाँ कदमको विपक्षमा जुलुस निक्ले भन्ने पनि पोस्ट हुन थालेका छन् । अब त चुनावको चर्चा पनि समाजमा र सामाजिक सञ्जालमा हुन थालेको छ ।

आगामी चुनावबाट को प्रधानमन्त्री बन्ला ? कुन दल सबैभन्दा ठूलो पार्टी बन्ला ? कतै संयुक्त सरकारको पो बन्ने हो कि ? आदि अनुमान, प्रश्न र चासोहरु अभिव्यक्त भइरहेका छन् । सामाजिक सञ्जाल अहिले समाजको खुल्ला समाज बन्न पुगेको छ जहाँ समाजको आवाजको प्रतिबिम्ब देख्न सकिन्छ र देख्न सकिएको छ । अहिले समाजको करिब सबै वर्गको ध्यान देशको राजनीतितर्फ तानिएको छ । आफ्नो कर्म गर्दै समाजले मुख्य गरी राजनैतिक गफमा अलिक बढी ध्यान दिन थालेको छ । यो चासोको तरंगले समाजमा कुराकानी वा जमघटको एउटा चासोपूर्ण विषय थपेको छ र मानिसलाई गफगाफमा रमाउने वातावरण बनाइदिएको छ । संसंद विघटनको सिफारिश भएदेखि कुराकानीको मुख्य विषय नै राजनैतिक भइदिएको छ । र, अहिलेको राजनैतिक चासो हरेक घन्टामा केही नयाँ लिएर आउने तथा त्यसपछि के हुने भन्ने पनि चासो थप्ने किसिमको हुनाले आगामी केही महिनासम्म समाजमा यही राजनैतिक विषयवस्तुले कुराकानीको सन्दर्भमा प्रधानता पाइरहने निश्चित छ ।

देशको राजनैतिक परिस्थितिमा जस्तोसुकै मोड आए पनि अबको केही महिना सर्वसाधारणको चासोको विषय भने रहिरहने देखिन्छ । नेपालको इतिहासमा अहिलेको समय राजनीतिको क्षेत्रमा धेरैको लागि स्मरणीय रहने कुरामा पनि दुई मत छैन । यस कारणले पनि समाजको चासोको विषय अहिलेको राजनीति बनेको छ । सम्पूर्ण देशका चासो लिने नागरिकको मुख्य चासोको विषय नै यही बन्न पुगेको छ र यसले एक किसिमको सामाजिक तरंग ल्याएको अवस्था भने अवश्य हो ।

Comment


Related News

Latest News

Trending News