अपडेट 
२०७७ पुष १४, मंगलवार ०८:१७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड—नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर शक्ति प्रदर्शन गर्दैछ ।

पुष ९ गते सम्पन्न केन्द्रीय कमिटीको निर्णयअनुसार आज देशका सबै जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्धमा बिरोध प्रदर्शन हुने सो पक्षका प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । देशका सबै जिल्लामा विरोधसभा हुने भए पनि काठमाडौं उपत्यकाको सभालाई बृहत र सभ्य बनाउन सम्पूर्ण विशेष तयारी गरिएको श्रष्ठले बताएका छन् । आमसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन गर्नेछन् । सभामा ५० हजारभन्दा बढी मानिस उतार्ने तयारी भएको पनि प्रवक्ता श्रेष्ठ जनाएका छन्।

सभामा उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेता–कार्यकता सहभागी हुने उनको दाबी बताइएको छ । काठमाडौंको टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट निस्किने जुलूस मध्यान्ह १२ बजे भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुनेछ । विभिन्न स्थानबाट निकालिने जुलूसको नेतृत्व स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले गर्ने बताइएको छ ।

सो समूहको पुष ९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । बैठकले पौष १० गते बिहान साढे नौ बजे सबै केन्द्रीय सदस्य, सासंदहरू लगायतका नेताहरुको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने, सोही दिन दिउँसो २ बजे अध्यक्षद्वयको तर्फबाट पत्रकार सम्मेलन गर्ने, पुष ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने र एक हप्ताभित्र प्रदेश समितिको बैठक सम्पन्न गर्ने निर्णय गरेको थियो ।

यस्तै पुष १२ गते ७७ जिल्लाहरूमा बैठक सञ्चालन गर्ने तथा जिल्ला स्तरिय कार्यकर्ता भेला सम्पन्न गरी संघर्षका कार्यक्रम अघि बढाउने सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने, पुष २० गतेभित्र नगरपालिका र गाउँपालिका स्तरमा बैठक, भेला गर्ने र पुष २५ गतेभित्र सबै वडाहरूमा बैठक आयोजना गर्ने निर्णय भएको थियो ।

Comment


Related News

Latest News

Trending News